कला र संगीतलाई एआईसँग जोडेर प्रविधिमैत्री पाठ्यक्रम बनाइँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँग मिलेर प्रविधिमैत्री संगीतसम्बन्धी पाठ्यक्रम बनाउने भएको छ । कला र संगीतलाई समेत प्रविधिमैत्री बनाउन भन्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग जोडेर पाठ्यक्रम बनाउन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यकारी निर्देशक विनोद जोशीले एआई प्रविधिलाई संगीतमा जोड्न खोजिएको बताए । त्यसले कला, साहित्य र संगीत क्षेत्रमा नयाँ आयाम थपिने बताए ।
‘संसारभर आईटीको प्रभाव बढ्दो छ । त्यसलाई संगीत क्षेत्रमा समेत प्रयोग गरेर प्राज्ञिक रूपमा सिर्जना गर्न सकिन्छ भन्ने हाम्रो प्रयत्न हो,’ जोशीले भने ।
त्यसका लागि त्रिविका ललितकला केन्द्रीय विभाग, पत्रकारिता तथा आम सञ्चार विभाग लगायतका विभागसँग मिलेर पाठ्यक्रम बनाउन लागिएको हो ।
एआई र संगीत (मनोरञ्जन) कलाको भविष्यलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा गत शनिवार कार्यक्रम भएको थियो । जरसिंहपौवामा आयोजित पिकनिक कार्यक्रममा संगीतको क्षेत्रमा नयाँ आयाम दिने, प्राज्ञिक रूपमा नयाँ पाठ्यक्रम बनाउने विषयमा छलफल आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू, अधिकारीहरू, केसीजीआईका प्रोफोसरहरू कला संगीत, आईटी तथा पत्रकारिता तथा आमसञ्चार अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यकारी निर्देशक जोशीले उक्त पाठ्यक्रम निर्माणमा विभिन्न देशका प्राध्यापकहरू संलग्न रहेको बताए ।
‘आईटी र आर्टलाई एआईसँग जोड्न सकिन्छ । संगीत र कलाको क्षेत्रमा समेत एआईलाई प्रयोग गर्न सकिन्छ । हाम्रो परम्परागत ढंगबाट चलिरहेको पाठ्यक्रमलाई एआईसँग जोड्न सकियो भने विश्वमा नयाँ ढंगको पाठ्यक्रम निर्माण गर्न सकिन्छ,’ जोशीले भने ।
थुप्रै विश्वविद्यालयहरू मिलेर यो कार्यक्रमलाई अगाडि बढाउन सकिने उनको भनाइ छ ।
काम गर्दै जाँदा देखिने चुनौतीहरूको सामना गर्न प्रविधि क्षेत्रका विद्यार्थीहरूलाई जोडेको र उनीहरूले सहयोग गर्ने बताए ।
त्रिभुवन विश्वविद्यालयमा आईटी पढ्दै गएका विद्यार्थीहरूलाई यो कार्यक्रममा समावेश गरिएको छ । प्राविधिक क्षेत्रमा पढ्दै जाने भएकाले त्यसमा हुने कमीकमजोरी उनीहरूले नै पत्ता लगाउने विश्वास लिइएको छ ।
नेपालमा आईटीलाई प्रविधिको क्षेत्रमा मात्र नभई संगीतको क्षेत्रमा प्रयोग गर्न सकिन्छ भनेर एआईलाई संगीतसँग जोड्न लागिएको उनको भनाइ छ ।
यसका लागि जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्सको प्रोफोसर आनन्द नेपालको प्रमुख भूमिका रहेको छ । यो पाठ्यक्रम समेत केसीजीसँग नै मिलेर बनाउन लागिएको हो ।
बिस्तारै अन्य विश्वविद्यालयलाई समेत समावेश गर्न सकिने उनको भनाइ छ । यसमा पश्चिममा संगीत, नेपाली संगीत तथा अन्य देशका संगीतलाई मिलाउँदै जाने भन्ने छ ।
संगीतको ज्ञान दिने क्रममा प्रविधिको समेत प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्य रहेको बताउँदै उनले भने, ‘संगीत देशको सीमाभित्र रहने विषय होइन । संगीत भनेको संसारभरी सबैका लागि सबैले बुझ्ने सामान्य भाषा हो । त्यसकारण यसमा आईटीलाई समेटेर नयाँ किसिमको संगीत र कलाको क्षेत्रलाई अगाडि बढाउन खोजेका हौँ ।’
केसीजीआईका प्रोफेसर नेपालले कलालाई प्रविधिसँग जोड्न खोजिएको बताए । त्यसका लागि त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्न लागेको उनको भनाइ छ ।
नेपाली कला संगीत संस्कृतिलाई विश्व बजारमा पाठ्यक्रमको रूपमा विकास गर्ने उद्देश्य रहेको नेपालले बताए ।
‘नेपाली विद्यार्थीहरू मेरो कलेजमा धेरै पढ्छन् । ती विद्यार्थीहरू ननआईटी फिल्डबाट जानुपर्ने भएकाले आईटीमा पनि इन्टरटेन्टमेन्टको फिल्डमा गएर भविष्य बनाउन सकिन्छ भन्ने उदाहरण दिन खोजेका छौँ । त्यसका लागि त्रिविसँग सहकार्य गर्न खोजेका हौँ,’ प्रोफेसर नेपालले भने ।
आईटी विना कुनै विषयवस्तु जोड्न नसकिने बताउँदै आईटीबिनाको कुनै पनि इन्डिस्ट्रीको कल्पना पनि गर्न नसकिने बताए । अहिलेको जेड जेनेरेशनमा एआई तथा डाटाको जेनेरेशन रहेको बताउँदै यसले हरेक कामलाई डिजिटलाइजेशन गर्ने बताए । आईटीसँग संगीतलाई जोडेर पाठ्यक्रम बनाउन लागिएको उनको भनाइ छ ।
‘जसले गर्दा एउटा मादल बजाउने मान्छेले मात्रै पनि इन्डस्ट्री रन गर्न सक्छ । प्राज्ञिक र पाठ्यक्रमको माध्यमबाट नेपाली कला, संगीतलाई विश्व बजारमा चिनाउन सकिन्छ,’ प्रोफेसर नेपालले भने ।
त्रिविमा मास्टर डिग्री यो पाठ्यक्रम पढाई हुनेछ । जसमा नन आईटीका विद्यार्थीले समेत संगीतसँगै आईटी समेत पढ्न पाउने छन् । आईटी नपढेकोलाई म्युजिक पढ्दा आईटीमा जोडिन सजिलो होस् भनेर यस्तो पाठ्यक्रम बनाउन लागिएको बताए ।
द कोतो कलेज अफ ग्रेजुएट स्टडी फर इन्फरमेटिक्स (केसीजीआई) की प्रोफेसर निन्जा मेल्सले केसीजीआई र त्रिभुवन विश्वविद्यालयबिच जोडिएर कार्यक्रम गर्न लागिएको बताइन् । यसले संगीत पढ्ने विद्यार्थीहरूलाई आईटीसँग जोड्न सहयोग हुने उनको भनाइ छ । नेपाली विद्यार्थीहरूले अहिलेपनि जापानमा आफ्नो क्लास लिइरहेको बताइन । उनीहरूलाई जापानको कल्चरबारे थाहा भएको तर, जापानका विद्यार्थीलाई नेपाली कला साहित्य तथा संगीतबारे धेरै ज्ञान नभएको बताइ । अहिलेको नयाँ पाठ्यक्रमले नेपालको कला साहित्यबारे समेत पढ्न पाउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?