बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सगरमाथा संवाद

सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम  ?

मङ्गलबार, १६ वैशाख २०८२, १५ : ००
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । जेठ २ गतेदेखि तीन दिनसम्म चल्ने सगरमाथा संवादमा प्रमुख अतिथि कसलाई बनाउने भन्नेबारे छलफल भइरहेको छ ।

सगरमाथा संवादका लागि ५० भन्दा बढी देशका करिब ३०० पाहुनालाई निमन्त्रणा गरिसकेको छ । त्यसमध्ये अधिकांशले आउने सुनिश्चित गरिसकेका छन् भने बाँकीको पनि सुनिश्चितता हुने क्रम जारी छ । 

जेठ २ गते सोल्टीमा होटलमा साढे नौ बजे कार्यक्रम उद्घाटन हुनेछ । कार्यक्रमको उद्घाटन कसले गर्ने भन्ने सुनिश्चित भएको छैन । सगरमाथा संवाद कार्यक्रमको प्रमुख अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बनाउने तयारी भए पनि उनी नआउने भएपछि अब कसलाई प्रमुख अतिथि बनाउने भन्नेबारे छलफल भइरहेको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं सगरमाथा संवाद सचिवालयका सदस्य लोकबहादुर पौडेल क्षेत्रीले प्रमुख अतिथिको टुङ्गो नलागेको बताए । उनले भने, ‘यसका लागि छलफल चलिरहेको छ । चीन, भारतलगायत विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीलाई निम्ता गरिएको छ, आउने सुनिश्चित भएपछि प्रमुख अतिथिबारे टुङ्गो लगाउँछौँ ।’

पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ सगरमाथा संवादको मुख्य विषय रहने छ । यसका लागि पाँच वटा थिममा १२ वटा सेसन र तीन वटा प्लेनरी सेसन दुई दिनसम्म सञ्चालन हुनेछन् । 

494715045_993510906294028_5321666486923692569_n

पहिलो दिन ‘पर्वतभन्दा पर ः पर्वतलाई महासागर जोड्दै’ थिममा रहेर चार वटा सेसन सञ्चालन हुनेछ । हिमनदीहरू संरक्षणको जरुरी, उच्च पहाडी भूभागलाई टापुहरूसँग जोड्दै, खाद्य सुरक्षा र जलवायु अनुकूल कृषि, हिमालमा समुदायको नेतृत्वमा जलवायु सुधारका पहलहरू विषयमा सेसन चल्नेछन् ।

दोस्रो दिन अर्थात् जेठ ३ गते दोस्रो थिम ‘ग्रीन इकोनोमीमा सशक्त भविष्य: स्वच्छ ऊर्जाको उपयोग र पर्वतको प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा सेसन सञ्चालन हुनेछ । हानि नोक्सानीबाट बच्ने र न्यूनीकरण गर्ने उपाय थिममा हिमालको जोखिम र मूल्याङ्कन, हिमालमा हुने क्षति र त्यसको सम्बोधन विषयमा सेसन सञ्चालन हुनेछ । 

त्यस्तै चौथो थिम मानवताको भविष्य र जलवायु न्याय विषयमा दिगो सहर तथा समुदाय, समावेशी भविष्य निर्माण: लैङ्गिक र अन्तरपुस्तागत समानता, हिमाली लचिलोपनका लागि विज्ञान र प्रविधिलाई जोड्ने काम र दिगो पर्वतीय अर्थतन्त्र गरी चार वटा सेसन सञ्चालन गरिनेछ । 

क्षेत्रीय तथा विश्वव्यापी साझेदारी भनेर पाँचौँ थिममा विभिन्न क्षेत्रका विज्ञहरूले छलफल गर्नेछन् । 

तेस्रो दिन अर्थात् जेठ ४ गते बिहान सगरमाथा संवादमा सहभागीहरूलाई सगरमाथाको अवलोकन गराउने कार्यक्रम छ । सो अवलोकनपछि १० बजे सगरमाथा संवाद २०२५ घोषणापत्र जारी हुनेछ । दिउँसो एक बजे कार्यक्रम समापन हुने बताइएको छ । 

494451086_993510902960695_6844934356258983129_n

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रहरूमा परेको प्रभावबारे संसारभरका पर्वतीय राष्ट्रबिच गरिने सगरमाथा संवादको ब्यानरसहितको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने भएको छ । 

सगरमाथा संवाद लेखिएको लोगोसहितको झन्डा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक दन्तबहादुर छत्यालले सगरमाथाबाट फहराउने छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डा हस्तान्तरण गरिसकेका छन् । उनी त्यसतर्फ प्रस्थान गरिसकेको बताइएको छ । 

छत्याल सोमबार सगरमाथातर्फ प्रस्थान गर्ने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

झन्डा हस्तान्तरण समारोहमा मुख्य सचिव एकनारायण अर्याल तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत उपस्थिति थियो । हिमाली पर्यावरणमा देखिएका समस्यालाई विश्व मञ्चमा स्थापित गराई यसबाट हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकारले सन् २०१९ मा सगरमाथा संवादको स्थापना गरेको थियो । 

कुन सेसनमा को सहभागी हुने भन्नेबारे परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन । विभिन्न देशका प्रतिनिधि तथा विज्ञ, अनुसन्धानकर्मीको कन्फर्मेशन आउने क्रम जारी रहेकाले अहिले नै सहभागीहरूको नाम भन्न नमिल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप