बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

असल र सफल मानिस बन्ने ९ सूत्र

बुधबार, १७ वैशाख २०८२, १२ : ५२
बुधबार, १७ वैशाख २०८२

मानिस प्रकृतिको एउटा अमूल्य सिर्जना हो । अपवादबाहेक सबै मानवमा असल गुण, ज्ञान आर्जन गर्न सक्ने क्षमता, स्वस्थ तन र मन, विवेक, कर्म गर्न सक्ने ऊर्जा, बौद्धिक वा शारीरिक श्रम गरेर सम्पत्ति आर्जन गर्न सक्ने क्षमता हुन्छन् । 

जब बालबालिकाहरू परिवार, समाज र स्कुलमा हुर्कन थाल्छन्; सामाजिकीकरण हुँदै जान्छन् तब त्यहाँ के गर्ने के नगर्ने, को ठुलो को सानो, को शक्तिशाली को कमजोर, को गरिब को धनी आदि सिक्न थाल्छन् ।

संस्कार, संस्कृति, नैतिकता, अनुशासन, मर्यादा, माया, ममता, क्रोध, लोभ, मोह, अहंकार, सामाजिक भेदभाव आदि सिक्दै जान्छन् । यो प्रक्रिया बालबालिकादेखि वयस्कसम्म चलिरहन्छ । जीवनको अन्तिम घडीसम्म सिक्ने र सिकाउने प्रक्रिया निरन्तर घटित भइरहन्छ । बालबालिकाका लागि आमा सबभन्दा पहिलो गुरु हुन् भने परिवार पहिलो पाठशाला हो । 

जीवनमा आइलाग्ने वा महसुस गर्ने दुःख, सुख र आनन्द कतिपय आफ्नै मनका उपज हुन् । मित्र र शत्रु भन्ने पनि अस्थायी मात्र हुन् । कुनै एउटा व्यक्ति अर्को मानिसका लागि सधैँ मित्रु र सधैँ शत्रु हुँदैनन् । समय, स्थान र परिस्थिति अनुसार मानवीय सम्बन्ध बदलिरहन्छ । आफ्नो जीवन उज्ज्वल बनाउने कार्यभार आफ्नै हो । आफ्नो मालिक आफैँ हो । अरुले त सल्लाह मात्र दिने हुन्, गर्ने आफैँले हो । अरुको भर पर्ने र लहलहैमा चल्ने व्यक्तिको जीवन कहिल्यै सफल र असल भएको देखिएको छैन । 
आफूलाई असल र सफल मानिस बनाउन निम्नलिखित उपाय अपनाउन सकिन्छ —

मानिसको बोली र बन्दुकको गोली एकचोटि खुस्केपछि फर्कंदैनन् । त्यसैले असल मानिस बन्न बोल्नुअघि यसको कस्तो असर पर्छ भनी सोचेर मात्र कुरा गर्नुपर्छ । समाजमा जो मानिस धेरै बोल्छन्, उनीहरूको मूल्य कम हुन्छ ।
  • १) कम बोल्ने 

मानिसको बोली र बन्दुकको गोली एकचोटि खुस्केपछि फर्कंदैनन् । त्यसैले असल मानिस बन्न बोल्नुअघि यसको कस्तो असर पर्छ भनी सोचेर मात्र कुरा गर्नुपर्छ । समाजमा जो मानिस धेरै बोल्छन्, उनीहरूको मूल्य कम हुन्छ । कम बोल्ने व्यक्ति नै समाजमा असल तथा सफल हुन्छन् । किनभने कम बोल्दा गल्ती पनि थोरै हुने सम्भावना हुन्छ । मानिसमा अर्थराजनीतिक आलोचनात्मक चेतको साथै सकारात्मक कार्यमा निरन्तर जुट्नुपर्छ । 

  • २) नबुझी नबोल्ने

नजाँची, नबुझी र प्रमाणित नभएको अरुको कुरामा सही थाप्नु आफ्ना लागि फाइदा नहुन सक्छ । आफूले व्यवहारमा सिद्ध नगरी वा आफूले सबै पाटो र पक्ष नबुझी हो वा होइन भन्नु उचित होइन । 

बहसमा होइन भन्दै जाँदा मात्र अन्तिममा सत्यतथ्य पत्ता लाग्दै जान्छ, सत्य कुरा सतहमा देखिँदैन । यो त गहिराइमा लुकेर बसेको हुन्छ, त्यसैले तथ्य खोतलेर मात्र सत्य पत्ता लगाउन सकिन्छ । मनमा पूर्वाग्रह राखेर सत्य खोज्न सकिँदैन । त्यसैले वैज्ञानिक खुला दिमागले सोच्छन् र पदार्थभित्र अवलोकन गर्दा जे देखिन्छ, सो स्वीकार गर्छन् । 
पहिले नै मानेर अध्ययन गरियो भने सत्यतथ्य पत्ता नलाग्न सक्छ । होइन भन्न सक्ने क्षमताको विकासले नै नवीन कुरा पत्ता लाग्न मद्दत गर्छ । 

  • ३) राम्ररी सोच्ने र निर्णय गर्ने

कुनै पनि कुराको निर्णय गर्दा गहन रूपमा सोच्नुपर्छ । समस्या वा विषयवस्तुमाथि चारैतर्फबाट अध्ययन वा जाँच गरेपछि मात्र निर्णय लिनुपर्छ । अध्ययनको नतिजाका आधारमा गरिने निर्णय धेरै हदसम्म सत्यको नजिक हुन्छ । 

 

  • ४) छिटो जवाफ नदिने

कतिपय मानिस कुरा सुन्नेबित्तिकै आफ्नो प्रतिक्रिया दिइहाल्ने गर्छन् । यसो गर्दा सत्य–तथ्य थाहा नहुन सक्छ । कुनै पनि जवाफ अध्ययनविना छिटो नदिनु नै राम्रो हुन्छ तर सवाल कस्तो किसिमको छ, त्यसमा पनि भर पर्छ । 

समाजमा घट्ने घटना सरल रेखामा हिँड्दैनन् । समाज विकासको गति जटिल हुन्छ र बाङ्गो–टिङ्गो बाटो पार गर्दै अघि बढ्छ । त्यसैले वर्तमान परिस्थितिको ठोस विश्लेषणको आधारमा जवाफ दिँदा राम्रो हुन्छ । 

आफूले बोलेको कुराले समाजमा कस्तो प्रभाव पार्छ भन्ने अर्थ बुझेर बोल्नु उत्तम हुन्छ । समाजमा जे–जति परिघटना हुन्छन्, त्यसको पछाडि कार्य–कारणको सिद्धान्तले काम गरेको हुन्छ । हरेक कर्मको पछाडि कारण हुन्छन् । यो विज्ञानसम्मत कुरालाई कसैले नकार्न सक्दैन ।

  • ५) लक्ष्यमा केन्द्रित हुने 

कुनै पनि काम गर्दा लक्ष्य निर्धारण गर्ने र सो लक्ष्यमा केन्द्रित भई आफ्नो समय, स्रोत र साधनको प्रयोग गर्नुपर्छ । लक्ष्यविना काम गर्दा अन्यत्र ध्यान मोडिने हुँदा मानिस भौँतारिन पुग्छ र जीवनको यात्रा गन्तव्यहीन हुन सक्छ । 
त्यसैले भनिन्छ, काम गर्दा अर्जुनदृष्टि लगाउनुपर्छ । जस्तो दृष्टि त्यस्तै सृष्टि देखिने, गर्ने र प्रतिफल भोग्नुपर्ने हुन्छ । 
मानिसको जीवनमा आरोह अवरोध आइरहन्छ । संघर्ष नै जीवन हो भन्ने मूल मन्त्र बुझ्नेले मात्र साहसका साथ निरन्तर अघि बढिरहन्छ । संसारमा कुनै पनि जीवन र वस्तु स्थायी छैन, यो निरन्तर परिवर्तनशील छ । परिवर्तनबाटै पुरानोको अन्त्य र नयाँ वस्तुको जन्म हुन्छ । 

  • ६) समय बर्बाद नगर्नुस्

समय नै मानिसको ठुलो सम्पत्ति हो । मानिसको जीवनमा समय कहिल्यै फर्केर आउँदैन । मानिस असल, सफल र समाजमा मर्यादित हुनका लागि उत्पादनमूलक काममा मात्र समयको भरपूर सदुपयोग गर्नुपर्छ । अनावश्यक रूपमा समय खेर फाल्नु जीवनका लागि अति हानिकारक छ । कतिपय मानिस अरुको टीकाटिप्पणी गर्ने, कुरा काट्ने र अमर्यादित ढङ्गले प्रस्तुत हुने गरेको देखिन्छ यसले आफूलाई नै क्षति गर्छ । 

  • ७) ज्ञान र अनुभव बटुल्न व्यस्त रहनुस् 

ज्ञान र अनुभव नै जीवनका अमूल्य सम्पत्ति हुन् । समाजमा आफ्नो शक्ति, सामथ्र्य र शासन चलाउनका लागि ज्ञान र अनुभव धेरै महत्त्वपूर्ण हतियार हुन् । त्यसैले सधैँभरि ज्ञान र अनुभव बटुल्नमा व्यस्त रहनुपर्छ । 

जोसँग धेरै ज्ञान र अनुभव हुन्छ, उसैले संसारमा नेतृत्व गर्न सक्छ । ज्ञान र अनुभव प्रकृति, समाज, अध्ययन प्रतिवेदन, प्रत्यक्ष अवलोकन र आफ्नै कर्मशील जीवनको भोगाइबाट प्राप्त हुने कुरा हुन् । ज्ञान र अनुभव बटुल्न क्षमताको विकास गर्नुपर्छ । 

मानिस उमेरले पाको र शैक्षिक डिग्री हासिल गर्दैमा ज्ञानी र अनुभवी नहुन पनि सक्छ । ज्ञान र अनुभव बटुल्नका लागि प्रत्यक्ष अवलोकन गर्ने क्षमताको विकास गर्नुपर्छ; नवीन कुरा सिक्न सधैँ उत्सुक रहनुपर्छ; लगनशील र सिर्जनशील हुनुपर्छ; श्रमको सम्मान गर्ने सोच हुनुपर्छ । 

कतिपय मानिस कुरा सुन्नेबित्तिकै आफ्नो प्रतिक्रिया दिइहाल्ने गर्छन् । यसो गर्दा सत्य–तथ्य थाहा नहुन सक्छ । कुनै पनि जवाफ अध्ययनविना छिटो नदिनु नै राम्रो हुन्छ तर सवाल कस्तो किसिमको छ, त्यसमा पनि भर पर्छ । 
  • ८) लेखनशैलीको विकास गर्ने 

आफूले हासिल गरेको ज्ञान र अनुभवलाई पुस्तकका रूपमा अर्थात् लेख–रचनाका रूपमा प्रकाशित गर्न सक्नुपर्छ । यसो गर्नाले व्यक्तिले धेरै लामो समय खर्चेर प्राप्त गरेको ज्ञान तथा अनुभव मर्न पाउँदैन । 

नेपाली समाजमा आफूले जानेको ज्ञान तथा जीवनको बहुमूल्य अनुभव अरुलाई सिकाउने वा भविष्यको पुस्तामा ज्ञान हस्तान्तरण गर्ने परम्परा कमै छ । आउने पुस्तालाई पुराना पुस्ताले ज्ञान वा अनुभव हस्तान्तरण नगर्ने हो भने आर्जित अनुभव लोप हुने खतरा हुन्छ । यो विकासको बाधक हो । नेपाली समाजले ज्ञान हस्तान्तरण गर्ने कुरामा कन्जुस्याइँ गर्नु हुँदैन । 

  • ९) योग, प्राणायाम र ध्यान गर्ने

स्वस्थ, व्यस्त र मस्त हुनका लागि योग, प्राणायाम र ध्यान गर्ने अभ्यास गर्नुपर्छ । जसले दैनिक ३० मिनेटदेखि एक घण्टा योग, प्राणायाम र ध्यान गर्छ, ऊ सधैँ सुख, शान्ति र आनन्दमा रमाउन सक्छ । योग, प्राणायाम र ध्यानका आधारभूत कुरा जान्ने प्रशिक्षकसँग सिक्नुपर्छ ।  नियमित योग, प्राणायाम र ध्यान गर्ने मानिस कहिल्यै विचलित हुनुपर्दैन । ऊ तनाव वा दुःखसुखको घनचक्करबाट मुक्त हुन्छ । 

निष्कर्ष

मानिसलाई महान् बनाउने संसारमा कुनै विश्वविद्यालय हुँदैन, न त महान् बन्ने गुण कसैले भाग्यमा लिएर आएको हुन्छ । आफ्नै विचार, वाणी, कर्म, व्यवहार, अनुशासन र श्रमप्रतिको सम्मान वा प्रेमले नै मानिसलाई महान् बनाउने हो । जीवन संघर्षशील छ, संघर्षबाट खारिएको मानिस मात्र असल र महान् बन्न सक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा.नरविक्रम थापा
डा.नरविक्रम थापा
लेखकबाट थप