आठ वर्षपछि दिल्लीलाई उसैको मैदानमा हराउने धुनमा कोलकाता

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा मंगलबार दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबिच खेल हुँदैछ । खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४८औँ खेल हो । यो सिजन दिल्ली र कोलकाता पहिलो पटक आपसमा भिड्न लागेका हुन् । यी दुवै टोली प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न संघर्षरत छन् । तर, दिल्लीको तुलनामा कोलकाता केही दबाबमा छ ।
दिल्ली क्यापिटल्स सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । तर, दिल्लीले हालसम्म आईपीएलको उपाधिको जित्न सकेको छैन । सुरुवाती संस्करणमा दिल्लीको टोली दिल्ली डेयरडेभिल्सको नामबाट सहभागी भएको थियो ।
दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, उक्त संस्करणको फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो ।
यसैगरी, कोलकाता नाइट राइडर्सले हालसम्म तीनपटक आईपीएलको उपाधि जितेको छ । कोलकाताले सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो । कोलकाताले दोस्रो उपाधि सन् २०१४ मा जितेको थियो ।
उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले पराजित गरेको थियो । कोलकाताले तेस्रो उपाधि सन् २०२४ मा जितेको थियो । साबिक विकेता कोलकाताले अघिल्लो संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।
- दुवै टोलीको १०औँ खेल
आईपीएलको जारी सिजनमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स दुवैले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । तर, यसपटक साबिक विजेता कोलकाताको तुलनामा दिल्लीको अवस्था केही सुदृढ देखिन्छ ।
दिल्लीले हालसम्म खेलेको नौमध्ये ६ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । दिल्ली १२ अंकसहित तालिकाको चौथो स्थानमा आसीन छ । कोलकाताले भने नौमध्ये तीन खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ ।
कोलकाताको एउटा खेल भने अनिर्णीत रूपमा सकिएको छ । कोलकाता सात अंकसहित तालिकाको सातौँ स्थानमा आसीन छ । त्यसैले प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न मंगलबारको खेलमा कोलकाताले दिल्लीलाई हराउनु पर्ने अवस्था छ ।
- हेड टु हेडमा दुई खेलको अन्तर
आईपीएलमा हालसम्म कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच कुल ३५ खेल खेलिएको छ । त्यसमा कोलकाता केही बलियो देखिन्छ । कोलकाताले १८ खेलमा दिल्लीलाई हराएको छ । दिल्लीले भने १६ खेलमा कोलकातालाई पराजित गरेको छ । एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।
कोलकाताले अरुण जेटली स्टेडियममा आठ वर्षदेखि एक खेल पनि जित्न सकेको छैन । पछिल्लो पटक सन् २०१७ मा कोलकाताले यो स्टेडियममा जित हात पारेको थियो । त्यसयता यो स्टेडियममा खेलिएको तीनवटै खेलमा दिल्लीले कोलकातालाई हराएको छ ।
- दिल्लीका लागि केएल राहुलको तीन अर्धशतक
जारी सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सका माथिल्लो क्रमका ब्याट्सम्यान केएल राहुल लयमा देखिएका छन् । उनी टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले हालसम्म खेलिएको आठ खेलमा १४६.१८ को स्ट्राइक रेटमा कुल तीन सय ६४ रन बनाएका छन् ।
उनले तीन अर्धशतक पनि बनाएका छन् । टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा रहेका अभिषेक पोरेलले नौ खेलमा कुल दुई सय ५३ रन बनाएका छन् । कुलदीप यादव टोलीका लागि सर्वाधिक विकेट लिने बलर हुन् । उनले नौ खेलमा १२ विकेट लिएका छन् ।
- कोलकाताको सर्वाधिक रन रहाणेको नाममा
आईपीएलको १८औँ संस्करणमा कोलकाता नाइट राइडर्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान अजिनक्या रहाणे हुन् । उनले हालसम्म नौ खेल खेल्दै कुल दुई सय ७१ रन बनाएका छन् । यस क्रममा उनले तीनवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा अंगकृष रघुवंशी छन् । उनले आठ खेलको सात पालीमा कुल एक सय ९७ रन बनाएका छन् । टोलीका लागि सर्वाधिक विकेट लिने बलर वरुण चक्रवर्ती हुन् । उनले नौ खेलमा कुल ११ विकेट लिइसकेका छन् ।
- ब्याट्सम्यानलाई साथ दिने पिच
कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच मंगलबारको खेल हुने अरुण जेटली स्टेडियमको पिच ब्याट्सम्यानहरुलाई साथ दिने प्रकृतिको रहेको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रूपमा बढी नै रन बन्ने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९२ खेल खेलिएको छ । त्यसमध्ये ४४ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ४७ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।
यो स्टेडियममा खेलिएको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । यो स्टेडियममा हालसम्म खेलिएको आईपीएलमा बनेको उच्च स्कोर सात विकेट गुमाएर दुई सय ६६ रन हो । यो स्कोर अघिल्लो सिजनको आईपीएलमा सनराइजर्स हैदराबादले दिल्लीविरुद्ध बनाएको थियो ।
- मौसम सफा रहने
दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबिच खेल हुने दिन मंगलबार दिल्लीको मौसम सफा रहने छ । दिनभर चर्को गर्मी हुनेछ । वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम २८ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहनेछ ।
- सम्भावित टोली
दिल्ली क्यापिटल्स ः अक्षर पटेल (कप्तान), फाफ डु प्लेसिस, अभिषेक पोरेल, करुण नायर, केएल राहुल (विकेटकिपर), ट्रिस्टन स्टब्स, विपराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मुकेश कुमा र दुष्मथा चामिरा ।
कोलकाता नाइट राइडर्स ः अजिनक्या रहाणे (कप्तान), सुनिल नारिन, रहमानुल्लाह गुरबाज (विकेटकिपर), वेंकटेश ऐयर, रिंकु सिंह, आन्द्रे रसेल, रोभमन पोवेल, हर्षित राणा, बैभव अरोडा, चेतन साकरिया र वरुण चक्रवर्ती ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ