मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

भारतमा चोरी गरेकाे आरोपमा दुई नेपाली पक्राउ

सोमबार, १५ वैशाख २०८२, १४ : ४९
सोमबार, १५ वैशाख २०८२

पुणे । भारतको पुणेमा प्रहरीहरूले  चोरी गरेको आरोपमा दुई नेपालीलाई पक्राउ गरेका छन् । ती दुई जना गत वर्ष नोभेम्बरमा निग्दीमा रहेको एक व्यवसायीको बङ्गलाबाट १६ लाख २० हजार भारु बराबरको नगद र सुनको गर–गहना चोरीको घटनामा संलग्न रहेकाे प्रहरीहरूकाे आरोप छ ।

यस चोरीमा सघाउने महिला सोही बङ्गलामा घरेलु सहायकको रूपमा काम गर्थिन् । चोरीको समयमा घरेलु सहायकले व्यवसायीका छोरा र बुहारीको पेयमा निद्रा लाग्ने औषधि हालेर दिइन् । अनि आफ्ना तीन परिचितलाई बङ्गलाभित्र छिराइन् ।  

ती महिला सहायक नेपाली भएको खुलेको छ । गएको वर्षको नोभेम्बर ६ देखि मात्रै उनले सो बङ्गलामा काम गर्न थालेकी थिइन् । निग्दी प्रहरीको टोलीले हिन्जेवादीबाट सबैभन्दा पहिला कमलबहादुर शाही नाम गरेका नेपाली युवकलाई समातेका थिए ।

हिरासतमा पुछताजका क्रममा शाहीले अन्य चार संदिग्धको नाम भने । चोरीमा आफूलाई सघाउनेहरू नेपाल भागेको शाहीले नै बताएको निग्दी प्रहरीको सहायक प्रहरी निरीक्षक अम्ब्रिश देशमुखले टाइम्स अफ इन्डियासँग बताएका छन् । 

निग्दीको सो बङ्गलामा चोरी गर्नुअघि सो गिरोहले बैंगलुरुमा अरु दुई घरबाट गहना चोरेको देशमुखले बताए । यी संदिग्धका आफन्तको सामाजिक सञ्जाल खोजेर प्रहरीले यिनीहरूको नयाँ प्रोफाइल खोजेको थियो ।

गएको पाँच महिनादेखि आफूहरूले यिनीहरूको सामाजिक सञ्जाल प्रोफाइलमाथि निगरानी गरिरहेको देशमुखको भनाइ थियो । भर्खरै मात्रै यो गिरोहका दुई सदस्य बैंगलुरुमा भएको अनि हवाई यात्रामार्फत नेपाल फर्कन खोजेको सूचना पाएको न्याग्दी प्रहरीले पाएका थिए । 

बैंगलुरुमा स्थानीय प्रहरी र सीआईएसएफ कर्मचारीको मद्दतले २४ वर्षका नवीन शाही र ३८ वर्षका नरबहादुर शाहीलाई हिरासतमा लिइएको देशमुखले भनेका छन् । यी दुईबाट आफूहरूले चार लाख भारु मूल्य पर्ने गरगहना फेला पारेको पनि उनले भनेका छन् ।

यो गिरोहले देशका विभिन्न स्थानमा धनाढ्यहरूलाई निशाना बनाउने गरेको देशमुखको भनाइ छ । सुरुमा यो गिरोहले गिरोहको कसैलाई घरेलु सहायकको रूपमा कुनै धनाढ्यको बङ्गलामा काम गर्न पठाउने अनि उनीहरूमार्फत घरमा भएका मूल्यवान सामानहरू चोर्ने गरेको पाइएको प्रहरीले भनेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप