गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध आइतबार दुई समाचार बाहिरिए । संवैधानिक निकायका ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतले झुलाइरहेको भन्दै महामन्त्री थापाले दिएको अभिव्यक्तिविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको र अर्कोतिर थापालाई आफ्ना अभिव्यक्ति प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएका समाचार प्रकाशमा आए ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले गगन थापाको अभिव्यक्तिविरुद्ध दिएको मुद्दा दर्ता भएको जानकारी दिए ।
वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित ‘आजको लोकतन्त्र, अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भनेका थिए, ‘अहिले सम्मानित सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई अढाइ, तीन वर्षदेखि तलाई हान्दिउँ, हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भयाइनभ्याइ भन्छ । कहिले भोलि हेर्ने भन्छ, पर्सि हेर्ने भन्छ । त्यसले अदालतप्रतिको विश्वसनीयतामाथि प्रश्न गराउँछ ।’
एउटा संवैधानिक नियुक्ति भएको विषय, त्यो आयोगले गरेका काम, त्यसमा नियुक्ति भएका मानिसहरूको कार्यकाल सकिन लागिसक्दा पनि त्यो ठिक थियो कि बेठिक भनेर परीक्षण गर्ने कुरा नेपालको सम्मानित अदालतको लागि चार÷साढे चार वर्ष समय लाग्छ भन्दै उनले प्रश्न गरेका थिए । उनले प्रश्न गरे, ‘जसरी यो विषयलाई अदालतले डिल ग¥यो, त्यो अदालतप्रतिको विश्वसनीयता के रहन्छ ?’
थापाको यही अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ताहरूले मुद्दा दायर गरेका हुन् ।
संवैधानिक नियुक्तिको विषयमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ । गत २०८१ माघ ३० गतेदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको मुद्दाको सुनुवाइ वैशाख २८ गते हुने गरी पेसी तोकिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ जना नियुक्त गरेकोमा नियुक्ति बदरको माग गर्दै २०७७ मंसिर १ गते सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता ओमप्रकाश अर्याललगायतले रिट दर्ता गरेका थिए ।
अर्कोतर्फ प्रधानमन्त्री ओलीले वैशाख २ गते काठमाडौँमा आयोजित कार्यक्रममा महामन्त्री गगन थापाले व्यक्त गरेको ‘बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेको’ अभिव्यक्तिको जवाफ आइतबार नै फर्काएका छन् ।
मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा ओलीले थापाको नाम नलिई राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाज शरम पचाएर यस्ता आरोप लगाउने गरेको बताए । ‘झुटा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ,’ ओलीले भने, ‘आजकाल निलो रङका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन । एमाले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ ।’
थापाले बिचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिले समस्या सिर्जना भइरहेको बताएका थिए ।
‘प्राइभेट सेक्टर र बिचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । बिचौलियाहरू म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ,’ उनले भने, ‘बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म हुने भयो । नेतृत्वको बेडरूमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’
थापाले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताएका थिए ।
थापाको यही भनाइको प्रधानमन्त्री ओलीले जवाफ फर्काएका हुन् । ओलीले थापाको नाम नलिई भने, ‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन ।’
अदालतमा अवहेलना मुद्दा दर्ता भएको र प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिविरुद्ध राखेको धारणा बाहिर आएपछि थापाले सोमबार आयोजित कार्यक्रममा अलि फरक अभिव्यक्ति राखेका छन् । कांग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘सरकार भनेपछि बस्नका लागि मात्र भएर हुँदैन, सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ । रिजल्ट चाहिन्छ । हामी त रिजल्टमा काम गर्न चाहन्छौँ ।’
एमालेसहित दलहरूसँग कांग्रेसको समीकरणलाई निरन्तरता दिइने पनि थापाको भनाइ थियो ।
‘हामी अहिले एमालेसँग सरकारमा छौँ, कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ– हामी तलमाथि कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौँ, यसलाई सहज ढंगबाट अघि बढाउँछौँ, तर यो समयको हामी सदुपयोग गर्न चाहन्छौँ,’ थापाले भने ।
थापाले दुवै विषयमा शनिबार बोलेका होइनन् । अदालतको अवहेलना हुने गरी बोलिएको भनिएको विषय उनले वैशाख ११ गते बिहीबार बोलेका हुन् । त्यो अवहेलनामा बिहीबार नै सम्भव नभए पनि शुक्रबार त रिट दर्ता गर्न सकिन्थ्यो । तर, आइतबारमात्रै दर्ता गरियो ।
अझ प्रधानमन्त्री ओलीले जवाफ फर्काएको विषय त थापाले वैशाख २ गते नै बोलेका थिए । त्यसबेलादेखि स्वदेशमै रहेका ओलीले थापाका अभिव्यक्ति बल्ल थाहा पाएका पक्कै होइनन् । बिचमा केही न केही समस्या रहेको र त्यो समस्या समाधान हुने देखिएपछि १२ दिनपछि हिजो (आइतबार) मात्रै ओलीले जवाफ फर्काएका छन् ।
बिचमा कांग्रेस–एमालेबिच गठबन्धनमा समस्या देखिएको जसरी कांग्रेसका नेताहरूले बोलेका थिए । त्यसमा महामन्त्री थापा, नेता डा.शेखर कोइरालादेखि संस्थापन पक्षकै नेताहरूसम्म थिए । प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पनि गठबन्धनमा समस्या रहेको बताएका थिए । जुन बेला कांग्रेस सभापति देउवा स्वास्थ्योपचारका लागि विदेश गएका थिए ।
शुक्रबार फर्किएका देउवासँग ओलीले शनिबार लामो मन्थन गरे । त्यो मन्थनमा देउवा तत्काल गठबन्धन परिवर्तन गर्ने मनस्थितिमा नरहेको देखेपछि १२ दिन अगाडि बोलेको विषयमा प्रधानमन्त्री ओलीले थापालाई जवाफ फर्काएको निकटस्थ स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए