बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

आजपाले बुझायो लोकसेवा आयोगमा ज्ञापनपत्र

बुधबार, १७ वैशाख २०८२, १३ : १०
बुधबार, १७ वैशाख २०८२

काठमाडौं । आम जनता पार्टी (आजपा) ले श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाउन माग गर्दै लोकसेवा आयोगमा ज्ञापनपत्र बुझाएको छ । आयोगमा ज्ञापनपत्र बुझाउदै आजपाले आफूहरुको माग सम्बोधनमा कुनै पनि किन्तु परन्तुको आडमा नजर अन्दाज गर्ने दुस्प्रयास भएमा कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु लिएर सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । 

काठमाडौँको कमलपोखरीस्थित लोक सेवा आयोगको कार्यालयमा पुगेर आजपाका नेताहरुले आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै यथाशिघ्र श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाउन माग गरेका छन् । 

आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले आयोगका प्रमुख रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको माग यथाशीघ्र पुरा नगए कडा सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । आजपाको ज्ञापनपत्र बुझ्दै आयोग आयोगका अध्यक्ष रेग्मीले भने–  ‘यो हाम्रो क्षेत्राअधिकारीभित्र पर्दैन । सरकारले कर्मचारी मागेअनुसार हामीले विज्ञापन खुलाउने हो । तर तपाईहरुको माग जायज छ, यसका लागि म पहल गर्छु ।’

लोकसेवा आयोगले गरिब, निमुखालाई सरकारी स्थायी जागिरबाट बञ्चित गर्न नमिल्ने आजपा नेतृ रञ्जु साहले बताइन् ।  ‘लोकसेवा आयोगले १२ कक्षा भन्दा माथिको मात्र बिज्ञापन गर्छ । यो गरिबसंग सरासर विभेद हो । सरकारी जागिरमा गरिबलाई निषेध गर्नु उचित होइन् । गरिबबाट काम गराउने तर स्थायी नगर्नु न्यायोचित होइन्,’आजपा नेतृ साहले भनिन् । 

सरकारी अस्थायी करार तथा ज्यालादारी संघर्ष समितिका अध्यक्ष श्याम सापकोटाले आजपाको पहलकदमी सराहनीय भएको बताए । ‘आजपाको यो कार्य हामी सबैका लागि राम्रो पहलकदमी हो । यसमा समर्थनसहित धन्यवाद छ ।’ 

‘विगत लामो समयदेखि सवारी चालक, कार्यालय सहयोगी, सुरक्षागार्ड (पाले), मालि, मेस्तर, हुलाकी, हलकारा, सरसफाई कर्मचारी (स्वीपर) जस्ता श्रेणीविहिन तल्लो तहमा काम गरिरहेका कर्मचारीहरुलाई स्थायी नगरिदा उहाँहरुको ग्रेड (तह) बृद्धि तथा सेवानिवृत÷पेन्सनको सुविधा वा लाभबाट बञ्चित भई दासत्वको जीवन बाच्न बाध्य हुनुपरेको छ,’ आजपाले आयोगलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्ति नहुँदा जागिर सुरक्षाको अभावले गर्दा मनोवैज्ञानिक तनावमा बृद्धि भई भविष्य नै अन्योल र जीवनयापन कष्टकर एवं दुर्दशापूर्ण बन्ने गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । 

लामो समयसम्म श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्तिका लागि विज्ञापन नखोलिँदा आम श्रमजीवि जनता विभिन्न शोषण एवं विभेदको शिकार बन्नु परेको आजपाले जनाएको छ ।  ‘यस्ता कर्मचारीहरुले हाकीम तथा नेताको अनुचित चाकडी गर्नुपर्ने, निर्दिष्ट जिम्मेवारीका आलावा पनि थप अतिरिक्त सेवा गर्नुपर्ने, कथित आउटसोर्सिङको नाममा श्रम र पारिश्रमिक दुवैमा व्यापक शोषण हुने, निगाहको भरमा नातागोता, आसेपासे र असक्षम व्यक्तिहरुले अवसर पाईराख्दा ईमन्दार र सक्षम व्यक्तिहरु अवसरबाट बञ्चित हुनुपर्ने अवहेलना, अपमान सहित विभिन्न किसिमको (शारिरीक, मानसिक, आर्थिक आदी) शोषण एवं विभेदको शिकार हुनुपर्ने जस्ता नारकीय समस्याहरुको सामना गर्नुपर्ने परिस्थिति खडा भएको छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।  

नेपाल सरकारकै सेवामा कार्यरत कर्मचारीहरु बीच नै अमानविय एवं आपतीजनक विभेद गर्नु गहिरो चिन्ता एवं खेदको विषय भएको आजपाले जनाएको छ । आजपाले श्रेणीविहिन तल्लो तहमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्ने, नयाँ भर्ना भएका हकमा आन्तरिक प्रतिस्पर्धाद्धारा स्थायी गर्नुपर्ने र लामो समयदेखी पारदर्शी, स्वतन्त्र एवं निष्पक्ष नियुक्ति प्रक्रियाबाट बञ्चित आम नेपालीको हकमा यथाशिघ्र आवश्यक तयारी पुरा गरी स्थायी पदपूर्तीका लागि नयाँ विज्ञापन खुलाउन माग गरेको हो । 

‘हाम्रो न्यायोचित मागहरुलाई कुनै पनि किन्तु परन्तुको आडमा नजर अन्दाज गर्ने दुस्प्रयास भएमा हामी कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने र यसबाट सृजित हुने सम्पूर्ण क्षति एवं परिस्थितिको सम्पूर्ण जिम्मेवारी यस आयोग र नेपाल सरकारकै हुने विषय अग्रिमरुपमा अवगत समेत गराउँन चाहन्छौँ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

देशमा प्रजातन्त्र स्थापनासँगै गठित लोक सेवा आयोगले निजामती लगायतका विभिन्न सरकारी सेवाहरुमा स्थायी पदपूर्तिका लागि क्रियाशिल रहँदै आएको छ । तर पछिल्ला केही दशक यता आएर श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपूर्तीका लागि कुनै पनि विज्ञापन नखुलाएको तथा लामो समयदेखी कार्यरत कर्मचारीहरुको भविष्यप्रति कुनै चासो एवं पहलकदमी नलिएकोमा आजपाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

लोक सेवा आयोगमा ज्ञापन बुझाउदै आजपाले त्यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सिंहदरबारलाई समेत बुझाएको प्रवक्ता साहले जनाएका छन् । 

श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्तिका लागि आयोगले विज्ञापन नखुलाउँदा ति कर्मचारीले आफ्नो दुखेसो पोख्दै आएका छन् । यस बारेमा आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसददेखी सडकसम्म आवाज उठाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप