अमेजनले लन्च गर्यो आफ्नो पहिलो इन्टरनेट स्याटलाइट

क्यालिफोर्निया । अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजन इन्टरनेट स्याटलाइट क्षेत्रमा प्रवेश गरेको छ । कम्पनीले सोमबार आफ्नो पहिलो इन्टरनेट स्याटलाइट प्रक्षेपण गरेको छ ।
खर्बपति व्यापारी एलन मस्कको स्टारलिङ्क पछि अर्का खर्बपति जेफ बेजोसको कम्पनीले पनि यो कदम चालेको हो । यतिबेला स्याटलाइट इन्टरनेटको क्षेत्रमा स्टारलिंकको दबदबा छ ।
युनाइटेड लन्च अलायन्सको एटलस भी रकेटले अमेजनको प्रोजेक्ट कुइपरका २७ स्याटलाइटको साथमा उडान गरेर यसलाई पृथ्वीको कक्षमा छाडेको थियो । स्याटलाइटहरू लगभग ६३० किलोमिटरको उचाइमा पुग्नेछन् ।
यसअघि अमेजनले २०२३ मा परीक्षणका लागि दुई स्याटलाइट प्रक्षेपण गरेको थियो । परीक्षणपछि यसमा ठूला परिवर्तन गरेर नयाँ संस्करण तयार पारिएको परियोजनाका अधिकारीहरूले बताएका छन् । अन्तरिक्ष यात्रीहरूलाई कुनै समस्या नहोस् भनेर नयाँ स्याटलाइटलाई ऐनाको पातलो तहले ढाकिएको छ । पछिल्लो समय स्याटलाइट इन्टनेटको दौड चलेको छ । यसले पृथ्वीको तल्लो कक्षमा स्याटलाइटको भिड लाग्ने चिन्तामा वैज्ञानिकहरू छन् ।
जेफ बेजोसको ब्लू ओरिजिन नामक रकेट कम्पनी पनि छ । अमेजनले विश्वको हरेक कुनामा उच्च गतिको इन्टरनेट प्रदान गर्न ३,२०० भन्दा बढी इन्टरनेट स्याटलाइट लन्च गर्ने योजना बनाएको छ । अमेजन मस्कको कम्पनी स्टारलिङ्कसँग प्रत्यक्ष प्रतिस्पर्धामा छ । मस्कको स्पेसएक्सले २०१९ देखि ८ हजारभन्दा बढी स्टारलिङ्कहरू लन्च गरिसकेको छ । ७ हजारभन्दा बढी स्टारलिङ्क स्याटलाइट अझै पनि पृथ्वीबाट करिब ५५० किलोमिटर माथि कक्षमा छन् । युरोपेली कम्पनी वनवेबका सयौँ स्याटलाइट कक्षको यो भन्दा माथिको उचाइमा छन् । अमेजनले प्रोजेक्ट कुइपरको लागि युनाइटेड लन्च एलायन्स र ब्लू ओरिजिनबाट दर्जनौँ रकेट किनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर