दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पार्ने मालिक पक्राउ

काठमाडौँ । दक्षिण कोरियाको मोक्पो शहर नजिक यङआम भन्ने स्थानमा रहेको एउटा बंगुर फर्ममा कार्यरत नेपाली मजदुर, म्याग्दीका तुल्सी पुनलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा सोही फर्मका कोरियन मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ। अप्रिल २८ मा पक्राउ परेका उनी अहिले हिरासतमा छन् ।
फर्मका मालिकमाथि आत्महत्या दुरुत्साहन, कुटपिट, श्रम अधिकार हनन, तलब नदिई जबरजस्ती काम लगाउने जस्ता अभियोगहरू लगाइएका छन्। प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले आफ्नो फेसबुकमार्फत् पक्राउ परेका मालिक अदालतको फैसला नआउँदासम्म हिरासतमा रहने बताए । त्यसपछि फैसला अनुसार सजाय तोकिनेछ।
अनुसन्धानका क्रममा, उक्त मालिकले ९ जना प्रवासी मजदुरहरूलाई कुटपिट गरेको, तलब नदिई काममा लगाएको र करिब २५ करोड ९० लाख कोरियन वोन (झन्डै २ करोड ५० लाख नेपाली रूपैयाँ) बराबरको मजदुरी नदिएको खुलेको छ। यी तथ्य श्रम कार्यालयको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ ।
गत फेब्रुअरीमा म्याग्दीका २८ वर्षीय तुल्सी पुनले फर्ममा लगातार हुने दुर्व्यवहार सहन नसकी आत्महत्या गरेका थिए। घटनापछि, अन्य नेपाली मजदुरहरूले साहु र उनका सहयोगीहरूको दुर्व्यवहारको गोप्य भिडियो बनाएर सार्वजनिक गरेका थिए, जसको आधारमा प्रवासी मजदुर युनियनले तत्काल कारबाहीको माग गर्दै पहल लिएको थियो।
घटना सार्वजनिक भएपछि चौतर्फी रूपमा चासो र दबाब सिर्जना भएको थियो। विभिन्न संघसंस्था, मानवअधिकारकर्मी तथा प्रवासी समुदायले सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरेका थिए।