बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म

मङ्गलबार, १६ वैशाख २०८२, २३ : ५३
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
 सरकार र आन्दोलनरत शिक्षकहरुबिच भएको वार्ता निष्कर्षविहीन भएको छ । मंगलबार रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो । वार्ता सकिएपछि शिक्षामन्त्री रघुजी पन्तले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएपनि थप बोलेनन् । उनले भने, ‘हामी शिक्षकहरुसँग वार्तामा छौँ । त्यो वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’ 

२. जथाभावी खनिएका सडक
अध्ययन नै नगरी जथाभाबी सडक खन्दा कर्णालीमा दुर्घटनाहरू बढ्न थालेपछि कर्णाली सरकारले सडकसम्बन्धी गुरुयोजना बनाएको छ । सडक आयोजनाहरूलाई वैज्ञानिक र वस्तुगत बनाउन प्रदेश सरकारले ‘प्रादेशिक सडक सञ्जाल गुरुयोजना’ बनाएको हो । जसको उद्देश्य व्यवस्थित सडक विकास र दुर्घटना न्यूनीकरण रहेको छ । 

३. असन्तुष्टिमा खेल्ने योजना
जनस्तरमा बढ्दै गएको असन्तुष्टिलाई राजनीतीकरण गरी माहोल आफ्नो पक्षमा पार्ने पूर्वराजा ज्ञानेन्द्र शाह र विपक्षी दलहरूको छुट्टाछुट्टै प्रयास असफल भएको छ । गणतान्त्रिक शासकहरूको कार्यशैली, शासन पद्धतिलाई लिएर पछिल्लो समय नागरिकस्तरमा परम्परागत दलमाथि मात्र नभई व्यवस्थामाथि नै राजावादीहरूबाट प्रहार हुन थालेको थियो ।

४. ४० बुँदे माग
२०५२ सालमा जनयुद्ध थाल्नुअघि नेकपा (माओवादी)ले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार समक्ष ४० बुँदे माग राखेको थियो । पार्टीको खुला मोर्चा संयुक्त जनमोर्चा नेपालका संयोजक डा। बाबुराम भट्टराईले २०५२ माघ २२ गते प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर सरकारसमक्ष आफ्ना माग पेस गरेका थिए ।

५. डिजिटल हिंसा 
अभिनेत्री सुरक्षा पन्त अहिले डिजिटल हिंसा (दुव्र्यवहार)मा परेकी छन् । सामाजिक सञ्जालमा उनको विभिन्न टिकाटिप्पणी भइरहेको छ । टिप्पणीमा उनी प्रति घृणा र आवेगका नकारात्मक अभिव्यक्ति देख्न सकिन्छ । 

६. सगरमाथा संवाद
जेठ २ गतेदेखि तीन दिनसम्म चल्ने सगरमाथा संवादमा प्रमुख अतिथि कसलाई बनाउने भन्नेबारे छलफल भइरहेको छ । सगरमाथा संवादका लागि ५० भन्दा बढी देशका करिब ३०० पाहुनालाई निमन्त्रणा गरिसकेको छ । त्यसमध्ये अधिकांशले आउने सुनिश्चित गरिसकेका छन् भने बाँकीको पनि सुनिश्चितता हुने क्रम जारी छ । 

७. संसद् बैठक
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराएका हुन् । 

८. कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कजरिया रमेश टायल्सलाई दुई लाख ८५ हजार रुपैयाँ जरिवाना गरेको छ । मंगलबार अनुगमनमा गएको विभागको टोलीले वस्तुको रिलेबलिङ गरेको तथा बिलबिजक जारी नगरेको पाइएपछि काठमाडौँ २३ स्थित उक्त टायल्सलाई जरिवाना गरी कारोबार रोक्का गरेको हो । 

९. चलचित्र विधेयक
सरकारले चलचित्र विधेयक राष्ट्रिय सभामा दर्ता गराएसँगै   फिल्मकर्मीहरूले आपत्ति जनाएका छन् । आफूहरूले प्रस्ताव गरेको विधेयकको मस्यौदा बेवास्ता गर्दै सरकारले आफूखुसी विधेयक ल्याउन लागेको उनीहरूको आरोप छ ।

१०. क्रियाशील सदस्यता
नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको लागि मातहतका समितिलाई वैशाख मसान्तसम्मको समय दिएको छ । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले वैशाख मसान्तसम्मको समय दिएको समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । 

११. पोखरा विमानस्थल प्रतिवेदन
सोमबार प्रतिनिधिसभा लेखा समितिअन्तर्गत पोखरा एयरपोर्टमा भएको अनियमितता छानबिन उपसमितिले प्रतिवेदन बुझायो । उपसमिति संयोजक राजेन्द्र लिङ्देनले समिति सभापति ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् । उक्त प्रतिवेदनले विमानस्थल निर्माणसम्बन्धी ठेक्का प्रक्रियाको प्रारम्भिक चरणमै भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । 

१२. पाकिस्तानका रक्षामन्त्रीको एक्स खाता भारतमा ब्लक
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको एक्स खाता मंगलबार भारतमा ब्लक गरिएको छ ।  पहलगाममा भएको हमलापछि भारत सरकारले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको थियो । योसँगै भारतले अटारी सीमा बन्द गरेको छ भने पाकिस्तानलाई दिएको भिसा सम्बन्धी सुविधा पनि बन्द गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप