बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

मोरङमा एक अर्ब लगानीमा औषधि उद्योग खुल्दै

मङ्गलबार, १६ वैशाख २०८२, १३ : ०४
मङ्गलबार, १६ वैशाख २०८२

विराटनगर । मोरङको बुढीगंगा–२ मा एक अर्ब लगानीमा औषधि उद्योग खुल्ने भएको छ । एलेक्सा लाइफ साइन्स प्रालिले अन्तराष्ट्रिय स्तरको गुणस्तरीय औषधि उद्योग खोल्न लागेको हो ।

सो कम्पनीका अध्यक्ष दिनेशकुमार स्वर्णकारका अनुसार हालसम्म उद्योगमा ७५ करोड रुपैयाँ लगानी भइसकेको र थप २५ करोड रुपैयाँ लगानी हुँदा उद्योगको निर्माण सकिने छ । उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने स्लाइन पानी, दोस्रो चरणमा एसभीपी सिसाको एक एमएलदेखि २० एमएलसम्मका इन्जेक्सन र तेस्रो चरणमा आँखा र कानको ड्रप (औषधि) उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अहिले नेपालमा पूर्ण रूपले सञ्चालनमा रहेको एक कम्पनी तथा विदेशी गरी जम्मा ११ कम्पनीको उत्पादन बजारमा आउने गरेको छ । एलेक्सा सञ्चालनमा आएपछि सम्भवतः मुलुककै सबैभन्दा ठुला तथा स्तरीय कम्पनी हुने स्वर्णकारले दाबी गरे ।

‘वार्षिक करिब ६० अर्बको बजार रहेको औषधि क्षेत्रमा राज्यको कमजोर नीतिका कारण अझै पनि ६५ प्रतिशत हिस्सा विदेशी कम्पनीले ओगटेको छ,’ स्वर्णकारले भने, ‘हाल मुलुकमा १ सयभन्दा बढी कम्पनी औषधि व्यवस्था विभागमा दर्ता रहे पनि ७५ जति कम्पनी सञ्चालनमा छन् ।’

सरकारले स्वास्थ्य बिमाको भुक्तानी समयमा गर्न नसकेका कारण पनि औषधि कम्पनीले समयमा भुक्तानी नपाएर समस्यामा रहेको उनले बताए ।

राज्यको कमजोर स्वदेशी उत्पादन प्रोत्साहन औषधि नीति र लगभग सबै कम्पनीले एकै खालको औषधि उत्पादन गर्ने भएका कारण २० देखि २५ कम्पनी ठिकठाक चलेको र अन्य कम्पनीको अवस्था सन्तोषजनक नरहेको एलेक्साका निर्देशक रञ्जित भगतले जानकारी दिए ।

स्वर्णकारले राज्यले विद्युत् आपूर्ति नियमित गर्न नसकेको, उद्योग स्थापना गर्दा उद्योगमा प्रयोग हुने विभिन्न खाले सामग्रीमा अनुदानको साटो चर्को भन्सार शुल्क असुल हुने गरेको, औषधि उद्योग प्यानमा कारोबार गर्ने प्रावधान रहेको तर सम्पूर्ण सामग्री खरिद गर्दा मूल्य अभिवृद्धि कर तिर्नुपर्दा लागतमा थप भार पर्ने गरेको बताए ।

उनका अनुसार नेपालमा एकै खालको औषधि १० भन्दा बढी स्वदेशी कम्पनीले उत्पादन गरे पनि थप २० भन्दा बढी विदेशी कम्पनीको खुला आयात गर्ने अनुमति दिइँदा स्वदेशी उद्योगले उत्पादन बजारीकरण गर्न सकेका छैनन् । सरकारले स्वास्थ्य बिमाको भुक्तानी समयमा गर्न नसकेका कारण पनि औषधि कम्पनीले समयमा भुक्तानी नपाएर समस्यामा रहेको उनले बताए ।

उनले १०–१५ वर्ष अगाडि अधिकतम खुद्रा मूल्य कायम भएको औषधिको मूल्य हालसम्म यथावत रहेको र समय सापेक्ष मूल्य समायोजन नभएको गुनासो गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप