बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट

ब्याट्सम्यानहरू निरीह बनेपछि भारतको आसामसँग हार्‍यो कोशी प्रदेश

बुधबार, १७ वैशाख २०८२, १५ : १३
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा भारतको आसाम क्रिकेट क्लब विजयी भएको छ । मनमोहन स्मृति प्रतियोगिताको यो तेस्रो संस्करण हो । 

बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न समूह ’बी’ अन्तर्गतको खेलमा भारतको आसामले कोशी प्रदेशलाई ९७ रनले हराएको हो । समूह ‘बी’ अन्तर्गत खेलिएको यो दोस्रो खेल हो । 

मंगलबार खेलिएको समूह ‘बी’ को पहिलो खेलमा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई ३७ रनले हराएको थियो । बुधबारको खेलमा आसामलाई पराजित गरेको भए कोशी प्रदेश फाइनलमा प्रवेश गर्ने थियो । तर, आसामले कोशी प्रदेशलाई हराएपछि अब बिहीबार आसाम र नेपाल पुलिस क्लबबिच हुने खेलले मात्र फाइनल पुग्ने टोलीको टुङ्गो लगाउने छ । 

समूह ’ए’ को विजेताका रूपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब भने यसअघि नै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ । बुधबारको खेलमा आफ्ना ब्याट्सम्यानहरू चल्न नसकेपछि कोशी प्रदेशले हार भोग्नु परेको हो । 

पहिले ब्याटिङ गरेको आसामको टोलीले ४७।३ ओभरमा अलआउट हुनुअघि दुई सय नौ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने ३७।२ ओभरमै अलआउट हुनुअघि एक सय १२ रनमात्र बनाउन सक्यो ।

आसामको टोलीका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । कप्तान गोकुल शर्माले ७८ रन बनाए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ९९ बलको सामना गरी दुई छक्का र सात वटा चौका हिर्काए ।

चौथो नम्बरका ब्याट्सम्यान अरुण सोनारले पनि ५१ रनको योगदान गरे । उनले ७६ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान राज विश्वाले पनि टोलीको खातामा २४ रन थपेका थिए । 

कोशी प्रदेशका बलर प्रेम कामत एक्लैले चार विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै केवल १७ रन खर्चिएका थिए । विपिन कुमार महतो र भुपाल लुइँटेलले पनि दुई–दुई विकेट हात पारे । फिर्दोष अन्सारी र प्रकाश कार्कीले पनि एक–एक विकेट कुम्ल्याए ।

जवाफी ब्याटिङ गरेको कोशी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर चिराग साहले ११ रन बनाए । ऐस भट्टराईले १५ रन जोडे । विपिन कुमार महतोले पनि १५ रन बनाए । कोशी प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

कोशी प्रदेशले अतिरिक्त रूपमा २९ रन पायो । कोशी प्रदेशका कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा यो बढी रन हो । आसामको टोलीका बलर तपन कुमार शर्मा र गोकुल शर्माले तीन–तीन विकेट लिए । राज विश्वाले पनि दुई विकेट हात पारे ।

प्रतियोगितामा ६ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् । 

विजेता टोलीले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीलाई दुई लाख रुपैयाँ प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रत्येक खेलको प्लेयर अफ दि म्याचले चार हजार रुपैयाँ पाउनेछ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप