बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा

बुधबार, १७ वैशाख २०८२, १० : ५०
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । पोखरामा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको ‘प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिता’ को तयारी अन्तिम चरण पुगेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।

पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा दुई विदेशीसहित ६ टोलीको सहभागिता रहने जानकारी लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले दिए ।

प्रतियोगितामा भारत र इरानका टोली पनि सहभागी हुनेछन् । स्वदेशी टोलीको रूपमा भने तीन विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँगै गण्डकी प्रदेशको टोली सहभागी हुनेछन् । 

सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग खेल खेलाइनेछ । लिग चरणपछि दुवै समूहको शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । फाइनल खेल वैशाख २२ गते हुनेछ । भारतको टोलीबाहेक सबै टोली पोखरा आइसकेको अर्यालले बताए  ।

इन्डोर हलमा तीन हजार जनाले एकसाथ खेल हेर्न सक्ने अर्यालले बताए । आयोजकका अनुसार, इन्डोर हल व्यवस्थापन कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउनका लागि आवश्यक प्रकाशको प्रबन्ध मिलाउने काम गरिएको छ ।

प्रतियोगिताको विजेताले चार लाख ४४ हजार चार सय ४४ र उपविजेताले दुई लाख ४४ हजार चार सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले एक लाख ४४ हजार चार सय ४४ रुपैयाँ पुरस्कार पाउनेछ । 

यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार चार सय ४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान आठ हजार चार सय ४४ रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी अर्यालले दिए । प्रतियोगिताको अनुमानित बजेट ८० लाख रहेको आयोजकले जनाएको छ । 

लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवर्द्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप