एनआरएनएका प्रतिनिधिहरुको जोड– एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न होस्

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले काठमाडौँमा तय गरेको एकता महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरुले तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन्। वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) एकताको महाधिवेशन तोकिएको छ ।
महाधिवेशनमा सहभागी हुन विश्वका विभिन्न देशबाट काठमाडौँ आएका एनआरएन प्रतिनिधिहरुले मंगलबार संयुक्त अपिलमार्फत भनेका छन्, “महाधिवेशन कुनै पनि बहानामा पर सार्दा हजारौं एनआरएनहरुको करोडौं रुपैयाँ, समय, स्रोत र श्रम खेर जानेछ। अर्को मितिमा फेरि नेपाल आउन सम्भव छैन। त्यसैले महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुनुपर्छ।”
उनीहरुले अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले महाधिवेशनको तयारी पूरा गरिसकेको र निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली समेत सार्वजनिक भइसकेको जनाएका छन्।
अपिलमा उच्चस्तरीय समितिले नेपाल सरकारका प्रतिनिधिहरु समेत सहभागी बैठकबाट गरेका निर्णयहरुबारे पारदर्शिता कायम राखेको उनीहरुको भनाइ छ । अदालतको आदेशअनुसार एनआरएनएको सचिवालय तथा एमआइएस प्रणाली हस्तान्तरण नभएपनि समितिले वैकल्पिक व्यवस्था गर्दै तयारीलाई अघि बढाएको अपिलमा उल्लेख छ ।
प्रतिनिधिहरुका अनुसार, महाधिवेशन आयोजना गर्न होटल बुकिङदेखि अन्य आवश्यक तयारीमा करोडौं रुपैयाँ खर्च भइसकेको छ भने उद्घाटन कार्यक्रम राष्ट्रपतिबाट हुने तयारी समेत गरिएको छ। यस्तो अवस्थामा महाधिवेशन पर सार्दा संघको साखमा गम्भीर क्षति पुग्ने उनीहरुको तर्क छ।
अपिलमार्फत प्रतिनिधिहरुले एनआरएनएका संस्थापक, पूर्व अध्यक्ष र सम्पूर्ण अभियन्ताहरुलाई पनि महाधिवेशनमा सहभागी भई संस्था भित्रको विवाद हल गर्न आग्रह गरेका छन्। उनीहरुले भने, “संस्थाको भविष्य र गैरआवासीय नेपालीहरुको हकहितका विषयमा छलफल महाधिवेशनकै हलभित्र हुनुपर्छ।” एनआरएनएको एकता महाधिवेशन रोक्न बद्री केसी पक्षले अदालतमा मुद्दा मामिला समेत गरिरहेको अवस्थामा प्रतिनिधिहरुले यस्तो अपिल गरेका हुन् । अपिल गर्नेहरुमा महेश कुमार श्रेष्ठ, राजेन्द्र कुमार शर्मा, डा केशव पौडेल, सुनील साह , बुद्धि सुवेदी, डीबी क्षेत्री, आशिष पन्त, विश्व बराल, सूर्य लम्साल, बिष्णु सुवेदी, गंगाधर गौतम, लोक प्रसाद दाहाल , योगेन्द्र बहादुर क्षेत्री, थर्क सेन युके, प्रेम गाहा मगर, शशि पौड्याल , गुणराज शर्मा पौडेल, जुनु गुरुङ , रोविन्द गोविन्द श्रेष्ठ , डा बलराम श्रेष्ठ जापान, भिम बहादुर गुरुङ , खगेन्द्र न्यौपाने, चिन्तामणि सापकोटा, राज कुमार भुजेल , ठाकुर प्रसाद ढुंगाना , मनोज श्रेष्ठ गोर्खाली, दिपेश खत्री , विश्वासदिप तिगेला, भुवन तिमल्सेना, कृष्ण गिरीलगायत दर्जनौँ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?