फ्रान्सको मस्जिदमा संघातिक हमलाका सन्दिग्ध इटलीमा पक्राउ

पेरिस । फ्रान्सको एक मस्जिदमा एक युवकको हत्याका सन्दिग्धले इटलीका प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । फ्रान्सको दक्षिणमा रहेको ला ग्रान्डे कोम्बे सहरको एक मस्जिदमा शुक्रबार आरोपीले एक युवकको हत्या गरेका थिए ।
आरोपीले आक्रमणको घटना आफ्नो फोनमा रेकर्ड पनि गरेका थिए । सुरक्षा क्यामेरा फुटेजमा अभियुक्तको तस्बिर कैद भएको थियो । अभियुक्तमाथि ईश्वर निन्दाको आरोप पनि लगाइएको छ ।
सन्दिग्ध अभियुक्तले इटलीका प्रहरीसमक्ष आत्मसमर्पण गरेको फ्रान्सेली गृहमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । तर, यस विषयमा धेरै जानकारी भने दिइएको छैन ।
यो इस्लामोफोबिक आक्रमण हुनसक्ने अभियोजन पक्षले बताएको छ । सन्दिग्ध अभियुक्तको जन्म २००४ मा फ्रान्समा भएको थियो । अभियुक्तको यस अघिका कुनै आपराधिक इतिहास छैन ।
कुन परिस्थितिले युवकलाई हत्याजस्तो कदम चाल्न प्रेरित गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले पनि यस घटनामा बयान दिएका छन् ।
फ्रान्समा जात र धर्मको आधारमा भेदभावको लागि कुनै ठाउँ नभएको उनको भनाइ छ । युवकको हत्या भएको मस्जिदले एक विज्ञप्ति जारी गर्दै पीडितको पहिचान अबु बकरको रूपमा गरेको छ ।
युवकको मस्जिदमा सफाइ गर्ने क्रममा मृत्यु भएको थियो । आइतबार ला ग्रान्डे सहरमा उक्त नरसंहारको विरोधमा विरोध प्रदर्शन गरिएको थियो ।