क्यानडामा मतदान सुरु, को को छन् दौडमा ?

काठमाडौँ । क्यानडामा आम निर्वाचनको मतदान सोमबार सुरु भएको छ। यसपटक प्रधानमन्त्री पदका उम्मेदवारहरूमा लिबरल पार्टीका मार्क कार्नी, कन्जरभेटिभ पार्टीका पियरे पोइलिभ्रे, ब्लक क्वुबेकोइस पार्टीका ब्लान्चेट र एनडीपी पार्टीका नेता जगमीत सिंह छन् ।
गत महिना मात्र लिबरल पार्टीको नेतामा निर्वाचित भएपछि पूर्व बैंकर मार्क कार्नीले क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए। तर यसको लगत्तै उनले चुनावको तयारी सुरु गर्नुपर्यो।
जनवरीमा, पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएका थिए । यसबेलादेखि, क्यानडाका धेरै नेताहरूले आम निर्वाचनको माग गरिरहेका थिए ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि लगाएको कर र व्यापार युद्धपछि तत्काल चुनाव गराउन सम्भव भएन । कानुन अनुसार, क्यानडामा दुई संघीय चुनावहरू बीच अधिकतम पाँच वर्षको अन्तर हुनुपर्छ। आधिकारिक रूपमा क्यानडामा २० अक्टोबर २०२५ मा चुनाव हुने भनिएको थियो। तर परिस्थिति यस्तो बन्यो कि यहाँ समयपूर्व चुनाव भइरहेको छ ।
क्यानडामा प्रारम्भिक चुनाव सामान्यतया तब हुन्छ जब गभर्नर जनरलले प्रधानमन्त्रीको सल्लाह स्वीकार गर्छन् र संसद विघटन गर्छन्, वा जब गभर्नर जनरलले संसदमा सरकार बहुमत प्रमाणित गर्न असफल भएपछि प्रधानमन्त्रीको राजीनामा स्वीकार गर्छन्। यहाँ मार्क कार्नीले पहिलो विकल्प रोजेका छन् ।
क्यानाडाली संघीय चुनावमा, मतदाताहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा मतदान गर्दैनन्। उनीहरूले संसद सदस्यहरूलाई मतदान गर्छन् । क्यानडामा यस चुनावमा चार मुख्य दलहरूले भाग लिइरहेका छन्। यसमा लिबरल, कन्जरभेटिभ, न्यू डेमोक्र्याट र ब्लक क्वुबेकोइस समावेश छन् ।
लिबरल पार्टी २०१५ देखि (जस्टिन ट्रुडो प्रधानमन्त्री निर्वाचित हुँदा) सत्तामा छ। संसद विघटन हुँदा लिबरल पार्टीको १५३ सिट थियो। कन्जरभेटिभ पार्टी १२० सिटसहित मुख्य विपक्षी दल रह्यो ।
ब्लक क्वेबेकोइस ३३ सिटसहित संसदमा तेस्रो ठुलो दल थियो, त्यसपछि एनडीपी २४ सिटसहित चौथो स्थानमा थियो। गत चुनावमा ग्रिन पार्टीले केवल दुई सिट जितेको थियो ।
यसअघि गरिएका मत सर्वेक्षणहरूमा कन्जरभेटिभ पार्टीले अग्रता हासिल गरेको देखिएको थियो। तर ट्रुडोको राजीनामापछि, जनमत सर्वेक्षणमा दुई दलहरू, अर्थात् लिबरल र कन्जरभेटिभहरूको संख्यामा कुनै उल्लेखनीय भिन्नता देखिँदैन ।
अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयपछि क्यानडाको चुनावमा उम्मेदवारहरू बीचको प्रतिस्पर्धा निकै कडा देखिन्छ। अप्रिलको मध्यमा भएको राष्ट्रिय सर्वेक्षणले लिबरलहरूलाई थोरै अग्रता देखाएको थियो ।
क्यानडामा संघीय चुनाव कसरी हुन्छ ?
क्यानडामा ३४३ संघीय निर्वाचन क्षेत्रहरू छन्, जसलाई निर्वाचन क्षेत्र पनि भनिन्छ। प्रत्येक निर्वाचन क्षेत्रको हाउस अफ कमन्समा एउटा सिट हुन्छ ।तल्लो सदन, अर्थात् हाउस अफ कमन्सको प्रत्येक सिटको लागि चुनाव हुन्छ। माथिल्लो सदन, सिनेटका सदस्यहरू नियुक्त भए तापनि उनीहरूले चुनाव लड्दैनन् ।
नेपाल र बेलायत जस्तै क्यानडामा पनि ‘फस्र्ट–पास्ट–द–पोस्ट’ निर्वाचन प्रणाली छ। प्रत्येक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले जित हासिल गर्छ र सांसद बन्छ। उनीहरूले खसेको कुल मतको बहुमत प्राप्त गर्नु आवश्यक छैन ।
सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नेताले सरकार गठनको दाबी गर्छ। दोस्रो ठुलो दलले प्रमुख प्रतिपक्ष दलको दर्जा पाउँछ ।
यदि कुनै पनि दलले बहुमत प्राप्त गरेन भने परिणामलाई त्रिशंकू संसद वा अल्पमतको सरकार गठनको रूपमा हेरिन्छ। यसको अर्थ सबैभन्दा बढी सिट पाउने दलले अन्य दलहरूको समर्थन बिना कुनै पनि विधेयक पारित गराउन सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ