सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य

सोमबार, १५ वैशाख २०८२, १७ : २०
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । केही अगाडि अष्ट्रेलियाको सात सहरमा भव्य प्रस्तुतिलगत्तै उपत्यकाको गोकर्णेश्वरमा प्रस्तुत भएको नेपथ्यले अब अमेरिकाको सात सहरमा कन्सर्ट गर्ने भएको छ । सङ्गीतमा रमाउने संसारभरिका श्रोता दर्शकहरूलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्ड नेपथ्य अमेरिकाको शृंखलाबद्ध साङ्गीतिक यात्रामा निस्कँदै छ ।

अमेरिकामा नेपथ्यले यो सातौंपटक आफूलाई उभ्याउन लागेको हो । गत वर्ष पनि ब्यान्डले डेढ महिना लगाएर उक्त मुलुकको पूर्वीदेखि पश्चिमी किनारासम्मका सात वटा सहरमा शृंखलाबद्ध प्रस्तुति दिएको थियो । यसपटक सात नयाँ सहरमा नेपथ्य प्रस्तुत हुँदै छ ।  

ब्यान्डले आगामी मे १७ तारिख टेक्सास राज्यको राजधानी अस्टिनमा आफूलाई उभ्याउने छ । उक्त सहरस्थित ‘इमोज् अस्टिन’ हलमा शृंखलाबद्ध यात्राकै पहिलो प्रस्तुति हुनेछ । 

त्यसपछिको दोस्रो प्रस्तुतिका लागि ब्यान्ड दक्षिणवर्ती राज्य टेक्सासबाट एकै पटक क्यानडासँग सिमाना जोडिएको उत्तरी किनारा वासिङ्टन राज्य पुग्नेछ । उक्त राज्यको सियाटल सहरमा मे २३ तारिखका दिन नेपथ्य प्रस्तुत हुनेछ । तेस्रो प्रस्तुतिका निम्ति भने ब्यान्ड फेरि थोरै तल ओर्लिएर क्यालिफोर्निया राज्यको सर्वाधिक जनसङ्ख्या ओगटेको सहर लस एन्जलस पुग्नेछ । सिनेमा निर्माणका लागि विश्वमै अग्रणी मानिने हलिउड अटाएको यो सहरमा मे २६ तारिखका दिन यहाँ स्थित ‘हाउस अफ ब्लुज’ मा ब्यान्डले लोक रक गीत सुनाउनेछ ।

त्यसपछि ब्यान्ड पेन्सिलभेनिया राज्यतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित पिट्सबर्ग सहरलाई यसपटक नेपथ्यले चयन गरेको छ । 

त्यसपछि भने ब्यान्ड पाँचौँ प्रस्तुतिका लागि फेरि उत्तरतर्फ उक्लेर सिकागो सहर पुग्नेछ । त्यहाँस्थित ‘दी भिक थिएटर’मा जुन ७ तारिखका दिन नेपथ्य कन्सर्ट तोकिएको छ । अमेरिकाकै तेस्रो ठुलो जनसङ्ख्या समेटेको यो सहर ‘सिकागो सिम्फोनी अर्केष्ट्रा’ जस्ता संस्थाहरूको उपस्थितिका बिच कला र संस्कृतिका लागि पनि उत्तिकै प्रसिद्ध छ ।

सिकागोमा नेपथ्यका गीतहरू सुनाएपछि ब्यान्ड म्यासाचुसेट्स राज्यको राजधानी बोस्टन सहरतर्फ लाग्नेछ । सन् १६३५ मा अमेरिकाकै पहिलो स्कुल ‘बोस्टन ल्याटिन स्कुल’ स्थापनाको श्रेय पाएको यो सहर यतिबेला उच्च शिक्षाका लागि विश्वकै केन्द्र मानिन्छ । हार्वर्ड र एमआइटी जस्ता विश्वकै अग्रणी शिक्षालयहरू यसै सहरका देन हुन् । यस सहरको  ‘रोयल बोस्टन’ हलमा नेपथ्य जुन ११ तारिखका दिन प्रस्तुत हुनेछ ।

नेपथ्यले अमेरिका यात्राकै अन्तिम प्रस्तुति जुन १४ तारिखमा ‘यिसरी अपडमोन्ट हल’मा दिनेछ । यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रूपमा सम्हाल्ने भएको छ । नेपथ्यसँगै ब्यान्डको व्यवस्थापन र प्राविधिक टोली पनि अमेरिका प्रस्थान गर्दै छ । 

मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप