मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय
मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट

कोशी प्रदेशसँग हार्‍यो बलियो विभागीय टोली पुलिस क्लब

मङ्गलबार, १६ वैशाख २०८२, १५ : ०५
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा मङ्गलबार कोशी प्रदेशले महत्त्वपूर्ण जित हात पारेको छ ।

कोशी प्रदेशले बलियो विभागीय टोली नेपाल पुलिस क्लबलाई ३७ रनले हरायो । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानआम सम्पन्न समूह ’बी’ अन्तर्गतको पहिलो खेलमा कोशी प्रदेशले दिएको ९४ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले २४.५ ओभरमै अलआउट हुनुअघि ५६ रन मात्र बनाउन सक्यो । 

पुलिस क्लबका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिस क्लबका लागि अविनाश कर्णले नौ, अमित श्रेष्ठले नौ, रोहन बिकले ६ र शङ्कर रानाले पाँच रन बनाए । कोशीका बलर प्रेम कामत एक्लैले पाँच विकेट लिए । 

प्रेमले नौ ओभरमा तीन मेडन राख्दै केवल १५ रन खर्चिएका थिए । देब्रे हाते स्पिनर प्रेमको यो ‘डेब्यू’ खेल थियो । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । अर्का देब्रे हाते स्पिनर प्रकाश कार्कीले पनि तीन विकेट लिए । भुपाल लुइँटेलले पनि एक विकेट हात पारे । 

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले २९.३ ओभरमा अलआउट हुनुअघि ९३ रन मात्र बनाउन सकेको थियो । कोशीका लागि ओपनर ब्याट्सम्यान रूपक बरालले सर्वाधिक २१ रन बनाए । मिनाश थापा र सुमन गहतराजले पनि १५–१५ रन जोडेका थिए । 

पुलिस क्लबका तीव्र गतिका बलर सुनिल दौल्यालले पाँच विकेट लिए । उनले आठ ओभरमा २५ रन खर्चिए । बिपिन खत्री र चित्र बिस्टले समान दुई–दुई विकेट हात पारे । समूह ’बी’ दोस्रो खेलमा बुधबार कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिमबिच खेलिने छ । 

बुधबारको खेलमा आसामलाई पराजित गरेमा कोशी फाइनलमा प्रवेश गर्नेछ । आसामले कोशीलाई पराजित गरेको अवस्थामा भने बिहीबार आसाम र पुलिस क्लबबिच हुने खेलले फाइनल पुग्ने टोलीको टुङ्गो लगाउने छ । 

समूह ’ए’ को विजेताका रूपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् । प्रतियोगिताको विजेता टोलीले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । 

उपविजेता टोलीलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

प्रत्येक खेलको प्लेयर अफ दि म्याचले पनि चार हजार रुपैयाँ पुरस्कार पाउने छ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप