बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

ट्रम्पले मार्क कार्नीलाई दिए जितको बधाई

बुधबार, १७ वैशाख २०८२, १० : ४८
बुधबार, १७ वैशाख २०८२

ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई बधाई दिएका छन् । आम चुनावमा कार्नीको पार्टीले विजय हासिल गरेपछि ट्रम्पले उनलाई बधाई दिएका हुन् । 

‘प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पसँग कुरा गरे,’ क्यानेडाली प्रधानमन्त्रीको आधिकारिक एक्स खाताले पोस्ट गरेको छ । विज्ञप्ति अनुसार दुवै नेताहरू निकट भविष्यमा भेट्न सहमत भएका छन् । 

‘क्यानडा र अमेरिकाले आफ्नो पारस्परिक हितका लागि स्वतन्त्र, सार्वभौम राष्ट्रहरूको रूपमा मिलेर काम गर्नुको महत्त्वमा दुई नेताहरूले सहमति जनाएका छन् । यस उद्देश्यका लागि, दुई नेताहरू निकट भविष्यमा व्यक्तिगत रूपमा भेट्न सहमत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ । 

क्यानडामा सोमबार आम चुनावको लागि मतदान भएको थियो । यस चुनावमा ३४३ सिटमध्ये कार्नीको नेतृत्वमा क्यानडाको लिबरल पार्टीले १६९ सिट जितेको थियो । कन्जर्भेटिभ पार्टीले १४४ सिट जितेको छ । बहुमतको सरकारका लागि लिबरल पार्टीलाई १७२ सिट चाहिन्थ्यो । 

आफ्नो पार्टीको जित लगत्तै, कार्नीले ट्रम्पलाई निशाना बनाएका थिए । ‘राष्ट्रपति ट्रम्प हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिकाले हामीमाथि आफ्नो प्रभुत्व स्थापित गर्न सकोस्, तर यो कहिल्यै हुनेछैन’ उनले भनेका थिए । 

ट्रम्पले क्यानडालाई निरन्तर व्यापार युद्धको धम्की दिइरहेका छन् । उनले बारम्बार क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने कुरा पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप