भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए

विराटनगर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कोशी प्रादेशिक कार्यालय विराटनगरमा साढे ५ लाख थान भन्दा बढी पाठ्यपुस्तक गोदाममा थन्किएका छन् । शिक्षक आन्दोलनका कारणले जनक शिक्षा सामाग्रीको गोदाममा पाँच लाख ५८ हजार सेट पुस्तक थन्किएका हुन् ।
यस वर्ष सोमबारसम्म १३ लाख ३ हजार ५१० सेट पुस्तकको मात्रै बिक्री भएको छ । गत वर्ष वैशाख १५ गतेसम्म १५ लाख सेट पुस्तक बिक्री भएको तथ्याङ्क छ ।
जनक शिक्षा सामग्री केन्द्र लि. कोशी प्रदेश विराटनगरका निमित्त कार्यालय प्रमुख भुपराज थापाका अनुसार विराटनगर कार्यालयबाट कोशी प्रदेशका १२ जिल्ला र मधेश प्रदेशको सप्तरीमा पुस्तक वितरण हुने गरेको छ । साधारणतया यी १३ जिल्लामा वार्षिक १५ लाख सेट पुस्तक खपत हुन्छ ।
चैत २० गतेदेखि सुरु भएको शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयहरू बन्द छन् । जसले गर्दा नयाँ शैक्षिक सत्रको लागि आवश्यक पर्ने पुस्तक विद्यालयहरूले लिएका छैनन् । विद्यार्थीहरूको हातमा पुस्तक नपुगेको कारण गोदाममा पुस्तक थन्किएको हो ।
अहिलेसम्म मोरङमा २ लाख १३ हजार ३३१ सेट, सुनसरीमा २ लाख ५९ हजार ४२५ सेट, धनकुटामा ४२ हजार ५८ सेट, तेह्रथुममा ७६ हजार ८३४ सेट, भोजपुरमा ८१ हजार ९५ सेट, झापामा २ लाख ५२ हजार ८१४ सेट विक्रेताले लगेको कार्यालय प्रमुख थापाले जानकारी दिए ।
त्यसैगरी इलाममा ७५ हजार ६८८ सेट, पाँचथरमा ६१ हजार ६३४ सेट, ताप्लेजुङमा ४८ हजार २१९ सेट, खोटाङमा ८ हजार ८ सय ४ सेट, उदयपुरमा १ लाख ११ हजार २३२ सेट र मधेश प्रदेशको सप्तरीमा २ हजार ९२१ सेट विक्रेताले लगेको जनक शिक्षा कार्यालयको अभिलेखमा देखिन्छ । ‘एक चरणमा सबै जिल्लामा पुस्तक पुगेको छ ।
तराईको जिल्लाहरूमा खपत कम भएको छ । अहिले धेरै विद्यालयहरु बन्द भएको कारणले पनि विक्रेताले कम पुस्तक लगेका हुन्,’ उनले भने ।
नयाँ शैक्षिक सत्र सुरू भएसँगै सरकारले वैशाख १ गतेबाट देशभर नयाँ भर्ना अभियान चलाएको छ । यही शैक्षिक सत्रको लागि सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै नयाँ पाठ्यपुस्तक छापिसकेर ७७ वटै जिल्लामा चैत १२ गतेदेखि २५ गतेसम्म बिक्रीवितरण गरिसकेको छ ।
तर यतिखेर भइरहेको शिक्षक/कर्मचारीहरूको आन्दोलनका कारण सम्बन्धित ठाउँमा पुस्तक पुगे पनि अधिकांश विद्यालयले लिएका छैनन् । शिक्षकहरूले विद्यालय नै बन्द गरेर चैत २० गतेदेखि शिक्षा विधेयक जारी गर्न माग गर्दै आन्दोलनमा छन् ।
सामुदायिक विद्यालयमा पुस्तक पुर्याउनको लागि १३ जिल्लाका १४५ वटा पुस्तक पसलले जनक शिक्षा सामाग्री केन्द्र विराटनगरमा सूची दर्ता गराएका छन् । दुई वर्षअघिसम्म वर्षेनि समयमा नयाँ पाठ्यपुस्तक छाप्न ढिलाइ र सम्बन्धित ठाउँमा नपुग्ने समस्या दोहोरिने गर्दथ्यो । त्यही कारण सरकारको चर्को आलोचना हुन्थ्यो ।
तर, २०८० को शैक्षिक सत्रदेखि सम्बन्धित ठाउँमा समयमै पुस्तक पुग्न थालेको छ । ‘सबै ठाउँमा पुस्तक पुगिसकेको छ,’ कार्यालय प्रमुख थापाले भने, ‘कथंकथाचित कहीँ कतै विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीहरूको हातमा नपुगे हामी तुरून्तै पुस्तक उपलब्ध गराउँछौँ ।’
सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित
शिक्षकहरूले शैक्षिक हड्तालका कारण अहिले अधिकांश सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना अभियान रोकिएको छ । विराटनगरमा ५६ सामुदायिक विद्यालयहरु छन् ।
अहिले महानगरपालिका भित्रको सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा काठमाडौ गएको विराटनगर महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले जानकारी दिए ।
यहाँका नाम चलेको सामुदायिक विद्यालय आदर्श, पोखरिया, सत्यनारायणलगायतका विद्यालयहरूले सूचना नै जारी गरेर अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नयाँ भर्ना अभियान नै रोकेको जानकारी दिएका छन् । महानगरपालिका भित्रको ५६ सामुदायिक विद्यालयमा करिब ३० हजार विद्यार्थी अध्ययरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता