बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित

बुधबार, १७ वैशाख २०८२, ०४ : ४६
बुधबार, १७ वैशाख २०८२

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको राजधानीमा सम्पन्न छैटौँ साधारणसभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । 

समितिको उपाध्यक्षमा भागवत सिम्खडा, सचिवमा भरतप्रसाद तिमल्सिना, उपसचिवमा अमित वस्ती, कोषाध्यक्षमा राजु थपलिया निर्बिरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक डिल्लीराम सुवेदीले बताए । यसैगरी सङ्घको सदस्यमा ऋषिराज उपाध्याय, उपदेश कुँवर, सुनिता भट्टराई र विदित श्रेष्ठ निर्वाचित भए ।  

साधारणसभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथ, बौद्ध धर्मावलम्बीका लागि गौतम बुद्ध जन्मिएको स्थल लुम्बिनी र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशले राम्रो प्रचार–प्रसार एवं व्यवस्थापन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने भएकाले त्यसैअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

पाँच दशकअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र थाइल्याण्डको राजधानी बैङ्ककको विमानस्थल उस्तै भए पनि अहिले बैङ्ककको विमानस्थल पर्यटक आगमनकै कारण विस्तार भएर विश्वकै ठूलामध्येमा पर्ने बताउँदै उनले पर्यटक भित्र्याउन विमानस्थलको क्षमता पनि विस्तार गरिनुपर्ने बताए ।  

नेपाल पर्यटन बोर्डकी निर्देशक रोहिणी खनालले नेपाललाई अन्तरराष्ट्रियस्तरमा प्रमुख गन्तव्य स्थलका रुपमा विकास गराउने उद्देश्यले बोर्ड स्थापना गरी लक्ष्य हासिल गर्न काम भइरहेको बताईन् ।

धर्म, संस्कृति अध्ययन सङ्घ नेपालका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय इतिहास, पुरातत्व तथा संस्कृति केन्द्रीय विभागका पूर्वप्रमुख प्राध्यापक सोमप्रसाद खतिवडाले लुम्बिनी आउने पर्यटक काठमाडौँ नआउने गरेको र कपिलवस्तुमा लैजान भद्रगोल अवस्था रहेकाले सुधार गर्न सरोकार भएका निकायको ध्यानाकर्षण गराए। 

टे«किङ एजेन्सी एसोसियसन अफ नेपालका अध्यक्ष सागर पाण्डेले उद्यम गर्न सहज वातावरणका लागि सबै एक हुनुपर्ने बताए । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डेले मानसरोवर यात्रामा सहजीकरण भएको बताए ।  

सङ्घका नवनिर्वाचित अध्यक्ष सिग्देलले पनौती, हेलम्बु, चन्द्रागिरी, नुवाकोटलगायत स्थल क्षेत्रमा धार्मिक एवं सांस्कृतिक अनुसन्धान गरिएको बताउँदै अब त्यस आधारमा गतिविधि सञ्चालन गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप