वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो

पोखरा । वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका पहिलो भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा भएका कामको मूल्याङ्कन गरेर वित्तीय जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदन कास्की जिल्ला समन्वय समितिले सार्वजनिक गरेको छ ।
रूपाले कूल सय अङ्क भारमा ६८ प्रतिशत पाएको हो । अन्नपूर्ण गाउँपालिकाले ६६.५ प्रतिशत, मादी गाउँपालिकाले ६१.५ प्रतिशत, पोखरा महानगर पालिकाले ४७.५ र माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत प्राप्त गरेका जिसस प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
उनले कास्कीका पालिकाहरूको वित्तीय सुशासनको अवस्था अझै अपेक्षाकृत सुधार हुन नसकेको बताए । जुन हिसाबले सुधार हुनुपर्थ्यो, त्यो देखिएन,उनले भने, उत्कृष्ट अङ्क हाम्रा पालिकाले ल्याउन सकेनन् । तथापि आगामी दिनमा सुधार हुने विश्वास छ ।
४० प्रतिशतभन्दा तल उच्च जोखिम, ४० प्रतिशतदेखि ८० प्रतिशतसम्म मध्यम जोखिम र ८० भन्दा माथि अङ्क प्राप्त गर्ने पालिका न्यून जोखिममा रहने कार्यविधिमा उल्लेख छ ।
आफ्ना काममा व्यापक सुधार गर्न उनले पालिकालाई आग्रह गरेका छन् ।