बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भट्टराईको भारत भ्रमण

नेपालको व्यवस्था परिवर्तनको पक्षमा भारत छैन : डा‍. बाबुराम भट्टराई

मङ्गलबार, १६ वैशाख २०८२, १९ : ५६
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको व्यवस्था उल्ट्याउने पक्षमा भारत सरकार नरहेको बताएका छन् । 

भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री डा.भट्टराईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । 

पूर्वप्रधानमन्त्री डा.भट्टराईले भारतमा नागरिकस्तरमै पनि नेपालमा व्यवस्था उल्टिनेबारेमा चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरु त्यस पक्षमा नरहेको उल्लेख गरे । उनले नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा सन्तुष्टि मिलेको बताए । 

उनले भने,‘भारतमै जनस्तरमै चासो भएको विषय के रहेछ भने जुन विभिन्न प्रकृतिका आन्दोलन भइरहेका छन्, त्यो कतै व्यवस्थाकै बिरुद्धको हो की भन्ने रहेछ । केही व्यक्तिहरु त्यसमा लागेको हुनसक्छ । तर भारत सरकार आफैँ र त्यहाँको मुख्य शक्तिहरु यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरुलाई उक्साउने पक्षमा छैनन् । उनीहरुबाट त्यस्तो कुरा नै आयो । हामीलाई अनावश्यक ढंगले भ्रम छरेर प्रतिगामी शक्तिहरु त आज नै आइहाल्ने हो की, भोलि नै आइहाल्ने हो की भन्नेकुरा सत्य होइन ।’

पूर्वप्रधानमन्त्री डा.भट्टराईले भारत सरकार नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले काम गर्न नसकेको निष्कर्षमा पुगेकाले नयाँ विधि अपनाउनुपर्ने देखिएको बताए । 

उनले नयाँ विधिबाट नेपाल र भारतबीचका समस्याहरु समाधान गर्न भारत पनि सकारात्मक रहेको नेताहरुसँगको भेटका क्रममा आफूले जानकारी पाएको बताए । 

पूर्वप्रधानमन्त्री डा.भट्टराईले नेपाल र भारतबीच बाँकी रहेका समस्यालाई संवादका माध्यमबाट नै समाधान गर्न उचित हुने बताए । इपिजीको ठाउँमा नयाँ विधि अपनाएर दुई देशका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीस्तरीय वार्ता हुनुपर्ने आवश्यकता महशुस गरेको उनको भनाइ छ । 

‘नेपाल—भारत सम्बन्धको जुन ऐतिहासिकता छ, त्यसलाई हामीले कुनैपछि ढंगले अल्झिएर समय खेर फाल्नु हुँदैन । बाँकी रहेका समस्यालाई वार्ता, संवादबाटै हल गरेर जानुपर्छ,' पूर्वप्रधानमन्त्री डा.भट्टराईले भने 'त्यसका निम्ति इपिजी नै सबैभन्दा राम्रो उपाय थियो । तर त्यो विषयमा बुझ्दा के देखियो भने इपिजीले काम गर्न सकेन भन्नेकुरा त्यहाँको उच्च तहसम्म करिव करिव निर्णय जस्तै भइसकेको रहेछ । इपिजी स्वीकार्य नभएको अवस्थामा त्यसमा किचलो गर्नुको सट्टा अर्को विधि खोज्नुपर्छ भन्ने कुरा आयो ।'

पूर्वप्रधानमन्त्री डा.भट्टराईले भने 'इपिजीले काम नगर्ने नै हो भने प्रधानमन्त्री तहमै वार्ता र संवाद हुनुपर्छ भन्ने कुरा गरेको छु । दुवै तर्फबाट एउटा वातावरण बनाउनु पर्छ । यसलाई गिजोलेर फाइदा हुँदैन । नेपालको अर्थतन्त्रमा परेका असरका विषयहरु, खुला सीमानाले पारेका समस्याका कुराहरु छन्, त्यसमा समाधान दिनुपर्छ ।’

पूर्वप्रधानमन्त्री डा.भट्टराईले छिमेकीहरुसँग ठिक ढंगले सम्बन्ध राखेर अघि बढ्ने हो भने कागले कान लग्यो भन्दैमा कागको पछि दौडिन जरुरी नरहेको बताए । 

प्रतिगामी शक्तिहरुले वितण्डा मच्चाए भन्दैमा फेरि निराश हुनुपर्ने अवस्था नरहेको र आत्मबल बढाएर संघीय लोकतान्त्रिक गणतन्त्र बचाउँदै अघि बढ्नु नै श्रेयस्कर हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप