ब्याट्सम्यानको खुट्टा भासिने पिचदेखि ६१ बलमा सकिएको ज्यानमारा टेस्टसम्म

काठमाडौँ । क्रिकेटको सबैभन्दा लामो ढाँचा हो, टेस्ट । टेस्टलाई क्रिकेटको वास्तविक ढाँचा पनि भनिन्छ । टेस्ट क्रिकेटमा पाँच दिनसम्म चल्छ । भनिन्छ, टेस्ट क्रिकेटले खेलाडीको शारीरिक र मानसिक दुवै पक्षको गतिलो परीक्षा लिन्छ ।
क्रिकेटको सबैभन्दा पुरानो ढाँचा पनि टेस्ट नै हो । विश्वमा टेस्ट क्रिकेटको सुरुवात भएको एक सय ४८ वर्ष पुगिसकेको छ । विश्वमा पहिलो टेस्ट सन् १८७७ मा खेलिएको थियो । विश्व क्रिकेटमा अहिले पनि पाँच दिने प्रतियोगितामा महत्वका साथ हेरिन्छ ।
टेस्टलाई सबैभन्दा लामो ढाँचा भनिए पनि विश्व क्रिकेटमा एउटा यस्तो टेस्ट पनि खेलिएको थियो जुन १० बलमै सकिएको थियो । यसलाई टेस्ट क्रिकेटको इतिहासकै सबैभन्दा छोटो खेल पनि भनिन्छ । अर्को एउटा टेस्ट ६१ बलमै सकिएको थियो ।
यसैगरी, विश्व टेस्ट क्रिकेटको इतिहासमा यस्तो खेल पनि खेलिएको थियो, जसमा एउटा टोली केवल २६ रनमै अलआउट हुन पुगेको थियो । टेस्ट क्रिकेटसँग जोडिएका यस्तै केही रमाइला घटनाको विषयमा यहाँ चर्चा गरिएको छ ।
- पिचले हैरान पारेपछि १० बलमै सकिएको टेस्ट
सन् २००९ को फेब्रुअरी १३ तारिखमा वेस्ट इन्डिज र इङ्ल्यान्डबिच टेस्ट क्रिकेट खेलिएको थियो । त्यो खेल वेस्ट इन्डिजको सर भिभियन रिचर्डस स्टेडियममा खेलाइएको थियो । तर, पाँच दिनसम्म चल्ने भनिएको त्यो टेस्ट १० बलमै सकिएको थियो । खासमा, भिभियन रिचर्डस स्टेडियमको पिच भर्खरै तयार पारिएको थियो ।
उक्त पिचमा बलरले फालेको बल अनियन्त्रित तरिकाले यताउता गइरहेको थियो । पिच नयाँ भएकाले ब्याट्सम्यानको खुट्टा पनि जमिनमा भासिने गरेको थियो । सोही कारणले त्यो खेल १० दिनमै स्थगित गर्नु परेको थियो । अम्पायरले त्यो टेस्ट बराबरीमा सकिएको घोषणा गरेका थिए ।
- ६१ बलमा सकिएको ज्यानमारा टेस्ट
सन् १९९८ को जनवरीमा वेस्ट इन्डिज र इङ्ल्यान्डबिच टेस्ट खेलिएको थियो । त्यो टेस्ट पनि वेस्ट इन्डिजकै किङ्स्टनमा खेलिएको थियो । त्यो खेल पनि केवल ६१ बलमै सकिएको थियो । त्यो टेस्ट पनि खराब पिचकै कारण स्थगित गर्नु परेको थियो ।
खासमा, किङ्स्टनको पिचको अवस्था निकै खराब थियो । बलरले फालेको बल जमिनमा ठोक्किएर सिधै ब्याट्सम्यानहरूको शरिरको विभिन्न भागमा ठोक्किन पुग्थ्यो । इङ्ल्यान्डका ब्याट्सम्यानको शरीरभर चोटैचोट देखिन्थ्यो । सोही कारणले ब्याट्सम्यानहरूलाई घाइते हुनबाट जोगाउन ६१ बलमै टेस्ट स्थगित गरिएको थियो । अम्पयारले त्यो टेस्टलाई पनि बराबरीमा सकिएको घोषणा गरेका थिए ।
- न्युजिल्यान्ड २६ रनमै समेटिएको त्यो टेस्ट
सन् १९५५ को मार्च २५ तारिखमा अकल्यान्डमा न्युजिल्यान्ड र इङ्ल्यान्डबिच टेस्ट खेलिएको थियो । त्यो टेस्टमा न्युजिल्यान्डको टोली दोस्रो पालीमा केवल २६ रनमै अलआउट भएको थियो । टेस्ट क्रिकेटको इतिहासमा बनेको यो नै सबैभन्दा कम स्कोर हो ।
न्युजिल्यान्डका ब्याट्सम्यानहरू २७ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । न्युजिल्यान्डका ओपनर ब्याट्सम्यान बर्ट सटक्लिफ (११ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । किविज टोलीका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् ।
न्युजिल्यान्डले अतिरिक्त रूपमा समेत एक रन पनि पाएको थिएन । त्यो टेस्टमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक पाली र २० रनको फराकिलो अन्तरले हराएको थियो ।
- दक्षिण अफ्रिका दुईपटक लज्जित भएको टेस्ट
टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम स्कोर बनाउने टोलीको सूचिमा दोस्रो र तेस्रो स्थानमा दक्षिण अफ्रिकाको नाम आउँछ । दक्षिण अफ्रिका दुईपटक ३० रनमै अलआउट भएको छ । सन् १९२४ को जुन १४ तारिखमा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टमा दक्षिण अफ्रिका ३० रनमै अलआउट भएको थियो ।
त्यसअघि, सन् १८९६ को फेब्रुअरी १३ तारिखमा खेलिएको इङ्ल्यान्डविरुद्धकै टेस्टमा पनि दक्षिण अफ्रिकी टोली केवल ३० रनमा अलआउट भएको थियो । यसका अतिरिक्त टेस्ट क्रिकेटमा सबैभन्दा कम स्कोरमा अलआउट हुने टोलीको सूचिमा चौथो र पाँचौँ स्थानमा पनि दक्षिण अफ्रिका नै छ ।
- वेस्ट इन्डिज र न्युजिल्यान्डले इतिहास रचेको टेस्ट
टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम रनअन्तरले प्रतिद्वन्द्वीलाई हराउने टोलीको कीर्तिमान वेस्ट इन्डिज र न्युजिल्यान्डको नाममा रहेको छ । यी दुवै टोलीले एक–एकपटक आफ्ना प्रतिद्वन्द्वीलाई एक रनले हराएका छन् ।
सन् १९९३ को जनवरी २३ तारिखमा एडलेइडमा खेलिएको टेस्टमा वेस्ट इन्डिजले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई केवल एक रनले हराएको थियो । सन् २०२३ को फेब्रुअरी २४ तारिखमा वेलिङ्टनमा खेलिएको टेस्टमा भने न्युजिल्यान्डले इङ्ल्यान्डलाई एक रनले पराजित गरेको थियो । विश्व टेस्ट क्रिकेटको इतिहासमा हालसम्म दुईपटक मात्र एक रनले हार–जित भएको छ ।
- ब्याट्सम्यानहरू आउट हुन बिर्सिएको त्यो टेस्ट
विश्व टेस्ट क्रिकेटको इतिहासमा हालसम्म दुईवटा टोलीले मात्र एकै पालीमा नौ सयभन्दा बढी रन बनाएका छन् । यस्तो कीर्तिमान बनाउने राष्ट्र श्रीलंका र इङ्ल्यान्ड हुन् । यद्यपि, एकै पालीमा सर्वाधिक रन बनाउने टोलीको कीर्तिमान भने श्रीलंकाको नाममा छ ।
सन् १९९७ को अगस्त २ तारिखमा श्रीलंका र भारतबिच कोलम्बोमा पहिलो टेस्ट सुरु भएको थियो । त्यो टेस्टमा पहिले ब्याटिङ गरेको भारतले आठ विकेटको नोक्सानीमा पाँच सय ३७ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो ।
भारतका लागि नवजोत सिद्धुले एक सय ११, सचिन तेन्दुल्करले एक सय ४३, मोहम्मद अजहरुद्धिनले एक सय २६ र राहुल द्रविडले ६९ रन बनाएका थिए । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाका ब्याट्सम्यान पनि के कम ।
श्रीलंकाले पनि केवल ६ विकेटको नोक्सानीमा नौ सय ५२ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । श्रीलंकाका लागि सनथ जयसूर्याले तीन सय ४० रन, रोशन महानामाले दुई सय २५ रन, अरविन्दा डे सिल्भाले एक सय २६ रन, अर्जुन रणतुङ्गाले ८६ रन र माहेला जयाबर्द्धनेले ६६ रन बनाएका थिए । श्रीलंकाले पनि अतिरिक्त रूपमा ५८ रन पाएको थियो । लाग्थ्यो त्यो खेलमा ब्याट्सम्यानहरूले आउट हुन नै बिर्सिएका छन् ।
यसैगरी, सन् १९३८ को अगस्त २० तारिखमा इङ्ल्यान्ड र अस्ट्रेलियाबिच लन्डनमा पाँचौँ टेस्ट सुरु भएको थियो । त्यो टेस्टमा इङ्ल्यान्डले सात विकेट गुमाएर नौ सय तीन विकेट गुमाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो ।
इङ्ल्यान्डका लागि ओपनर ब्याट्सम्यान लियोनार्ड हटनले तीन सय ६४, माउरिस लेलन्डले अविजित एक सय ८७ र जोए हार्डस्टफले अविजित एक सय ६९ रन बनाएका थिए । त्यो खेलमा इङ्ल्यान्ड एक पाली र पाँच सय ७९ रनको विशाल अन्तरले विजयी भएको थियो । विश्व टेस्ट क्रिकेटको इतिहासमा त्यो हालसम्मकै सबैभन्दा ठुलो अन्तरको जित पनि हो ।
- यी हुन् थर्ड अम्पायरद्वारा आउट दिइने पहिलो ब्याट्सम्यान
टेस्ट क्रिकेटको इतिहासमा प्रविधिको प्रयोग भित्रिएसँगै थर्ड अम्पायरद्वारा आउट दिइने पहिलो ब्याट्सम्यान भारतका सचिन तेन्दुल्कर हुन् । सन् १९९२ मा खेलिएको भारत र दक्षिण अफ्रिकाबिच खेलिएको पहिलो टेस्टका क्रममा थर्ड अम्पायरले सचिनलाई आउट घोषित गरेको थियो ।
त्यो खेलमा टेलिभिजन अम्पायर कार्ल लिबेनबर्गले सचिन रन आउट भएको निर्णय सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक
-
सरकारसँग सहमति भएपछि रोकियो शिक्षकहरूको आन्दोलन
-
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, पत्रकार सम्मेलनमार्फत सार्वजनिक
-
अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन गाह्रो छ : देउवा
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव