मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म

मङ्गलबार, १६ वैशाख २०८२, ०० : १९
मङ्गलबार, १६ वैशाख २०८२

वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. शिक्षक आन्दोलनबारे सरकारले पठायो सर्वोच्चमा जवाफ
सर्वोच्च अदालतले दिएको समयसीमाभित्र शिक्षकका माग सम्बोधन हुन नसकेपछि सरकारले लिखित जवाफ पठाएको छ । शिक्षक फर्किने वातावरण नबनेपछि सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकका माग सम्बोधनका लागि सरकारका तर्फबाट भएको प्रगति विवरणसहित सर्वोच्च अदालतलाई प्रतिवेदन पठाएको हो ।

२. पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारको ठहरसहित प्रतिवेदन हस्तान्तरण
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित संसदीय उपसमितिले सार्वजनिक लेखा समितिलाई प्रतिवेदन बुझाएको छ । उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले सोमबार समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् ।

३. ६३ जना एसपीको सरुवा
प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपीं)को सरुवा गरेको छ । सोमबार उनीहरूको सरुवा गरिएको हो ।

४. तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्त
तीनकुनेमा भएको प्रदर्शनमा उपद्रव मच्चाएको आरोपमा पक्राउ परेका थप १२ जनालाई प्रहरीले थुनामुक्त गरेको छ । बयान सकेर थप एक दर्जन आरोपीलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

५. गगन थापा संयोगवश निशानामा परे कि रणनीति अनुसार ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई लक्षित गर्दै अभिव्यक्तिसमेत दिए । यी दुवै विषय आइतबार उठान भए पनि उनले केही अघि दिएका अभिव्यक्तिलाई लिएर सतहमा आएका हुन् ।

६. कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देनको साथ
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आयोजना गरेको विरोध सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् । सोमबार राजधानीमा थापा र लिङ्देन एउटै मञ्चमा सहभागी भएर सरकार र व्यवस्थाविरुद्ध अभिव्यक्ति दिएका हुन् । 

७. भीम रावलको प्रश्न– महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत र हालै पदमुक्त भएका राज्यमन्त्री पूर्णबहादुर तामाङबिच भएको आरोप प्रत्यारोप गम्भीर भएको भन्दै छानबिन हुनुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत रावलले यस्तो गम्भीर कुराको छानबिन हुनुपर्दैन भन्दै प्रश्न गरेका हुन् । 

८. १० रुपैयाँ भारु प्रतियुनिटमा पनि भारतबाट पाइएन चाहेजति बिजुली 
नेपाल विद्युत् प्राधिकरणले १० रुपैयाँ भारु प्रतियुनिटमा पनि भारतबाट चाहेजति बिजुली नपाइएको जनाएको छ । मुलुकमा लोडसेडिङ हुने आशंका बढिरहेको समयमा प्राधिकरणको यस्तो भनाइ सार्वजनिक भएको हो ।

१०. ५ अर्ब ९ करोड बराबरको बजेट ‘सरेन्डर’
नौ वटा सार्वजनिक निकायले ५ अर्ब ९ करोड रुपैयाँ बराबरको बजेट सरेन्डर गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेटमा विनियोजन भएर दोस्रो त्रैमाससम्म खर्च हुन नसकेको रकममध्ये सो बराबरको रकम सरेन्डर गरिएको हो । 

११. मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उदघाटनविनै सञ्चालन
भारतको मोतिहारीदेखि नेपालको बारा, अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन उदघाटनविनै सञ्चालन भइरहेको छ । पाइपलाइनबाट हाल डिजेल, पेट्रोल र मटितेल आयात भइरहेको छ ।

१२. एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो, शर्मा
 गैरआवासीय नेपाली संघ (एनआरएनए) को वैशाख २० देखि २२ सम्म तय भएको एकता महाधिवेशनमा भाग लिन विश्वभरका प्रतिनिधि (डेलिगेट्स)हरु काठमाडौँमा भेला हुन सुरु भएको छ ।  सोमबारसम्म करिब ५०० प्रतिनिधि भेला भइसकेको एनआरएनएका अभियन्ताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप