प्रमुख तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?

विराटनगर । २००७ सालको क्रान्ति अगाडिदेखि नै विराटनगरले काठमाडौँ (केन्द्रीय नेतृत्व) विरुद्ध धावा बोल्थ्यो । त्यसवेला कृष्णप्रसाद कोइरालाले राणा शासनविरुद्ध चालेका कदमको अहिले पनि चर्चा हुन्छ ।
त्यसपछि भएका घटनाहरू जस्तैः कांग्रेस विद्रोह, मजदुर आन्दोलन, ३६ सालको जनमतसंग्रह, ४६ सालको जनआन्दोलन, २०६३/०६४ को जनआन्दोलन र मधेस आन्दोलनमा पनि विराटनगर चर्को सुनिएको थियो ।
प्रदेशको नाम कोशी राखेपछि भएको पहिचानको आन्दोलन पनि विराटनगरमा चर्किएकै थियो । एक हिसाबले भन्नुपर्दा विराटनगर सधैँजसो केन्द्र (संस्थापन)विरुद्ध रहयो ।
त्यही विराटनगरमा तीन पार्टी कांग्रेस, एमाले र माओवादीका स्थानीय कमिटीमा पनि विद्रोह भएको छ । एमालेमा गत वैशाख २ गते सम्पन्न निर्वाचनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समूहले प्यानल नै जित निकाल्यो । जसको अध्यक्ष थिए बलराम गिरी (नवीन) ।
त्यसको केही दिनपछि भएको माओवादीको निर्वाचनमा पनि अध्यक्ष प्रचण्ड समूह भनिएकालाई पराजित गर्दै देव राजवंशी (दिनेश)को नेतृत्वको समूह विजयी बन्यो । कांग्रेसमा २०७८ साल असोजमै भएको महानगर कमिटीको निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षको विरुद्धको टिमको नेतृत्व गर्दै दीपक चापागाईँ नेतृत्वको टिम विजयी भएको थियो ।
संस्थापन पक्षलाई टक्कर दिन कांग्रेसमा डाक्टर शेखर कोइरालाले नै नेतृत्व गरिरहेका छन् । यस्तै एमालेमा संस्थापनलाई टक्कर दिने गरी नेता विनोद ढकालले नेतृत्व गरे भने माओवादीको संस्थापन पक्षलाई टक्कर दिने गरी अहिले नेता शिवकुमार मण्डलले भूमिका खेलेको देखिन्छ । कांग्रेसमा गुटगत राजनीति भएको कुरा स्वीकार गरिरहेको भएपनि एमाले र माओवादी भने विजयी वा पराजय व्यहोरेको टिमलाई गुट वा समूह भन्न नहुने दाबी गर्छन् । ‘हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेका हौं । यहाँ संस्थापन र इतर पक्ष भन्ने नै छैन,’ एमाले नेता विनोद ढकाल भन्छन् ।
माओवादीका मोरङ इन्चार्ज कुशल लिम्बू पनि यहाँ संस्थापन र अर्को पक्ष नभएको र जसले जितेपनि प्रचण्डकै टिम हुने बताउँछन् । ‘यहाँ कुनै टिम छैन । प्रचण्डको नेतृत्वमा रहेकै टिमले जितेको हो । यो समूह वा त्यो समूह भन्नु जरुरी छैन,’ उनले भने । यद्यपि एमालेको इतर पक्षले जित्दा सो समूहले ठुलो सन्देश दिएको ठान्दै उत्सव नै मनाएको थियो । माओवादीमा पनि अहिले त्यस्तै उत्सव मनाएको सामाजिक सञ्जालका पोस्टहरूमा देखिन्छ । कांग्रेसमा भने अहिले पनि कोइराला गुटलाई नै मोरङमा सशक्त मानिन्छ ।
सुशासन र समृद्धि दिन नसकेको भन्दै केन्द्रमा मुख्यतया: तीन पार्टीका तीन नेताको आलोचना हुने गरेको छ । यद्यपि पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले आफूलाई तीन पार्टीको तीन नेताका विरुद्धमा षड्यन्त्र भएको भन्दै एउटै समूहमा आफूलाई राखेकोमा असन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।
तर, विराटनगरमा नेपाली कांग्रेस, एमाले र माओवादीको नगर समितिको निर्वाचनमा संस्थापन इतर पक्षले जित्नुलाई कतिपय विश्लेषकहरूले प्रतिरोधी सहरले गरेको व्यवहारको रूपमा पनि लिन्छन् ।
‘अघिदेखि नै संस्थापनको विरुद्धमा सधैँ अग्रपङ्क्तिमा विराटनगर थियो । विराटनगरले सामाजिक, सांस्कृतिक तथा राजनैतिक रूपमा पनि बेलाबेलामा यसरी नै उभ्याउँदै आएको छ । विराटनगरले २००३ सालको ऐतिहासिक मजदुर आन्दोलन, २०६३/६४ को वसन्त क्रान्ति, मधेस विद्रोहसँगै २०८०–८१ को पहिचानवादी आन्दोलनको केन्द्रीय भूगोलको रूपमा विराटनगरले आफूलाई स्थापित गरेको छ,’ विराटनगरका वामपन्थी विश्लेषक दिनेश श्रेष्ठ भन्छन्, ‘अहिले पनि मूल प्रवाहमा भएका दलहरू कांग्रेस, एमाले तथा माओवादीमा झाँगिँदै गएको नेता केन्द्रित एकाधिकारवाद तथा पार्टीभित्र आन्तरिक लोकतन्त्र माथि गरिँदै आएको निषेधको विरुद्धमा गरिएको सुविचारित विद्रोहको रूपमा यसपालिको महानगर कमिटीको चुनावलाई लिन सकिन्छ ।’ यस्ता आन्तरिक निर्वाचनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास निर्माण तथा प्रवर्द्धनमा मद्दत पुग्ने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको मुद्दा लगातार चौथो पेसीमा, घलेले महाधिवेशन गराउन सक्लान् ?
-
राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
-
आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँ : स्वास्थ्यमन्त्री पौडेल
-
सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन