काठमाडौँ । यादव भट्टराई नेपाली समाजका गम्भीर समस्याका कथालाई केन्द्रमा राखेर फिल्म बनाउने निर्देशक हुन् । सतिप्रथाको कथामा ‘झोला’ बनाउँदै निर्देशनमा होमिएका उनले यो फिल्मबाट प्रशंसा र व्यावसायिक सफलता दुवै हात परे ।
त्यसपछि बनाएको दाइजोविरोधी प्रथाको फिल्म ‘भोर’ले भने राम्रो व्यवसाय गर्न सकेन । तर निर्देशकका रूपमा उनी सफल ठहरिए । किनभने, फिल्मलाई समीक्षक र बौद्धिक व्यक्तित्वबाट तारिफ मिल्यो । ‘भोर’ बनाएको ७ वर्षपछि उनी नयाँ फिल्म ‘झिल्को’ लिएर आउँदैछन् ।
‘झिल्को’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममार्फत उनले आजको डिजिटल लत देखाउने प्रयास गरेका छन् ।
‘झिल्को’ले डिजिटल कुलतमा एउटा परिवार र बालबालिका कसरी फसेका छन्, त्यो उजागर गर्ने भट्टराई बताउँछन् । उनै निर्देशक भट्टराईलाई रातोपाटीले राखेको केही प्रश्न गरेको छ ।
‘झिल्को’ मा खास के छ ?
यसलाई आधुनिक वा सामाजिक झिल्को भन्दा पनि हुन्छ । मोबाइल, इन्टरनेट हाम्रो जीवनको सबैभन्दा अभिन्न अंग भएको छ । समाजमा यसले भयावह समस्या निम्त्याइरहेको छ ।
मानिसमा पछिल्लो समय देखिएको डिजिटल कुलतमाथिको गम्भीर प्रश्न हो ‘झिल्को’ । बालमनोविज्ञानमा आधारित रहेर निर्माण भएको सामाजिक फिल्म हो ‘झिल्को’ ।
हामी अहिले बालबालिका जन्मिनेबितिक्कै मोबाइल थमाउँछौँ । उनीहरूको जीवन मोबाइलबाट सुरु हुन्छ । उनीहरू मोबाइलविनाको जीवन कल्पना नै गर्न सक्दैनन् ।
जसका कारण उनीहरू मानसिकदेखि विभिन्न समस्याबाट पीडित छन् । मोबाइलले मानवतामाथि र भावी पुस्तामाथि गम्भीर आक्रमण गरिरहेको छ । यो विषयमा सचेत गर्दै संवेदनशील पक्ष फिल्मले देखाउँछ ।
हो, आजको समयको सबैभन्दा ठुलो वरदान डिजिटल फड्को हो । हामी भाग्यमानी पुस्ता हौँ । जो डिजिटल युगमा बाँच्न पायौँ । डिजिटल युगमा प्रवेग गर्दैमा यसको लतमा फस्नुपर्छ भन्ने छैन । हाम्रो आपत्ति यही हो । डिजिटल, इन्टरनेट भनेको हाम्रो कार्यलाई सहज बनाउन हो । तर आज मोबाइलविरुद्ध समाजमा आवाज उठ्नुपर्ने कारण किन ? हामी अहिले मोबाइलविना रहन नसक्ने अवस्थामा पुगेका छौँ ।
मोबाइल हाम्रो सहयोगी हुनुपर्ने, यसले समस्या निम्त्याउने काम गरिरहेको छ । अहिले सबैभन्दा बढी मानिस मोबाइल लतमा फसेका छन् । हामी फसेको छौँ/छैनौँ, हाम्रो जीवनमा मोबाइलले सहयोग गरेको छ वा असर त्यो जान्न र बुझ्न झिल्कोले सहयोग गर्छ ।
विशेष गरेर हामी सोसल मिडियामा जसरी समय बिताइरहेका छौँ । हामी त्यहीलाई संसार ठानिरहेका छौँ । त्यही भाइरलको खेतीपाती चलिरहेको छ । हाम्रो समाजमा नकारात्मक कुराहरू धेरै भाइरल हुन्छ । अहिले नकारात्मक कुरो भाइरल हुन्छ भन्ने आम मानिसहरूको धारणा छ । उनीहरूले त्यही किसिमको कन्टेन्ट उठाउने र सबैले चिन्ने सेलिब्रेटी बन्ने सोचमा जानीजानी नराम्रो कर्म गरिरहेका छन् । के यसलाई सभ्य समाजको मानक मान्न सकिन्छ ? अहिले टिकटकका कन्टेन्ट बुबाछोरीसँगै बसेर हेर्न सकिन्न । यसले परिवारलाई जोड्यो कि तोड्यो ? । हामी इन्टरनेट र मोबाइल आफ्नो सदुपयोगका लागि प्रयोग नगरेर दुरुपयोगका लागि प्रयोग गरिरहेका छौँ । त्यसले व्यक्तिलाई मात्र होइन, सिंगो समाजलाई गलत बाटोमा डोहोर्याउने काम गरेको छ । फिल्मले मोबाइलसँगको यो विषय सूक्ष्म रूपमा उठाएको छ ।
समयको कुरो कामले गर्ने हो । सामान्यतः यति धेरै समय लाग्दैन । तर मलाई लाग्यो । कारण यसको विषय हो । विषयका लागि करिब तीन वर्ष रिसर्चमा लाग्यो । रिसर्चका लागि विषयमाथि सर्वसाधारणदेखि धुरन्धर विज्ञहरूसँग छलफल भयो । कथामा हामीले जति रिसर्च गर्दै गयौँ । त्यति संवेदनशील बन्दै गयो । हामीले मोबाइल, डिजिटल प्रविधिको लत जसरी सोचिरहेका थियौँ, त्योभन्दा कैयौँ गुणा भयानक पायौँ । यो लतमा फसेपछि परिवार, समाज कुरूप बन्छ । त्यही कथा फिल्ममा उतार्दा सात वर्ष लाग्यो । हाम्रो कथा त्यस्तो छ, जसलाई समयले केही फरक पार्दैन ।
यो कथा मैले भनिनँ भने अरूले सायदै भन्ला । आजको समयको यो गम्भीर समस्या हो । त्यसबाट हामीले नसोचेको दुःख पाइरहेका छौँ । सबैले प्रिय भनेको मोबाइलमाथिको मेरो प्रश्न हो ‘झिल्को’ । हामीले यस विषयमा जे तथ्य भेट्टायौँ, त्यसले फिल्मलाई अर्थपूर्ण बनाएको छ । हाम्रो फिल्ममा समाजका बालकदेखि वृद्धसम्मको कथा छ ।
दर्शकको अपेक्षाले मैले कुनै फिल्म निर्माण गरेको छैन । ‘झोला’ र ‘भोर’ अलग–अलग समयको कथा पस्किएको हो । जुन मेरो इच्छाको कथा थियो । त्यो कथा पूर्ण रूपमा, इमानदार भएर भनेको थिएँ । सामान्यभन्दा सामान्य दर्शकदेखि सबै दर्शकले बुझ्ने गरेर पस्किएको थिएँ । दर्शकले रुचाए । ‘झिल्को’ पनि त्यस्तै हो । दर्शकले जुन अपेक्षा मेरो फिल्मप्रति लिन्छन् । त्योभन्दा माथिको छ ‘झिल्को’ । यो मेरो विश्वास हो ।
मेरो रुचि नै सामाजिक फिल्ममा छ । त्यसैमा म इन्ज्योय गर्छु । मैले बनाउने, समाज, घरपरिवार र आफ्नो कथामा हो । झिल्कोको पनि कथा मध्यमवर्गीय परिवारको डिजिटल लतको कथा हो । यसले कसैलाई छोडेको छैन । सबैभन्दा पीडित निर्दोष बालबालिका छन् ।
फिल्म राम्रो बनाएर मात्र पनि हुँदैन । प्रचारप्रसार गर्नुपर्छ । त्यो आफैमा एउटा च्यालेन्ज छ । यसमा धेरै खर्च गर्नुपर्छ । हामीले चलचित्र राम्रो बनाएका छौँ । प्रचारप्रसार पनि सक्दो गरिरहेका छौँ । हामीले दर्शकलाई रिलिजकै दिन हेर्न अनुरोध गरेका छौँ । हामीले बनाएको फिल्मले निराश गर्दैन । हाम्रो फिल्म प्रचारभन्दा पनि माउथ पब्लिसिटीले चल्छ ।
स्टारभन्दा हामीले कथा सुहाउँदो पात्र लिएका छौँ । अहिले बजारको स्टार लिएर काम गर्नु आफैमा चुनौती छ । एउटा कुरो, निर्देशकलाई फिल्म राम्रो बनाउन कलाकारले जति समय दिनुपर्छ, त्यो स्टारबाट मिल्न मुस्किल छ । अर्को कुरो, बजेटमा पनि भर पर्छ । हामीले सानो बजेटमा सुहाउँदो कलाकार राखेर काम गरेका छौँ । फिल्म हेरेपछि आफै भन्नुहुन्छ मेरो फिल्मका कलाकार नै स्टार ।
म निर्माणमै खुसी हुन्छु । कुनै विषयमा फिल्म बनाउँदा पहिले आफैले इन्ज्योय गर्न सक्नुपर्छ । त्यो भएन भने दर्शक पनि रमाउन सक्दैनन् । एउटा निर्देशकले फिल्म निर्माणमै खुसी हुन सक्यो भने दर्शक पाउँछ । फिल्मले उठाएको विषयमा दर्शकको सानो मात्र चेत खुल्यो भने त्यो सफलता मान्छु ।
फिल्मको व्यावसायिक सफलता, असफलताको जस निर्देशकमा थोपार्ने प्रचलन छ । फिल्मलाई लिएर आर्थिक प्रेसर कति हुन्छ ?
मैले अहिलेसम्म तीन फिल्म निर्देशन गरे । कुनैमा फिल्ममा आर्थिक प्रेसर लिएको छैन । म त्यो प्रेसरबाट मुक्त भएर काम गर्ने भएकोले फिल्म ल्याउन ६–७ वर्ष लाग्छ । अहिलेसम्म जति पनि फिल्म गरे । सबै स्वतन्त्र भएर गरे । बन्धनमा रहेर उत्कृष्ट काम गर्न सक्दिनँ । मेरो बुझाइमा धेरै फिल्म बिग्रिएका निर्देशक स्वतन्त्र नभएर हो ।
डिजिटल प्रवृत्तिले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको छ । मानिसहरू परिश्रमभन्दा सजिलो मार्ग खोज्दै भर्चुअल दुनियाँमा हराइरहेका छन् ।
डिजिटल कुलतले एउटा सामान्य परिवार र बालबालिकामाथि कस्तो असर परिरहेको छ । हामी सामान्य ठानेको डिजिटल कुलत के हो ? यसले आगोको झिल्कोजस्तै बिस्तारै हाम्रो आत्मा डढाइरहेको छ । ‘झिल्को’ यही खतरा देखाउने फिल्म हो । ‘झिल्को’ आफ्ना डिजिटल गल्तीहरू पहिचान गरेर विवेकपूर्ण जीवनशैली अपनाउन प्रेरित गर्छ । यो हरेकको कथा, जुन भोगेको तर याद नभएको कथा हो ।
प्रतिक्रिया