कम्युनिस्ट आन्दोलनको अबको मोडल केरलाको जस्तो हुनुपर्छ : राम कार्की
_xBBHJPto2Y.jpg)
तत्कालीन विद्रोही नेकपा (माओवादी)ले २०५२ साल माघ अन्त्यतिर शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारसमक्ष ४० बुँदे ज्ञापनपत्र बुझाएको थियो । तत्कालीन प्रधानमन्त्री देउवाले ज्ञापनपत्रलाई बेवास्ता गरेपछि २०५२ साल फागुन १ गते माओवादीले सशस्त्र विद्रोह घोषणा गर्यो ।
१० वर्षे जनविद्रोहमा करिब १७ हजारले ज्यान गुमाए । अर्बौँ रुपैयाँको सम्पत्ति ध्वस्त भयो । सशस्त्र विद्रोह देशभर फैलिँदै नियन्त्रण बाहिर पुगेपछि तत्कालीन सात दल र माओवादीबिच २०६२ साल मंसिर ७ गते १२ बुँदे सहमति भयो । सोही सहमतिको जगमा भएको २०६२/०६३ सालको जनआन्दोलनले राजतन्त्र नै अन्त्य गर्यो ।
२०६५ सालमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात् माओवादीले ४ पटक सरकारको नेतृत्व गर्यो । अधिकांश समय सत्तामा मुख्य साझेदारी गरेको माओवादीले कुनैबेला आफैँले सरकारलाई बुझाएको ४० बुँदे मागमध्ये कतिपय अहिलेसम्म पूरा गर्न सकेको छैन ।
यसै विषयमा माओवादीका सचिव राम कार्कीसँग रातोपाटीका सहकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंशः
- २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारसँग माओवादीले पेस गरेका ४० बुँदे मागमध्ये कतिपय अहिलेसम्म पूरा भएका छैनन् । तपाईँहरू ११ वर्षसम्म सत्तामा बस्नुभयो, पार्टीबाट ४ पटक प्रधानमन्त्री हुँदा पनि कार्यान्वयनको अवस्था अझै किन कमजोर ?
जुन व्यवस्थाले त्यो समस्या जन्माएको थियो, त्यो व्यवस्थालाई प्रतिस्पापन गर्ने भनेर जनयुक्त सुरु भएको थियो । तर २०६२/०६३ मा शान्ति वार्ता हुँदाखेरि त्यही संसदीय प्रणालीमा माओवादी प्रवेश गर्यो । लेलिनभन्दा पछाडि विकसित भएका कम्युनिस्ट कार्यदिशाहरू माओवादीले व्यापक परिवर्तन गर्नुपर्थ्यो । माओत्सेतुङ, फिडेल क्यास्ट्रोहरूले त सशस्त्र क्रान्ति गरे तर, नेपालमा भूराजनीति र विश्वको परिस्थितिले गर्दा पनि सशस्त्र क्रान्तिले मात्रै सत्ता प्राप्त गर्नसक्ने अवस्था भएन । यो अवस्थामा शान्ति वार्तामा प्रवेश गरिसकेपछि यो व्यवस्थालाई परिवर्तन गरेर जनताको राम्रो सहभागिता हुने व्यवस्था ल्याउन ग्राम्छीहरूले वा धेरै नभए कमसे कम भारतको केरलामा कम्युनिस्टहरूले जुन काम गरेका छन्, त्यो दिशामा नेपालको कम्युनिस्ट आन्दोलन जानुपर्थ्यो ।
यसको लागि सबैभन्दा ठुलो कुरा पार्टीको आचरण राम्रो हुनुपर्छ । जस्तो अहिले पनि केरलामा धेरै पटक कम्युनिस्टहरूले शासन चलाएका छन्, सरकार बनाएका छन् तर त्यहाँ सरकारमा पुगेका, दशौँ वर्ष मन्त्री भएकाहरूको नेपालमा जस्तो फुर्ती बढेको छैन । आज पनि उनीहरू त्यही सादगीपनमै छन् ।
अहिले बबी भन्ने जो महासचिव बने, उनी केरलाबाट मन्त्री भएका मान्छे हुन्, राज्यसभामा सांसद पनि थिए तर, उनीहरूको जीवनस्तरलाई मूलधारका पत्रकारहरूले पनि दुई वटा कोठामा बस्ने, असाध्यै सादगीमा बाँचेको भनेर प्रशंसा गर्ने गरेका छन् ।
हामीकहाँ पार्टीको आचरणलाई जोगाउन सकिएन र, त्यो यही संसदीय प्रणालीभित्र प्रवेश गरेर पनि यसलाई प्रतिस्थापन गर्नका लागि जुन प्रकारको आचरण र चरित्र चाहिन्थ्यो, त्योचाहिँ गुमाउँदै गयो ।
योग्य मान्छेलाई योग्य जिम्मेवारी दिने काम पनि भएन । योग्यता, तालिम र अनुभवलाई होइन, भक्ति र चाकडीलाई सबैभन्दा ठुलो गुण मान्ने चलन छ । यो कांग्रेसमा व्याप्त थियो, एमालेमा व्याप्त थियो । मुख्य गडबडी कहाँनिर भयो भने अरूले त त्यो गरेकै थिए, माओवादीमा यही कुरा व्याप्त हुन पुग्यो ।
अहिलेको अवस्थामा अर्थतन्त्र चौपट छ, बर्बाद छ भनेर भनिन्छ तर, यो अर्थतन्त्र सम्हाल्नको निम्ति अर्थशास्त्र जानेको, मार्क्सवादी अर्थशास्त्र बुझेको मान्छेलाई अर्थमन्त्री बनाउने भन्ने सोच कम्युनिस्ट पार्टीको छैन ।
हाम्रा नेताहरूले आफ्ना भक्तहरूलाई अप्रेसन थिएटरमा चाहिँ पठाएनन्, चिकित्सा र प्लेन उडाउन पठाएको चाहिँ याद छैन, नत्र अरू सबै जिम्मेवारी भक्तहरूलाई दिन्छन् ।
- चीन र नेपालबिचको तुलना गर्दा दुई देशको भूराजनीति फरक छ तर, चीनमा माओले प्रतिपादन गरेको विचारलाई नै नेपालको माओवादीले पनि आत्मसात् गरेको हो । भूबनोट पनि उस्तै–उस्तै देखिन्छ । त्यही विचारलाई लिएर उनीहरूले कायापलट गर्नसके तर हामीले किन सकेनौँ ?
नयाँ राजनीतिले नयाँ संस्कृतिको माग गर्छ । संस्कृति भनेको तपाईंको बानी, व्यहोरा, एटिच्युड सबै कुरा हो । माओत्सेतुङको नेतृत्वमा पनि र कम्युनिस्ट पार्टीको अध्यक्षहरूको नेतृत्वमा पनि के देखियो भने उनीहरूले काम गर्ने संस्कृति बनाए । योग्य मान्छेलाई योग्य ठाउँ दिए । मुख्य कुरा, पार्टीको एकतालाई जोगाए । पार्टीभित्र जतिसुकै मतभेद भए पनि उनीहरूलाई बाहिर जान दिएनन् ।
जसको लाइनले जित्यो, त्यो नेतृत्वमा आयो तर जो नेतृत्वमा आएन, त्यो पनि पार्टीभित्र नै रह्यो । भनाइको मतलब उनीहरूलाई पनि जोगाएरै राखियो ।
हामीकहाँ चाहिँ अलिकति मतभेद भएपछि निस्किनै पर्ने, बस्नै नदिने, बाँच्नै नदिने, चारैतिरबाट नाकाबन्दी गर्ने संस्कृति भयो र, यसमा मुख्य कुरा के भने चिनियाँहरूको प्राकृतिक संस्कृति पनि यस्तो छ कि सरोकार नभएको र जानकारी नभएको विषयमा उनीहरू बोल्दैनन् । हाम्रो संस्कृति भने हामी कुरा गर्न पर्खेर बसेका हुन्छौँ ।
तपाईंले बाहिर निस्केर जुनसुकै मान्छेलाई पक्रेर यहाँ जात्रा कुन राम्रो छ भनेर सोध्नुभयो भने उसले तपाईंको १० मिनेट समय खाइदिन्छ । कहिल्यै भन्दैन कि मलाई थाहा छैन । अन्त बुझ्नुस् पनि भन्दैन । त्यसले गर्दा हामीले राजनीतिक आचरण र संस्कृतिलाई नयाँ ढंगले, जनवादी संस्कृतिको ढंगले अघि बढाउन सकेनौँ ।
चीनलाई नै सबै आदर्श भनेरचाहिँ हामी नभनौँ । त्यसमा हाम्रो अब्जेक्सन पनि छ । त्यहाँ पनि धनी र गरिबबिचको अन्तर असाध्यै बढेर गएको छ । ठुलो संख्यालाई उनीहरूले भोकमरी र गरिबीबाट माथिचाहिँ उठाएका छन् तर, जुन देशमा अर्बपतिहरू तयार हुँदैछ भनेपछि मार्क्सवादी सिद्धान्त अनुसार त कतै डाँडो हुन्छ भने कतै खाल्डो पनि हुन्छ । पहाड हुन्छ भने खोँच पनि हुन्छ ।
नेपालको सन्दर्भमा चाहिँ हामीले यो पुँजीवादी व्यवस्थालाई प्रतिस्थापन गर्ने चेष्टा गरेनौँ । बरु यसैमा रङरोगन गरेर समाजवादी बनाइदिने, साम्यवादी बनाइदिने, जनवादी बनाइदिने कोसिस भयो तर, यो व्यवस्थाको सडेगलेको अंशलाई प्रतिस्थापन गर्ने कामचाहिँ भएन ।
- तपाईंले निर्मम समीक्षा गर्दाखेरि ४० बुँदे मागको कति प्रतिशत कार्यान्वयन भए, अब बाँकीलाई अघि बढाउनसक्ने क्षमता र अवस्था छ कि छैन ? हुनुपर्ने के थियो, भएको के छ ?
राष्ट्रियताको बारेमा त यहाँनिर अलिकति रोटरिक छ, नारा छ तर, जनजीविकाको प्रश्न, जनतन्त्रको प्रश्न छ । यो विषयमा त यो व्यवस्थालाई प्रतिस्थापन गरेर जनताको अनुकूल हुने व्यवस्था शिक्षा, कृषि, उद्योग नीति फेरिनुपर्यो । यो नफेरिएसम्म त ... । जस्तै, अहिलेको शिक्षा नीति नफेरिएसम्म तल्लो तहका जनताका छोराछोरीहरूले राम्रो शिक्षा पाउने अवस्था हुँदैन । राम्रो शिक्षा नभएपछि राम्रो नागरिक हुँदैन । सक्षम मान्छे बन्दैन ।
त्यस्तै कृषिमा हामीले कृषकलाई हेरेर उनीहरूको स्थितिलाई मजबुत बनाउनेगरी, बनाउने खालको, कृषकलाई स्वतन्त्र बनाउनेखालको कार्यक्रम नै ल्याउन सकेनौँ । अहिले पनि उत्पादक र उपभोक्ताको बिचमा दलालहरू नै छन्, सरकार नै छैन ।
धादिङमा उब्जाउने सागसब्जी, अन्नपात छ, त्यो उपभोग गर्ने मान्छे काठमाडौँमा छ, जो धादिङबाटै पनि आएर बसेको होला । उसकै बाउले पठाएको सब्जीको मूल्य पाँच गुणा पुग्छ । त्यहाँ बस्ने किसानले पनि उचित मूल्य पाएको हुँदैन, यता किन्नेले पनि निकै महँगोमा किनेर खानुपर्छ । भनेपछि कृषिमा खै त व्यवस्था ?
त्यसैले हाम्रो जुन ४० बुँदे माग थियो, त्यसलाई राखेर झनै आन्दोलन हुन सक्छ । अवस्था त्यस्तो बन्यो ।
- अहिले तपाईंको नेतृत्व (प्रचण्ड) सत्ताबाट बाहिर निस्किएपछि तराई मधेस अभियानको क्रममा हुनुहुन्छ, अहिले कैलाली पुग्नुभएको छ, तर अभिव्यक्ति हेर्दा सत्तामै केन्द्रित भएजस्तो देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
जनतामा त हाम्रो गतिविधि अलिकति बढेको देखिन्छ, त्यो हाम्रै कार्यकर्ताको बिचमा पनि हो । २०६४ सालमा हामीलाई भोट दिने जनता जो हामीबाट पोखिएर बाहिर गएको छ, त्यो सम्हाल्नेगरी सुधार भएको छैन ।
त्यो मान्छेचाहिँ हामीले नीति फेरेको, व्यवहार फेरेको देखिएपछि मात्रै आउँछ । हामीले मुखको आवाज फेरेरमात्रै भएन । भाषण फेरिएर भएन । हाम्रो नीति र व्यवहार फेरिनुपर्यो । चारचोटी प्रधानमन्त्री हुँदा शिक्षा व्यवस्था किन फेर्न खोजेनौँ, कृषिमा किन परिवर्तन ल्याउन खोजेनौँ ? त्यसको जवाफ त जनतालाई दिनुपर्यो नि । फेरि पनि शिक्षा मन्त्रालय पाउँदा त्यही काम गर्ने भएपछि त भएन नि । त्यसैले अहिले पनि हामीबाट पोखिएको जनता हामीकहाँ आएको छैन ।
- पोखिएका जनालाई फेरि एकीकृत गर्न के गर्नुपर्छ ?
यो अभियान थाल्नुभन्दा अगाडि पनि नीति र व्यवहारमा केही परिवर्तन गरौँ भन्ने आवाजचाहिँ उठेको हो तर, मैले अघि नै भनिसकेँ, यहाँ योग्यता, अनुभव, त्यागभन्दा पनि भक्तिको मात्रै कुरा सुनिन्छ । भक्ति गर्नेहरूले नेतालाई अप्रिय लाग्ने कुरा बोल्दैनन्, प्रिय लाग्ने कुरामात्रै बोल्छन् । यो एमाले, कांग्रेसमा देखिँदै आएको थियो । हामीकहाँ पनि त्यही देखियो । तितो सत्य कोही नबोल्ने, मिठो बोल्ने, प्रिय बोल्ने, यसले रोग निको हुँदैन ।
- त्यसो भए यसको उपचार के त ?
उपचार त नयाँ विचार ल्याउने, नयाँ नीति ल्याउने ढंगले पार्टीलाई फेर्ने कोसिस हो, त्यही गर्नुपर्छ । अहिलेकै प्रणालीबाट आएर पनि धेरै काम गर्न सकिन्छ ।
केरलामा कम्युनिस्टहरू पनि चुनावबाटै आएका हुन् । अहिले केरला भारतको गरिबीमुक्त राज्यको रूपमा आयो, अब केरलामा गरिबी छैन । चुनावबाट पनि केही गर्न सकिँदो रहेछ भन्ने कुरा यसले देखाउँछ । हामीले यसलाई मोडेल बनाएर पनि अघि बढ्ने कमसे कम कोसिस गर्यौँ भने पनि यसको राम्रो नतिजा देख्न सकिन्छ ।
कुनै पनि परिस्थिति विकल्पहीन हुँदैन । हामीलाई एउटा सच्चिने विकल्प छ । यदि हामी सच्चिन सक्दैनौँ भने सिद्धिने विकल्प हामीसँग छँदैछ नि !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशसँग हार्यो बलियो विभागीय टोली पुलिस क्लब
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?
-
पहलगाम हमलाबारेमा राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
-
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो
-
आईपीएलमा शतक बनाउने चार र अन्तिम समयमा अभागी बनेका यी पाँच ब्याट्सम्यान
-
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव