बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

उपाधि होडबाट बाहिरिएको र प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत दुई ‘किङ्स’ आपसमा भिड्दै

बुधबार, १७ वैशाख २०८२, १० : २९
बुधबार, १७ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बुधबार चेन्नई सुपर किङ्सले पञ्जब किङ्सको सामना गर्दै छ । खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो ४९औँ खेल हो । यी दुबै टोली जारी आईपीएलमा दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । अप्रिल ८ तारिखमा खेलिएको पहिलो भिडन्तमा पञ्जबले चेन्नईलाई १८ रनले हराएको थियो । 

पञ्जाब र चेन्नई दुबैले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । जारी सिजनको आईपीएलमा निराशाजनक प्रदर्शन गरेको चेन्नई यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । पञ्जाबको भने प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवितै छ । 

चेन्नईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईले सन् २०१० मा पहिलो उपाधि जितेको थियो । त्यतिबेला चेन्नईले फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो । दोस्रो पटक चेन्नईले सन् २०११ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराउँदै उपाधि चुमेको थियो ।

यसैगरी, सन् २०१८ को फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको थियो । सन् २०२१ को फाइनलमा भने चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराएको थियो । सन् २०२३ को फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई पाँच विकेट हराएको थियो ।

पञ्जाब किङ्ले भने हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलमा पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । 

यस्तो छ समीकरण
आईपीएलको जारी संस्करणमा पञ्जाब किङ्स र चेन्नई सुपर किङ्सले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । आईपीएलको इतिहामा सर्वाधिक सफल टोली चेन्नईले यो संस्करणमा भने अत्यन्तै निराशाजनक प्रदर्शन गरेको छ ।

चेन्नई यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । चेन्नईले यसअघि खेलिएको नौमध्ये केवल दुई खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । चेन्नई चार अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा आसीन छ ।

पञ्जाबको प्रदर्शन भने औसत देखिन्छ । पञ्जाबले यसअघि खेलिएको नौमध्ये पाँच खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । पञ्जाबको एक खेल भने अनिर्णीत रुपमा सकिएको छ । पञ्जाब ११ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । पञ्जाबको प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवितै छ ।

हेड टु हेडमा एक खेलको अन्तर
आईपीएलको इतिहासमा हालसम्म चेन्नई सुपर किङ्स र पञ्जाब किङ्सबिच ३१ खेल खेलिएको छ । त्यसमध्ये चेन्नईले एक खेल बढी जितेको छ । चेन्नईले १६ खेलमा पञ्जाबलाई हराएको छ । पञ्जाबले भने १५ खेलमा चेन्नईलाई पराजित गरेको छ । 

सन् २०२४ को आईपीएलमा पनि यी दुई टोलीबिच दुईपटक भिडन्त भएको थियो । दुबै टोलीले एक–एक खेल जितेका थिए । जारी संस्करणमा पनि यी दुई टोलीबिच एकपटक खेल भइसकेको छ । त्यो खेलमा पञ्जाबले चेन्नईलाई १८ रनले हराएको थियो ।

चेन्नईको सर्वाधिक रन शिवमको नाममा
जारी सिजनको आईपीएलमा चेन्नई सुपर किङ्सका कुनै पनि ब्याट्सम्यान चल्न सकेका छैनन् । कुनै पनि ब्याट्सम्यानले दुई सय ५० रनसम्म बनाउन सकेका छैनन् । चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शिवम दुबे हुन् ।

shivam_dube

शिवमले टोलीका लागि नौ खेलमा कुल दुई सय ४२ रन बनाएका छन् । कप्तान महेन्द्रसिंह धोनीले भने नौ खेलमा कुल एक सय ४० रन बनाएका छन् । तर, पछिल्लो समय आयुष म्हात्रे र शेख रसिद लयमा फर्किएको देखिन्छ । 

चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर भने नुर अहमद हुन् । उनले नौ खेलमा १४ विकेट लिएका छन् । यसका अतिरिक्त खलिल अहमदले पनि टोलीका लागि १२ विकेट लिएका छन् । माथिशा पाथिरानाले सात विकेट हात पारेका छन् । 

लयमा छन् पञ्जाबका प्रियांश

priyansh
आईपीएलको जारी संस्करणमा पञ्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान प्रियांश आर्या हुन् । उनले हालसम्म नौ खेल खेल्दै कुल तीन सय २३ रन बनाएका छन् । उनले जारी सिजनको आईपीएलमा शतक पनि बनाएका छन् । 

प्रियांशको स्ट्राइक रेट पनि दुई सयभन्दा माथि छ । प्रियांशका अतिरिक्त प्रभसिमरन सिंह पनि लयमा देखिन्छन् । उनले हालसम्म कुल दुई सय ९२ रन बनाइसकेका छन् । उनले कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा ८३ रन बनाएका थिए ।

पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर भने अर्शदीप सिंह हुन् । बायाँहाते तिब्रगतिका बलर अर्शदीपले हालसम्म नौ खेलमा कुल ११ विकेट लिइसकेका छन् । यसका अतिरिक्त स्पिनर युजवेन्द्र चहलले पनि नौ विकेट हात पारेका छन् । 

स्पिनरलाई साथ दिने रातो माटोको पिच
चेन्नई सुपर किङ्स र पञ्जाब किङ्सबिच बुधबारको खेल खेलिने एमए चिदम्बरम स्टेडियमको पिच रातो माटोले बनेको छ । यो पिचले खासगरी स्पिन बलरलाई साथ दिने गरेको छ । खेलको प्रारम्भमा तिब्रगतिका बलर पनि ब्याट्सम्यानमाथि हाबी हुने गरेका छन् । 

यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले बनाउने औसत रन एक सय ६३ हो । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९० खेल खेलिएको छ । त्यसमध्ये ५१ खेलमा पहिले ब्याटिङ गर्ने टोली र ३९ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । 

यो स्टेडियममा खेलिएको आईपीएलको खेलमा बनेको उच्च स्कोर भने पाँच विकेट गुमाएर दुई सय ४६ रन हो । यो स्कोर सन् २०१० को आईपीएलमा चेन्नईले राजस्थान रोयल्सविरुद्ध बनाएको थियो । यो स्टेडियममा बनेको सबैभन्दा सानो स्कोर भने ७० रन हो । उक्त स्कोर रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नईविरुद्ध बनाएको थियो । 

छैन वर्षाको सम्भावना
पञ्जाब किङ्स र चेन्नई सुपर किङ्सबिच खेल हुने दिन बुधबार चेन्नईको मौसम सफा रहने बताइएको छ । दिनभर चर्को गर्मी हुनेछ । वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम २८ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।

सम्भावित टोली 
चेन्नई सुपर किङ्स : मेहन्द्रसिंह धोनी (कप्तान एवम् विकेटकिपर), शेख रशिद, आयुष म्हात्रे, रवीन्द्र जडेजा, शिवम दुबे, विजय शंकर, साम कर्रन, जामी ओभरटन, नुर अहमद, खलिल अहमद, माथिशा पाथिराना र रविचन्द्रन आश्विन ।

पञ्जाब किङ्स : श्रेयष ऐयर (कप्तान), मार्कस स्टोइनिस, जस इङ्लिस (विकेटकिपर), शशांक सिंह, प्रियान्स आर्या, प्रभसिमरन सिंह, नेहाल बढेरा, युजवेन्द्र चहल, मार्को यानसन, अर्शदीप सिंह, लोकी फर्गुसन र ग्लेन म्याक्सवेल ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप