आईपीएलमा शतक बनाउने चार र अन्तिम समयमा अभागी बनेका यी पाँच ब्याट्सम्यान

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आधाभन्दा बढी खेल सकिएको छ । जारी आईपीएलमा खेलिने कुल ७४ मध्ये ४७ खेल सकिएको छ । अब २७ खेल खेलिने बाँकी छ ।
आधाभन्दा बढी खेल सकिँदासम्म केवल चार ब्याट्सम्यानले शतक बनाउन सकेका छन् । पहिलो शतक दोस्रो खेलमै बनेको थियो । पहिलो शतक बनाउने खेलाडी सनराइजर्स हैदराबादका ईशान किशन हुन् ।
ईशान किशनले राजस्थान रोयल्सविरुद्धको खेलमा अविजित एक सय ६ रन बनाएका थिए । यस क्रममा उनले केवल ४७ बलको सामना गरी ६ छक्का र ११ वटा चौका पनि प्रहार गरेका थिए । उक्त खेलमा हैदराबाद ४४ रनले विजयी भएको थियो ।
जारी आईपीएलको दोस्रो शतक भने २२औँ खेलमा बनेको थियो । चेन्नई सुपर किङ्सविरुद्धको उक्त खेलमा पञ्जाब किङ्सका प्रियांश आर्याले शतक बनाएका थिए । त्यो खेलमा प्रियांशले एक सय तीन रन बनाएका थिए ।
ओपनर ब्याट्सम्यान प्रियांशले केवल ४२ बलको सामना गरी नौ छक्का र सात वटा चौका पनि हिर्काएका थिए । त्यो खेलमा पञ्जाब किङ्स १८ रनले विजयी भएको थियो ।
यसैगरी, जारी आईपीएलको तेस्रो शतक २७औँ खेलमा बनेको थियो । पञ्जाब किङ्सविरुद्धको उक्त खेलमा सनराइजर्स हैदराबादका ब्याट्सम्यान अभिषेक शर्माले शतक बनाएका थिए । उनले एक सय ४१ रन बनाएका थिए ।
ओपनर ब्याट्सम्यान अभिषेकले केवल ५५ बलको सामना गरी १० छक्का र १४ वटा चौका पनि हिर्काएका थिए । जारी आईपीएलमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो उच्च एकल स्कोर पनि हो । उक्त खेलमा हैदराबाद आठ विकेटले विजयी भएको थियो ।
यसैगरी, आईपीएलको १८औँ संस्करणमा चौथो शतक भने ४७औँ खेलमा बनेको थियो । गुजरात टाइटन्सविरुद्धको उक्त खेलमा राजस्थान रोयल्सका बैभव सूर्यवंशीले शतक बनाएका हुन् । त्यो खेलमा ओपनर ब्याट्सम्यान बैभवले एक सय एक रन बनाएका थिए ।
१४ वर्षीय वैभवले केवल ३८ बलको सामना गरी ११ छक्का र सात वटा चौका हिर्काएका थिए । उनी आईपीएलमात्र होइन, टी–२० क्रिकेटको इतिहासमा समेत शतक प्रहार गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । उक्त खेलमा राजस्थान आठ विकेटले विजयी भएको थियो ।
जारी आईपीएलमा पाँचजना ब्याट्सम्यान भने ९० वा त्योभन्दा बढी रन बनाएर पनि शतक पूरा गर्नबाट चुकेका छन् । ती पाँच अभागी ब्याट्सम्यानमध्ये चार जना त अन्तिम समयसम्म अविजित रहेका थिए ।
गुजरात टाइटन्सविरुद्धको खेलमा पञ्जाब किङ्सका कप्तान श्रेयष ऐयरले अविजित ९७ रन बनाए । यस क्रममा उनले ४२ बलको सामना गरी नौ छक्का र पाँच चौका हिर्काए । तर, ओभर सकिएकाले केवल तीन रनका कारण उनी शतक पूरा गर्नबाट चुके ।
यसैगरी, राजस्थान रोयल्सविरुद्धको खेलमा कोलकाता नाइट राइडर्सका ओपनर ब्याट्सम्यान क्विन्टन डी काक पनि अभागी बने । त्यो खेलमा उनी ९७ रनमा अविजित रहे । उनले ६१ बलमा ६ छक्का र आठ चौका हिर्काएका थिए । तर, टोलीले विजयलक्ष्य पूरा गरेकाले उनी शतक बनाउनबाट चुकेका थिए ।
यसैगरी, दिल्ली क्यापिटल्सविरुद्धको खेलमा गुजरात टाइटन्सका जस बटलर पनि केवल तीन रनका कारण शतक पूरा गर्नबाट चुके । तेस्रो नम्बरका क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान बटलरले अविजित ९७ रन बनाए ।
यस क्रममा उनले केवल ५४ बलको सामना गरी चार छक्का र ११ वटा चौका हिर्काएका थिए । तर, १९.२ ओभरमै गुजरातले विजयलक्ष्य पार गरेकाले बटलर केवल तीन रनका कारण शतक पूरा गर्नबाट चुकेका थिए ।
यसैगरी, रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेलमा दिल्ली क्यापिटल्सका केएल राहुल पनि केवल सात रनका कारण शतक पूरा गर्नबाट चुके । चौथो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान केएल राहुलले अविजित ९३ रन बनाएका थिए ।
यस क्रममा उनले केवल ५३ बलको सामना गरी ६ छक्का र सात वटा चौका हिर्काएका थिए । तर, बेंगलुरुले दिएको एक सय ६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमै पूरा गरेकाले उनी शतक बनाउनबाट चुकेका थिए ।
कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा गुजरात टाइटन्सका कप्तान एवम् ओपनर ब्याट्सम्यान शुभमन गिल पनि केवल १० रनका कारण शतक पूरा गर्नबाट चुकेका थिए । उनी केवल ५५ बलमा तीन छक्का र १० चौकाको मद्दतले ९० रन बनाउँदै आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर