बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

सर्लाहीमा बढेन चैते धानको खेती

बुधबार, १७ वैशाख २०८२, ०५ : ५९
बुधबार, १७ वैशाख २०८२

सर्लाही ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कअनुसार सर्लाहीमा वार्षिक ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । जुन सम्भावनाको हिसाबले निकै कम हो । कार्यालयले गरेको अध्ययनअनुसार जिल्लामा छ सय ९१ हेक्टरमा चैते धानखेती गर्न सकिने सम्भावना छ । पाँच वर्ष परियोजनाअन्तर्गत किसानका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदासमेत खेती बढ्न नसकेको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत रामबलमप्रसाद साहले जानकारी दिए । 

अधिकांश समथर भूभाग रहेको जिल्ला कृषि उत्पादनको हिसाबले उपयुक्त ठाउँ मानिन्छ । धान, मकै, गहुँ, कोदो, जौ यहाँ उत्पादन हुने प्रमुख अन्नबाली हुन् । क्षेत्रफलको हिसाबले हेर्ने हो भने वर्षे धानखेती ४५ हजार नौ सय ५० हेक्टरमा हुँदै आएको छ भने प्रत्येक वर्ष एक लाख ६७ हजार दुई सय ५८ मेट्रिकटन  धान उत्पादन हुँदै आएको छ । 

यद्यपि, किसानहरू चैते धानखेतीमा भने आकर्षित हुन नसकेको परियोजना प्रमुख साहले बताए । चैते धानखेती बढाउने उद्देश्यसहित परियोजनाले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई धान जोन क्षेत्र घोषणा गरेको थियो । 

 २०७३ मा परियोजना सुरु हुनुअघि किसानलाई तालिम कृषि उपकरण, सिँचाइ उपकरणलगायतको सामग्री अनुदानमा उपलब्ध गराइएको थियो । कमान्ड क्षेत्रमा समेत खेती विस्तार हुन नसक्दा यहाँ चैते धानखेती नगन्य मात्रामा भइरहेको हो । 

कृषि ज्ञान केन्द्रका अनुसार हाल जिल्लाको ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर्वा, गोडैता र कबिलासी नगरपालिकामा गरी जम्मा ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती भइहेको छ । सबैभन्दा धेरै ईश्वरपुरमा २० र लालबन्दी र बरहथवा क्षेत्रमा १०/१० हेक्टर क्षेत्रमा चैते धानखेती हुँदै आएको छ । बाँकी पालिकाहरूमा ५, ३, २, हेक्टरमा खेती हुने गरेको तथ्याङ्क छ । 

चैते धानखेतीका लागि मुख्य समस्या सिँचाइ हुने गरको छ । सिँचाइ अभावकै कारण यहाँ चैते धानखेती बढ्न नसकेको स्थानीय किसानहरूले बताएका छन् । किसानले चैते धानको लागि याममा १३ पटकसम्म पानी पटाउनुपर्ने भएकाले समस्या भएको बताएका छन् । सिँचाइ पर्याप्त नहुँदा खेती गर्न समस्या भएको कबिलासी नगरपालिकास्थित सिर्सियाका किसान रामआधार रायको भनाइ छ । 

जिल्लाका अधिकांश किसानहरूले सुरुमा पम्पसेट र विद्युतीय मोटरको प्रयोग गरी सिँचाइ गरे पनि अहिले समस्या भइरहेको छ । उत्पादनका हिसाबले हेर्दा वर्खे धानको तुलनामा चैते धान धेरै फल्छ । वर्खे धान प्रतिहेक्टर ३.६४ मेट्रिकटन फल्छ भने चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.६६ मेट्रिकटन रहेको छ । यसबाट पनि किसानले लाभ लिन सक्ने देखिए पनि सिँचाइको अभावले लाभ लिन नसकिएको उनीहरुको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप