बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’

मङ्गलबार, १६ वैशाख २०८२, २० : ५४
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । 

ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ले कन्सर्ट गरेको थियो ।आर्टमाण्डू प्रा.लिको ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको यथार्थवादी सामाजिक कथानक चलचित्र हो ।

निर्देशक नवीन चौहानले चलचित्रको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए । उनले चलचित्र बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यो सपना अब सयौँ जनाको बनेको बताए ।

’मैले एउटा सिनेमाको संसार बनाउने प्रयास गरेको हुँ । सुरुमा म एक्लैले देखेको सपना अब सयौँ जनाको भएको छ,चौहानले भने । चलचित्रमा मुख्य भूमिका निभाएका अभिनेता विपिन कार्कीले पाँचथरको यात्रालाई स्मरण गर्दै सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिए । 

उनले आर्टमान्डूका गीतहरू जस्तै यो चलचित्र पनि उत्कृष्ट बनेकोले दर्शकको मन जित्ने कुरामा विश्वास गर्न अनुरोध गरे । अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेको बताइन् । उनले यो चलचित्र हेरेपछि आर्टमान्डूले सुरुवात गरेको चलचित्रको बेग्लै संसारमा पुगिने जनाइन् ।

कलाकार भावना खपाङ्गी मगरले आफू फिल्मका रङ्गीचङ्गी धागोहरूमध्ये एक धागो भएको महसुस गरेको बताइन् । कलाकार परीक्षा लिम्बूले एक वर्षपछि फेरि चलचित्रको प्रचारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निर्देशक चौहानको क्यानभासमा काम गर्न पाउनु आफूका लागि भाग्यको कुरा भएको बताइन् । 

चलचित्रमा गीत निर्देशक रहेका सुजन चापागाईँले लामो यात्राको क्रममा दुःख र सुखसँगै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै दर्शकको माया पाएको गीत जस्तै चलचित्रलाई पनि माया गरिदिन आग्रह गरे । 

’ऊनको स्वीटर’मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावनासँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय छ ।

सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप