बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२

दीपेन्द्र ऐरी नेतृत्वको नेपाल पहेँलोले आसिफ शेख नेतृत्वको नेपाल हरियोलाई हरायो

बुधबार, १७ वैशाख २०८२, १३ : ४०
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट संघ (क्यान)  ले आयोजना गरेको आन्तरिक प्रतियोगितामा बुधबार खेलिएको खेलमा नेपाल पहेँलोले नेपाल हरियो टोलीलाई पाँच विकेटले हराएको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल हरियोले निर्धारित ५० मध्ये २७.२ ओभरमै अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाल पहेँलोले १७.५ ओभरमै पाँच विकेट गुमाएर ९८ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।

नेपाल पहेँलोको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रनको योगदान गरे । उनले ३६ बलमा आठ चौका पनि प्रहार गरे । किरण ठगुन्नाले पनि टोलीका लागि २९ रनको योगदान गरे । उनले २८ बलमा एक छक्का र तीन चौका पनि हिर्काए । नेपाल हरियोका बलर सोमपाल कामीले तीन र रिजन ढकालले दुई विकेट लिए ।

त्यसअघि नेपाल हरियोका लागि ओपनर अर्जुन कुमालले ३० रन बनाएका थिए । उनले ३८ बलमा पाँच चौका पनि प्रहार गरे । अर्का ओपनर आसिफ शेखले २० रन बटुले । कप्तानसमेत रहेका आसिफ शेखले २० बलमा चार चौका पनि प्रहार गरे । पवन सर्राफले पनि १४ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल पहेँलोका बलर विशाल पटेल र अविनाष बोहराले तीन–तीन विकेट लिए । कमलसिंह ऐरी र रुपेश कुमार सिंहले पनि दुई–दुई विकेट हात पारे । 

क्यानले लिग–२ प्रतियोगिताका प्रशिक्षणमा रहेका खेलाडीहरुलाईसहभागी गराएर आन्तरिक प्रतियोगिता आयोजना गरेको हो । आन्तरिक प्रतियोगिताका लागि खेलाडीहरुलाई चारवटा टोलीमा विभाजन गरिएको छ । टोलीको नाम नेपाल ब्लू (निलो), नेपाल ग्रिन (हरियो, नेपाल रेड (रातो) र नेपाल यलो (पहेँलो) राखिएको छ । चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । नेपाल निलो टोलीको कप्तान रोहित कुमार पौडेल, नेपाल हरियो टोलीको कप्तान आसिफ शेख, नेपाल रातो टोलीको कप्तान सन्दीप लामिछाने र नेपाल पहेँलो टोलीको कप्तान दीपेन्द्रसिंह ऐरी हुन् ।

प्रतियोगिताका खेलहरु काठमाडौँको तल्लो र माथिल्लो मुलपानी क्रिकेट रंगशालामा खेलिँदैछ । मे २ तारिखमा नेपाल हरियो र नेपाल रातो तथा नेपाल पहेँलो र नेपाल निलोबिच खेल हुनेछ । अन्तिम दिन मे ३ तारिखमा नेपाल हरियो र नेपाल निलो तथा नेपाल पहेँलो र नेपाल रातोबिच खेल हुनेछ ।

आईसीसी क्रिकेट वर्ल्र्ड कप लिग–२ प्रतियोगिताको आगामी खेलहरु नेपालका लागि निकै महत्वपूर्ण छ । अबको हारले नेपाली टोली अप्ठ्यारोमा पर्न सक्छ । आठ राष्ट्र सम्मिलित लिग–२ प्रतियोगितामा हालसम्म १२ खेल खेलेको नेपाल ६ अंकसहित तालिकाको सातौँ स्थानमा छ । 

नेपालले हालसम्म खेलिएको १२ मध्ये केवल दुई खेलमा जित र आठ खेलमा हारको नतिजा निकालेको छ । नेपालको दुई खेल भने अनिर्णित रुपमा सकिएको छ । त्यसैले पनि बाँकी खेलहरुमा नेपाली टोली जित्नै पर्ने दबाबमा रहने छ ।  लिग–२ प्रतियोगिताको समाप्तिपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले सिधै सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकपका लागि हुने छनोट प्रतियोगितामा स्थान बनाउने छन् । 

बाँकी टोलीले पनि विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउन प्ले–अफ खेल्नु पर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप