मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय
भट्टराईको दौडधुप

भारतीय पूर्वराजदूतहरूसँगको भेटघाटमा बाबुराम भट्टराईले के भने ?

सोमबार, १५ वैशाख २०८२, २१ : ३६
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । नेपाल–भारत सम्बन्धमा चिसोपन आइरहेको वेला पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईको भारतमा दौडधुप बढेको छ । 

प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशनको उद्घाटनका लागि शनिबार त्यसतर्फ पुगेका अध्यक्ष भट्टराईले उच्चस्तरीय भेटघाटलाई तीव्रता दिए । 

उनले त्यहाँ भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहदेखि भारतीय जनता पार्टीका पूर्वअध्यक्ष डा.मुरली मनोहर जोशी, भारतीय कांग्रेसका वरिष्ठ नेता, सांसद एवं पूर्वमन्त्री जयराम रमेशसम्मलाई भेटिसकेका छन् । उनले जनता दल (यूनाइटेड) का केसी त्यागी, बहुजन समाज पार्टीका सुधीन्द्र भदौरियासँग पनि भेटघाट गरे ।  

उनले सोमबारै नेपालका लागि चार पूर्वभारतीय राजदूतलाई पनि एकसाथ भेटे । उनले रञ्ञित रे, मन्जिव सिंह पुरी, श्यामशरण र राकेश सुदसँग भेटघाट गरे । हरेक भेटमा नेपाल–भारतको सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा आफूले कुराकानी गरेको भट्टराईको सचिवालयले जनाएको छ । 

‘सबैको चिन्ता दुई देशको सम्बन्धलाई सुदृढ तरिकाले कसरी अगाडि बढाउने नै थियो,’ सचिवालयले भन्यो, ‘दुई देशबिच चिसिएको सम्बन्ध सुधारका लागि प्रधानमन्त्रीस्तरमा छलफल गरेर अगाडि बढ्नुपर्ने कुराकानी भयो ।’ 

दुई देशबिचको सम्बन्धमा देखिएको गडबडीलाई छलफल र संवादका माध्यमबाट समाधान गर्नुपर्ने र त्यसका लागि दुवै देशका प्रधानमन्त्रीहरू नै अग्रसर हुनुपर्ने सुझाव दिइएको स्रोत बताउँछ । भारतका रक्षामन्त्री राजनाथ सिंहसँगको भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक कुराकानी भएको सचिवालयले जनाएको छ । 

भट्टराईले हालै जम्मु काश्मीरको पहलगाममा भएको आतंकारी हमलाको निन्दा गर्दै दुःखसमेत व्यक्त गरेका थिए । साथै उनले दुःखको घडीमा नेपाल भारतको साथमा रहेको पनि बताएका थिए । 

नेपालको वर्तमान सरकारप्रति जनता असन्तुष्ट रहेका पनि भट्टराईले त्यहाँ बताएका थिए । द हिन्दुसँग कुरा गर्दै उनले नेपालमा भइरहेको राजवादीहरूको आन्दोलन लोकतन्त्र विरोधीको नभई प्रधानमन्त्री ओलीविरुद्ध रहेको बताएका थिए । 

प्रधानमन्त्री ओली सरकारविरुद्ध बढ्दो असन्तुष्टि भए पनि संसद्मा कुनै पनि दलको बहुमत नहुँदा वर्तमान सरकार तत्कालै ढाल्ने अवस्थामा नरहेको पनि उनले त्यहाँ बताए । सरकार परिवर्तन भए पनि त्यसले कुनै गुणात्मक परिवर्तन नल्याउने उनले बताए । प्रतिपक्षमा रहेका प्रचण्ड पनि बदनाम भएका कारण एउटा मोर्चाको आवश्यकता महसुस भएको र त्यसको तयारीमा लागेको पनि उनले त्यहाँ खुलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप