समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

दाङ । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष छन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् ।
उनले भनिन्,“नौ कट्ठा जमिन भाडामा ल्याएर आलु र प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर खेती गरेका छौँ, कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।” सोही कार्यालयले २० जनालाइ रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उनले बताइन् ।
“समूहमा आबद्ध भएपछि सरकारी कार्यालयमा के के कार्यक्रम आउछन्, त्यसका बारेमा जानकारी हुने गरेको छ”, उनले भने । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग गरेको उनले बताइन् ।
जनचेतना महिला कृषक समूहका अध्यक्ष देउकुमारी चौधरीले वित्तिय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउन जानेको बताउनुभयो । उहाँले भनिन्,“सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।”
घोराही–१२ का नन्दा योगीले मौरीपालन तालिम लिएर मौरी पाल्न सुरु गरेकी छन् । मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियोे ।
मौरीपालन तालिमपछि व्यावसायिक रुपमा पालन सुरु गरेको उहाँले बताउनुभयो । अहिले उहाँसँग १० घार मौरी छन् ।
उनका अनुसार करिब ८६ किलो मह उत्पादन भएको र सबै बिक्री भएको थियोे । रु ५०० देखि रु ६०० प्रतिकिलोमा बिक्री गरेको उनले बताइन् ।
गाईवस्तु पालेकोभन्दा सजिलो हुने भएर यो काम राम्रो लागेको उनँले बताइन् । उनका अनुसार तालिमपछि क्षमता विकास र वित्तीय साक्षरता पनि भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी उर्मिला चौधरी पूर्वकमलरी हुनुहुन्छ । उहाँ प्रगति पशुपालन महिला समूहको अध्यक्ष बनेकी छन् ।
समूहमा आबद्ध भएपछि उनले च्याउखेतीको तालिम लिइन् । उनले समूहमा आबद्ध भएपछि रु ३० हजार घुम्ती कोषबाट पैसा लिएर च्याउखेती गरिन् ।
चार सय लोकल कुखुरा र दुई हजार ५०० गिरीराज कुखुरापालन गरेर प्रशस्त आम्दानी गरेको उनले बताइन् ।
समूहले आम्मनिर्भर बनाएकाले यसैलाई निरन्तरता दिने उनले बताइन् । उनीहरुको ३० जनाको समूह छ । उहाँका अनुसार घुम्ती कोषको पैसा एक वर्षमा साँवामात्रै फिर्ता गर्नुपर्छ ब्याज लाग्दैन ।
घोराहीका उपप्रमुख हुमा डिसीले मुक्तकमलरीसँग सहकार्य गरेर काम गरेको बताइन् । “विभिन्न तालिम दिएर काम गरेका छौँ”, उनले भनिन् ।
पालिकाभित्र रहेका छाना नभएकालाई मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाहरुले पालिकामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो । सीप सिकेकालाई स्वरोजगार बन्न पनि उनले आग्रह गरिन् ।
मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत प्रत्यक्ष ४६५ जनालाई सहयोग गरेको बताए ।
उनका अनुसार दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ ।
लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत तथा असहाय रहेको उनले बताए । महिलाहरुले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य
-
आरआर क्याम्पसमा सहमतिमा स्ववियु गठन