अमेरिकाबाट डिपोर्ट भएपछि बाको अँगालोमा

काठमाडौँ । ‘यु आर बिइङ डिपोर्टेड टुडे (तँ आज डिपोर्ट हुँदै छस्) ।’
२०२५ मार्च २५ को बिहान ४ बजे अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) का एक अधिकारीले भने, ‘आफ्ना सामानहरू प्याक गर्नू ।’
सूर्य नउदाउँदै उनको घाम अस्तायो । कल्पनासमेत गरेका थिएनन् उनले, कि आफूलाई डिपोर्ट गरिँदै छ ।
त्यहाँबाट उनलाई न्युजर्सी लगियो । हातमा पासपोर्ट थमाइयो । त्यसवेला उनसँगै थिए, अन्य चार भुटानी शरणार्थी । न्युजर्सी विमानस्थलमा ६ जना थपिए । १० मध्ये एक जनालाई कहाँ लगियो, उनलाई थाहा छैन । ९ जनालाई भने विमानमा हालियो । प्रतिव्यक्ति दुईका दरले १८ जना आईसीई अफिसर विमानमा चढे । ८ घण्टामा विमान भारतको नयाँ दिल्ली अवतरण भयो । अनि त्यहाँबाट भुटान । भुटानले निष्कासन गरेपछि नेपाल आइपुगे उनी । अर्थात् आशिष सुवेदी ।
डाँडापारिको घामलाई हेर्छुँ
आमा र बाबा सम्झिरहन्छु
गाउँ छोड्दा बिझेका काँडा
परदेशमा बसी झिकिरहन्छु
अमेरिकाका बिराना गल्लीहरूमा आशिष सुवेदीलाई विप्लव प्रतीकको गीतले भनेझैँ हर रात ऐँठन हुन्थ्यो । क्षितिजमा हेरेर बाबा र आमा सम्झिन्थे । देश त उनको थिएन । नागरिकको त उनलाई कसैले मानेकै थिएन । तर उनको मुटुमा पनि बिझेका थिए, जन्मेको थात र हुकेर्को थलो छाड्दाका धारिला काँडा । तिनलाई झिक्ने फुर्सद सायद उनलाई थिएन । एउटा घाउ भरिँदा छातिमा उम्रिन्थे अरू काँडा । हतारको यात्रामा थिए उनी । हुन त उनको जीवनै यात्रा । नियतिले उनलाई सधैँ यात्रामा फसाइरह्यो ।
जन्मिँदै जन्मभूमि भुटान छाडेर नेपाल आउनुपर्यो । शरणार्थी बनेर अमेरिका पुगे । र, यतिवेला उनी डिपोर्ट भएर पुनः नेपाल फर्किएका छन् । भुटानले नागरिकका रूपमा अस्वीकार गरेर सीमामा ल्याएर छाडिदियो । नेपालमा २८ दिनको हिरासत बसाइपछि वैशाख ११ गते सर्वोच्च अदालतको आदेशले उनी रिहा भए । थाहा छैन उनलाई, उनको यो यात्राले अब कहाँ लैजानेछ ? तर यतिवेला उनलाई प्रशासनले दमक नछाड्न भनेको छ । एउटा नगरपालिकाभित्र अडिएका छन् उनी ।
भुटान सरकारले सन् १९८० मा ‘एक देश एक जनता’ नीति लियो । त्यसबिचमा जोङ्खा भाषा अनिवार्य बोल्नुपर्ने, भुटानी परम्परागत पोसाक लगाउनुपर्ने र बौद्ध धर्म पालना गर्नुपर्नेलगायत अनेक नियम लादियो । भुटानमा पहिल्यैदेखि बसिरहेका नेपाली र भारतबाट सन् १९५० को दशकमा सरेकासहित नेपाली मूलका भुटानी पनि थिए । जसको भाषा नेपाली थियो, धर्म हिन्दु । भुटानले लिएको नीतिभन्दा फरक थियो, उनीहरूको पहिचान । त्यसैले सरकारले दमनको नीति लियो । सन् १९९० देखि भुटानी राजा जिग्मे सिङ्गे वाङचुङको नेतृत्वमा नेपाली मूलका भुटानीलाई लखेट्ने क्रम सुरु भयो । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र राजनीतिक उत्पीडनमा परी देश छाड्नेहरू बाक्लिए ।
त्यसबिचमा विशेषगरी चिरांग, साम्ची र गेलेंफुङलगायत क्षेत्रबाट एक लाख बढी नेपाली मूलका भुटानीहरू निष्कासित भए (रिलाइफवेब, युएनएचसीआर रिपोर्ट) ।
नेपाली मूलका भुटानी लखेटिने क्रम सुरु भएको तीन वर्षपछि अर्थात् १९९३ को कुनै एक दिन नारायणकुमार सुवेदी (आशिषका बुवा) को घरमा केही सेना प्रवेश गरे । ‘देश छाडेर जा । तँ भुटानमा बस्न पाउँदैनस्,’ उनीहरूले धम्कीपूर्ण भाषामा सुवेदीलाई भने । सुवेदी भुटानको सरकारी कर्मचारी थिए । प्राविधिक कर्मचारीका रूपमा भुटान सरकारका लागि काम गरिरहेका थिए । ‘म गोभर्रमेन्ट सर्भिसर हो । म यहाँ किन बस्न पाउँदिनँ ? के गल्ती गरेँ ?’ ३२ वर्षअघिको त्यो दिन सम्झिँदै रातोपाटीलाई उनले बताए, ‘तेरो श्रीमती भारतीय हो, त्यसैले तँ यहाँ बस्न पाउँदैनस् भने ।’
उनले त्यहाँ सुदूर भविष्यको सुन्दर सपना बुनेका थिए । कहिल्यै सोचेका थिएनन्, यसरी निष्कासित हुनुपर्नेछ । उसो त त्यसवेलासम्म श्रीमतीले पनि उनलाई छाडेको पनि एक वर्ष नाघिसकेको थियो ।
छोरा आशिष बल्ल चार लाग्दै थिए । उनले त्यहाँ बस्न प्रयास पनि गरे । तर हेपाहा प्रवृत्ति र धम्कीका कारण आत्मसम्मानमा ठेस पुगेपछि अन्ततः आफूले भुटान छाड्ने निर्णय लिएको उनी बताउँछन् ।
नाबालक छोरालाई बोकेर उनी सिलिगुरी आए । र, त्यहाँबाट नेपाल । धुलावारी शिविरमा १८ वर्ष, त्यसपछि बेलडाँगी शिविर–१ मा केही समय हुँदै हाल बेलडाँगी शिवर–२ मा बसिरहेका छन् । यसबिच उनको जीवनमा धेरै उतारचढाव आए । दोस्रो बिहे गरे, उनबाट दुई छोराछोरी जन्मिए । आशिष भुटानी शरणार्थीका रूपमा अमेरिका पुगेका हुन् ।
दोस्रो श्रीमती र उनीबाट जन्मिएका छोराहरू किरण र मिलन पनि केही समयपछि उतै भासिए । सम्पर्क टुट्यो । केही समयपछि तेस्रो श्रीमती भित्र्याए । उनले पनि छोरीसहित छाडेर गइन् । त्यसपछि भने उनी एक्लै छन् । तेस्रो श्रीमतीसँग पनि सम्पर्क नभएको ८ वर्ष भएको उनी बताउँछन् ।
नारायणकुमार शरणार्थीका रूपमा झापामा ओत लागेपछि धुलावारीको शिविरमै हुर्किए आशिष । कक्षा सातसम्मको औपचारिक अध्ययन गरे । गाडीमा सहचालकका रूपमा काम गरे । भुटानमा पुनस्र्थापनाको प्रयास भए पनि त्यो सफल हुन सकेन । त्यसैबिच नेपाल सरकारले संयुक्त राष्ट्र अमेरिकालाई भुटानी शरणार्थीका समस्याबारे जानकारी गरायो । संयुक्त राष्ट्र संघको समन्वयमा भुटानी शरणार्थीलाई अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत तेस्रो देशमा पुनर्वास सुरु भयो । सोही क्रममा सन् २०१६ जुलाई ११ मा आशिष पनि अमेरिका उडे ।
संसारकै शक्तिशाली मुलुक मानिने अमेरिकामा आफूलाई सुरक्षित महसुस गरेका थिए उनले । तर हरेक पाइला उनका लागि असुरक्षित बन्यो । सुरुमा ओमाह पुगे । त्यहाँ मासु कम्पनीमा काम गरे । सन् २०२२ सम्म विभिन्न सहर हुँदै ओहायोमा काम गरे । पाँच वर्ष ठीकठाकै बिते । तर २०२२ अगस्टमा एकाएक उनी पक्राउ परे । आरोप थियो, दुर्व्यवहार ।
उनी भन्छन्, ‘पहिले पनि मलाई फसाउन खोजेका थिए ।’ नेपालीले नै योजनाबद्ध रूपमा आफूलाई फसाएको बताउँछन् उनी । आफूले केही गल्ती नगर्दा पनि सुरुमा १९ दिन हिरासतमा राखेको उनी बताउँछन् । ‘त्यसपछि फेरि १९ दिन म्याद थप भयो,’ ‘पछि दुई वर्षको सजाय सुनाइयो ।’
उक्त थुनाविरुद्ध अदालतमा अपिल गर्न पाउने पनि एक वर्ष बितेपछि मात्रै थाहा पाएको उनी बताउँछन् । ‘एक वर्ष कैद कट्टा गरिसकेकाले अब केही समय हो भन्ने सोचेर अपिल गरिनँ,’ उनी भन्छन् ।
उनलाई निर्धारण गरेको सजायअनुरूप २०२४ अगस्ट १७ मा रिहा हुनुपर्थ्यो । तर त्यसको दुई दिनअघि अगस्ट १५ मा मात्रै आईसीईले नियन्त्रणमा लियो । सुरुमा कन्ट्री जेलमा राखियो । २०२५ जनवरीमा योंगेस्टाउन सेन्टर पुर्याइयो । २५ दिनपछि कोलम्बस पुर्याइयो ।
कोलम्बसमा केही समय राखेपछि उनी डिपोर्ट भए । आईसीई अफिसरको नियन्त्रणमै नयाँ दिल्ली, त्यहाँबाट ड्रुक एयरमार्फत बिहान ४ः४५ मा भुटानको पारो एयरपोर्ट लगियो । भुटानको अध्यागमनका कर्मचारी र प्रहरीलाई जिम्मा लगाएर त्यहाँबाट आईसीई अफिसरहरू फर्किए ।
आशिषसहित ९ जनालाई त्यहीँको एक थाना लगियो र थानामा केही समय राखेपछि एक–एक गरेर त्यहाँबाट अन्त कतै लगियो ।
‘त्यसवेला केही गर्छ कि भन्ने डर लागेको थियो,’ आशिष ती दिन सम्झिँदै भन्छन्, ‘तर त्यस्तो केही भएन । पारोगेन्ट होटलमा लगेर राम्रैसँग राखे । खाना पनि खुवाए । अनि अन्तर्वार्तामा लगियो । सोधपुछ गरियो । फोटो र भिडियोग्राफी पनि खिचे । भुटानमा रहेका आफन्त र परिवारबारे पनि सोधे ।’
उनीहरूले अमेरिकाबाट डिपोर्ट हुँदादेखि भुटानसम्मको यात्राका दौरान केही फोटो भिडियो खिचेका थिए । आशिष भन्छन्, ‘तर ती सबै डिलिट गर्न लगाए ।’ डिपोर्ट भएर भुटान पुगेपछि भने उनलाई निकै रमाइलो लाग्यो । ‘पुर्खाको गाउँ । डिपोर्ट भएर त्यसरी पुगे पनि भुटान पुग्दा छुट्टै आनन्द भइरहेको थियो ।’
भुटान छाड्दा डेढ वर्षका थिए आशिष । पुर्खाको थलोमा पुग्दाको स्मरण सुनाउँदै भने, ‘भुटानमा फेरेको स्वासको स्वाद अमेरिकामा ९ वर्ष फेरेभन्दा फरक र मीठो लाग्यो ।’
भुटानमै पाए बस्नुहुन्थ्यो ?
जवाफमा उनले भने, ‘बाउबाजेको माटो । माया त लागिहाल्छ नि । तर त्यहाँ मेरो कोही छैन । घर छैन । आमा उतै हुनुहुन्छ, कहाँ हुनुहुन्छ थाहा छैन । सानैमा छुटेको । गाउँ याद छैन ।’
अध्यागमनका कर्मचारी र रोयल भुटान प्रहरीले सोधपुछ र कागज गरेपछि उनीसहित तीन जनालाई आर्मीको गाडीमा भुटान–भारत सीमासम्म ल्याएर फुन्सेलुङ–जयगाउँ सीमामा छाडिएको थियो । बाँकी ६ जनालाई कहाँ पुर्याइयो उनलाई थाहा छैन । भुटानले त्यसरी देश निकाला गर्दा १० हजार रुपैयाँ बाटो खर्च भनेर दिएकोमा पछि २० हजार थपिदिएको उनी सम्झन्छन् ।
जयगाउँबाट भारतीय ट्याक्सीमार्फत उनीहरूलाई झापापारि पुर्याइयो । खोला तरेर नेपाल छिरे । तर स्थानीय केही युवकले उनीहरूलाई रोके । नेपाल छिरेबापत आफूहरूसँग प्रतिव्यक्ति १० हजार रुपैयाँ मागिएको उनी बताउँछन् । उनी भन्छन्, ‘यसअघि आउजाउ गर्दा यसरी पैसा लिन्छ भन्ने सुनेको पनि थिइनँ । तर नाकामै बसेर केही मान्छेहरू पैसा उठाइरहेका हुने रहेछन् ।’
तीन जनाबाट ३० हाजर मागे पनि आफूहरूसँग नभएको उनीहरूले बताए । तर २२ हजार रुपैयाँ भने बुझाए । त्यतिञ्जेल बाबासँग उनको सम्पर्क भने भइसकेको थियो । नेपाल छिरेपछि भुटानी अधिकारीहरूको सम्पर्कमा ‘स्ट्यान्डबाइ’ रहेको अर्को गाडीमा उनीहरू बेलगाडी शिविर आइपुगे । बितेका एक दशकमा यो धर्ती पहिलोपटक असुरक्षित लागेन उनलाई ।
०००
झण्डै एक दशकपछि छोरालाई आँगनमा देखेर नारायणकुमारका आँखा छचल्किए । बुढेसकालको सहारा बनेर छोरालाई नियतिले डोर्याएर आँगनमै पुर्याएको ठाने ।
पछि कानुनी झन्झटमा नपरियोस् भनेर उनले अर्को दिनको बिहानै प्रशासनलाई खबर गरे । अध्यागमनका अधिकारीहरू आए । १० बजेतिर आशिषलाई कार्यालयमा लगे । साँझसम्म कानुनी प्रक्रिया पुर्याएर छोड्ने आशामा थिए नारायणकुमार । कागजात बनाएर छोड्ने अपेक्षा उनको थियो । तर त्यसो भएन । बरु अध्यागमन कार्यालयले देश निकाला गर्नुपर्ने रायसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा पुर्यायो । प्रहरीले थुनामा राख्यो । यसैबिच नारायणकुमारले अदालतको ढोका ढक्ढकाए । सर्वोच्चले गत वैशाख ११ गते उनीसहित चार जनालाई हिरासतमुक्त गरेर ६० दिनभित्र अनुसन्धान टुंग्याउन आदेश गर्यो ।
यतिवेला बाबुछोरा बेलडाँगी शरणार्थी शिविर–२ मा सँगै बसिरहेका छन् ।
आइतबार फोन सम्पर्क गर्दा आशिष र नारायणकुमार मिलेर बेलडाँगी शिविरस्थित घर सफा गरिरहेका थिए । आशिषले भने, ‘धेरै दिनदेखि घरमा कोही नभएर अस्तव्यस्त भएको थियो । बाबा र म मिलेर सफा गर्दैछौँ ।’ उनी अब नेपालमै केही गर्न चाहन्छन् । अमेरिका जानुअघिको सीप सम्झिँदै उनी भन्छन्, ‘पहिले मुद्दा सकियोस् अनि आफन्तसँग सरसहयोग मागेर गाडीलाइनतिरै काम गर्ने सोच बनाएको छु ।’
यता छोरालाई भेटेर नारायणकुमार पनि दङ्ग छन् । अमेरिका छँदा आशिषले खर्च हालिदिने गर्थे तर अब कसरी जीवन निर्वाह गर्ने भन्ने उनलाई थाहा छैन । फेरि पर्बाह पनि छैन । भन्छन्, ‘म त एक्लो भइसकेको थिएँ । सुगर प्रेसरको बिरामी मान्छे । महिनामा ६ हजारको औषधि खानुपर्छ । जसरी आए पनि आफ्नो घर सम्झेर आयो । खुसी नै लाग्यो ।’
आठ वर्षदेखि अमेरिकामा सम्पर्कविहीन रहेका दुई छोरा मिलन र किरणलाई सम्झिँदै उनी आशा प्रकट गर्छन् । भन्छन्, ‘कहाँ छ भन्ने थाहा छैन । उसलाई पनि यसैगरी कुनै दिन उठाएर ल्याउँछ होला, अनि भेट होला !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक
-
सरकारसँग सहमति भएपछि रोकियो शिक्षकहरूको आन्दोलन
-
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, पत्रकार सम्मेलनमार्फत सार्वजनिक
-
अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन गाह्रो छ : देउवा
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू