मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण

सोमबार, १५ वैशाख २०८२, २२ : ००
सोमबार, १५ वैशाख २०८२

आज २०८२ वैशाख १५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा शिक्षक आन्दोलनबारे सरकारले पठायो सर्वोच्चमा जवाफ, पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारको ठहरसहित प्रतिवेदन हस्तान्तरण, ६३ जना एसपीको सरुवा, तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्त, गगन थापा संयोगवश निशानामा परे कि रणनीति अनुसार ?, कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देनको साथ लगायत छन् ।

१. शिक्षक आन्दोलनबारे सरकारले पठायो सर्वोच्चमा जवाफ
सर्वोच्च अदालतले दिएको समयसीमाभित्र शिक्षकका माग सम्बोधन हुन नसकेपछि सरकारले लिखित जवाफ पठाएको छ । शिक्षक फर्किने वातावरण नबनेपछि सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकका माग सम्बोधनका लागि सरकारका तर्फबाट भएको प्रगति विवरणसहित सर्वोच्च अदालतलाई प्रतिवेदन पठाएको हो ।

२. पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारको ठहरसहित प्रतिवेदन हस्तान्तरण
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित संसदीय उपसमितिले सार्वजनिक लेखा समितिलाई प्रतिवेदन बुझाएको छ । उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले सोमबार समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् ।

३. ६३ जना एसपीको सरुवा
प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सोमबार उनीहरूको सरुवा गरिएको हो ।

४. तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्त
तीनकुनेमा भएको प्रदर्शनमा उपद्रव मच्चाएको आरोपमा पक्राउ परेका थप १२ जनालाई प्रहरीले थुनामुक्त गरेको छ । बयान सकेर थप एक दर्जन आरोपीलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

५. गगन थापा संयोगवश निशानामा परे कि रणनीति अनुसार ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई लक्षित गर्दै अभिव्यक्तिसमेत दिए । यी दुवै विषय आइतबार उठान भए पनि उनले केही अघि दिएका अभिव्यक्तिलाई लिएर सतहमा आएका हुन् ।

६. कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देनको साथ
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आयोजना गरेको विरोध सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् । सोमबार राजधानीमा थापा र लिङ्देन एउटै मञ्चमा सहभागी भएर सरकार र व्यवस्थाविरुद्ध अभिव्यक्ति दिएका हुन् । 

७. १० रुपैयाँ भारु प्रतियुनिटमा पनि भारतबाट पाइएन चाहेजति बिजुली
नेपाल विद्युत् प्राधिकरणले १० रुपैयाँ भारु प्रतियुनिटमा पनि भारतबाट चाहेजति बिजुली नपाइएको जनाएको छ । मुलुकमा लोडसेडिङ हुने आशंका बढिरहेको समयमा प्राधिकरणको यस्तो भनाइ सार्वजनिक भएको हो ।

८. झण्डै १८ अर्ब रुपैयाँको अवैध कारोबारमा संलग्न २१ जना पक्राउ
झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २१ जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रहरी उपरीक्षक सुधीर राजा शाहीका अनुसार अवैध वित्तीय कारोबारमा संलग्न विभिन्न मनी चेन्जर तथा त्यसका सञ्चालकसमेत २१ जनालाई पक्राउ गरिएको हो ।

९. ५ अर्ब ९ करोड बराबरको बजेट ‘सरेन्डर’
नौ वटा सार्वजनिक निकायले ५ अर्ब ९ करोड रुपैयाँ बराबरको बजेट सरेन्डर गरेका छन् । आर्थिक वर्ष २०८१÷८२ को बजेटमा विनियोजन भएर दोस्रो त्रैमाससम्म खर्च हुन नसकेको रकममध्ये सो बराबरको रकम सरेन्डर गरिएको हो । 

१०. मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन उदघाटनविनै सञ्चालन
भारतको मोतिहारीदेखि नेपालको बारा, अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन उदघाटनविनै सञ्चालन भइरहेको छ । पाइपलाइनबाट हाल डिजेल, पेट्रोल र मटितेल आयात भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप