मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो

काठमाडौँ । इजाजत प्राप्त मेनपावर कम्पनीले वार्षिक कम्तीमा १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यात्मक प्रावधान हटेको छ। वैदेशिक रोजगार ऐन संशोधन गर्ने क्रममा उक्त प्रावधान अन्य विभिन्न प्रावधान संशोधन भएर आएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ चैत १९ गते वैदेशिक रोजगार ऐन संशोधन गर्दै लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि श्रमिक पठाउन नसकेको इजाजतपत्र रद्द गरिने व्यवस्था गरिएको थियो । त्यसको विरुद्धमा मेनपावर व्यवसायीहरूले आन्दोलन गर्नुका साथै हटाउनुपर्ने भन्दै लबिङ गर्दै आएका थिए ।
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ बाट उक्त प्रावधान संशोधन गरिएको हो । प्रतिनिधिसभाबाट मंगलबार वैदेशिक रोजगार ऐनसहित विभिन्न ऐनलाई एकैपटक संशोधन गर्ने गरी बनेको विधेयक पारित भएको थियो ।
श्रम मन्त्रालयमार्फत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले २०८० वैशाख २६ गते केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० मा ‘वर्षमा कम्तीमा सय जना श्रमिक पठाउनै पर्ने प्रावधान हटाउने’ प्रस्ताव राखिएको थियो । सोही अनुसार प्रतिनिधिसभाले विधेयक पारित गरेको हो।
संशोधनका लागि श्रम मन्त्रालयले संसदीय समितिका पेस गरेको थियो। समितिले सर्वसम्मत रूपमा पारित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए। प्रतिनिधिसभाले पास गरेको विधेयकमा उक्त विषय समावेश छैन । तर, समितिबाटै सर्वसम्मत रूपमा पारित गरेकाले विधेयकमा समावेश नभएको उनको भनाइ छ।
त्योसँगै वैदेशिक रोजगार ऐनमा श्रमिकको छनोटका लागि राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्ने, ६ महिनासम्मको सीपमूलक तालिम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत गर्ने र पीडित श्रमिकको संख्याको आधारमा जनही ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने व्यवस्था संशोधन गरिएको छ । दफादार छलफल भएपछि पारित भएको विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ ।
श्रम मन्त्रालयले उक्त प्रावधान राखेयता लगातार ‘बाधा अड्काउ फुकाउने’ अनुसार सय जना श्रमिक पठाउन नसक्ने मेनपावरको नवीकरण गर्दै आएको थियो । गत आर्थिक वर्षमा पनि श्रम मन्त्रालयले बाधा अड्काउको अधिकार प्रयोग गर्दै अन्तिम पटकका लागि भन्दै २५८ वटा मेनपावरको इजाजत नवीकरण गरिदिएको थियो ।
ऐनको दफा १६ मा पूर्व स्वीकृति प्राप्त भएका इजाजतपत्रवालाले कामदार छनोटको लागि कम्तीमा सात दिनको अवधि दिई नेपाली भाषाको कुनै राष्टियस्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्नेछ भन्ने प्रावधान राखिएको छ । त्यसरी विज्ञापन प्रकाशनको लागि पठाएको सूचनाको एकप्रति विभागको वेबसाइटमा प्रकाशन गर्ने प्रयोजनको लागि सोही दिन विभागलाई उपलब्ध गराउनुपर्नेछ ।
त्यस्तै ऐनको दफा ३० मा रहेको प्रावधान समेत संशोधन गरिएको छ । दफा ३० को ६ महिनाभन्दा कम अवधिको भन्ने शब्दहरूको सट्टा ६ महिनासम्मको भन्ने शब्दहरू र सीप परीक्षण व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भन्ने शब्दहरूको सट्टा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान राखिएको छ ।
त्यस्तै दफा ५३ मा रहेको त्यस्तो इजाजतपत्रवालालाई त्यसरी वैदेशिक रोजगारीमा पठाएको कामदार संख्याको आधारमा जनही एक लाख रुपैयाँका दरले हुन आउने रकम जरिवाना भन्ने शब्दको सट्टा त्यस्तो इजाजतपत्रवालालाई त्यसरी वैदेशिक रोजगारमा पठाएको पीडित कामदार संख्याको आधारमा जनही ५० हजार रुपैयाँका दरले हुन आउने रकम जरिवाना भन्ने शब्द राखिएको छ । दफा ७३ को श्रम डेक्स राख्नेछ भन्ने शब्दहरूको सट्टा श्रम डेक्स राख्न सक्नेछ भन्ने शब्द राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसमा सहमतिमा स्ववियु गठन
-
रेशम पक्राउपछि महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले भन्यो - सर्वसत्तावादी हैकमवादको खुलेर विरोध गरौँ
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'