१० रुपैयाँ प्रतियुनिट भारुमा पनि पाइएन मागेजति बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक ४६३ मेगावाट विद्युत् आयात भइरहेको बताएको छ । गर्मी बढ्न लागेको र इन्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेकाले भारतमै विद्युत्को माग अत्यधिक हुँदा आफूहरूले मागेजति विद्युत् नपाइएको प्राधिकरणले एक सूचना निकालेर जनाएको थियो ।
नेपालले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत बिजुली खरिद गर्दै आएको छ । यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुने गरेको छ ।
आईएक्सबाट हालसम्म दिउँसो बढीमा ६ सय मेगावाटसम्म बिजुली आयात हुँदै आएको प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारले बताए ।
उनले पीईसीमार्फत ४६३ मेगावाट आयात भइरहेको बताए ।
‘भारतमै गर्मी बढेको र विद्युत् माग बढेकाले हामीले बिट गरेजति विद्युत् पाउन सकेका छैनौँ, ‘प्रवक्ता शिल्पाकारले भने, ‘शनिबार र आइतबार माग गरेअनुरूप विद्युत् पाएका थियौँ । अहिले भारतबाट बढीमा ६०० र न्यूनतम ४६३ मेगावाटसम्म विद्युत् आयात गर्न पाएका छौँ । बिहान र दिउँसो आयातमा समस्या छैन । बेलुका मात्रै हो ।’
भारतले आगामी जुन ३० सम्म इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा एक हजार चार मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो । तर गत १५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् उपलब्ध गराउने गरी यसअघि स्वीकृति दिएको थियो ।
गत १ अप्रिलबाट राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् आयात गर्न पाउने भनिएको छ । तर भारतमै माग अत्यधिक भएकाले भनेजति नपाइएको प्राधिकरणले बताएको छ ।
गत मंसिरमा भारतले हिउँदयाममा बिजुली आयात गर्ने अनुमति दिँदा मार्च १५ (चैत २) सम्म दिनको २० घण्टा र मार्च १६ देखि जुन ३० सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मा मात्रै आयात गर्ने अनुमति दिएको थियो । मार्च १६ (चैत ३) पछि दैनिक २० घण्टा बिजुली आयात गर्न दिन तत्कालीन कार्यकारी निर्देशक हुँदा नै माग गरिएको थियो । तर भारतले अनुमति दिएको थिएन ।
प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक आएसँगै भारतसँग सहमति गरेर थप चार घण्टा ४०६ मेगावाट विद्युत् आयात भएको थियो । तर पछिल्लो समय त्यो विद्युत् पनि भारतले दिन सकेको छैन । हरेक वर्षको हिउँदमा अपुग बिजुली आयात गर्न भारत र नेपालबिच छुट्टाछुट्टै सम्झौता भएको छ ।
भारतको प्रतिस्पर्धी बजारबाट ल्याइने बिजुलीको सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । सोही व्यवस्थाअनुसार सन् २०२५ का लागि गत मंसिरमा नवीकरण गरिएको थियो ।
त्यो वेला पनि पिक आवरमा बिजुली नदिने सर्तमा भारतले नवीकरण गरेको थियो । भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र टनकपुर–महेन्द्रनगर प्रसारणलाइनबाट ५४ गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको थियो ।
प्राधिकरणका अनुसार हाल देशभर विद्युत्को जडित क्षमता ३ हजार ५१२ मेगावाट पुगेको छ । यसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत् आयोजना ६६२ मेगावाट, सौर्य २५ मेगावाट, तापीय ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २ हजार १४९ मेगावाट रहेका छन् ।
हाल आन्तरिक उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेकोमा विद्युत्को उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगेको छ । त्यसमा १ हजार ५९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी भारतबाट ल्याएर पूर्ति गरिएको प्राधिकरणका प्रवक्ता शिल्पकारले जानकारी दिए ।
विद्युत् आयातमा चुनौती भए पनि घरायसी ग्राहकलाई २४ सै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको उनले बताए । प्राधिकरणले नेपालको नदीमा बहाव बढ्ने र भारतबाट पनि आपूर्ति सहज हुने अवस्था रहेकाले हालको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेको छ ।
- औसत मूल्य प्रतियुनिट नेपाली १६ रुपैयाँ
विद्युत् प्राधिकरणले भारतबाट औसत मूल्य प्रतियुनिट नेपाली १६ रुपैयाँका दरले विद्युत् आयात भइरहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता शिल्पकारका अनुसार भारतबाट अधिकतम भारतीय १० रुपैयाँमा विद्युत् आयात बिडिङ गरिरहेको बताए ।
प्रवक्ता शिल्पकारका अनुसार भारतबाट कुनै समयमा १ रुपैयाँभन्दा कममा पनि विद्युत् आयात भएको थियो । उनका अनुसार १ रुपैयाँ भारुदेखि बढीमा १० रुपैयाँसम्म बिजुली आयात भएको छ । बाहिर हल्ला भएजस्तो नेपाली १६ रुपैयाँभन्दा बढी रेट भने नपरेको उनको भनाइ थियो ।
‘बाहिर हल्ला भएजस्तो ३० रुपैयाँ परेको छैन । हाम्रो रेकर्डमा छैन । सेयरको भ्यालु किनेको जस्तै हो । १० रुपैयाँ रेट राखिएको हुन्छ । त्यहीअनुसार हामीले बिट गरेर आयात गर्ने हो,’ उनले भने ।
सन् २०२५/२०२६ का लागि गत फेब्रुअरी १३ मा बसेको पीईसी बैठकले बिजुलीको प्रतियुनिट दर तोकिसकेको छ । बैठकले १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आयात–निर्यातको मूल्य प्रतियुनिट ८.१ भारु (१२ रुपैयाँ ९६ पैसा), ३३ केभी प्रसारण लाइनमार्फत हुने खरिद–बिक्री हुने बिजुलीको प्रतियुनिट दर ८.७८ भारु (१४ रुपैयाँ ०४ पैसा) र ११ केभी प्रसारण लाइनको प्रतियुनिट दर ९.४१ भारु (१५.०५ रुपैयाँ) तोकेको थियो ।
उक्त मूल्य अप्रिलदेखि लागु भएको छ । तर प्राधिकरण सञ्चालक समिति बैठकले अनुमोदन र विद्युत् नियमन आयोगले अहिलेसम्म स्वीकृत गरिसकेको अवस्था भने छैन ।
- अझै १५ दिन उद्योगमा लोडसेडिङ
प्राधिरकरणले अझै दुई साता औद्योगिक क्षेत्रका उद्योगहरूमा विद्युत् कटौती गर्नुपर्ने अवस्था रहेको जनाएको छ । प्रवक्ता शिल्पकारले भारतबाट मागअनुसार आयात नभएको र हावाहुरीका कारण विभिन्न स्थानमा विद्युत् आपूर्तिमा समस्या भएको बताए । भने, ‘त्यसैले औद्योगिक क्षेत्रलाई मागअनुसार विद्युत् आपूर्ति गर्न सकेका छैनौँ । प्राधिकरणले मुलुकभित्रै उत्पादन बढाउने योजना बनाइरहेको छ । वर्षामा बढी हुने तर सुक्खायाममा कम हुने अवस्था छ ।’
त्यस्तै आइतबार नै प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले उद्योग वाणिज्य महासंघ तथा उद्योग परिसंघका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
उक्त छलफलमा प्राधिकरणले भारतमा बढेको विद्युत् मागको कारण नेपालले एक्सचेन्ज मार्केटमार्फत अधिकतम मूल्यमा खरिद गर्न खोज्दा समेत नपाइएको बताए । उद्योगीहरूका मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउन नसकेको जानकारी भारतले दिएको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बताए ।
उद्योगहरूमा अझै १५ देखि २० दिनसम्म केही समय लोडसेडिङ खेप्नुपर्ने जानकारी प्राधिकरणले दिएको उनले बताए । ढकालले नेपालका नदीनालामा बहाव बढ्न लागेको र भारतबाट विद्युत् आपूर्ति सहज हुनासाथ समस्या हट्ने पनि आश्वस्त पारे । ‘प्राधिकरणले ढिलोमा १५ देखि २० दिनमा समस्या समाधान हुने विश्वास दिलाएको छ । उद्योगीहरूलाई प्राथमिकतामा राखेर गुणस्तरीय, भरपर्दो र निरन्तर विद्युत् उपलब्ध गराउन प्राधिकरण प्रतिबद्धता जनाएका छन् । हामीले पनि गुणस्तरीय, भरपर्दो र निरन्तर विद्युत् आपूर्ति गर्न माग गरेका छौँ ।’
उनले प्राधिकरणले महँगोमा भारतबाट विद्युत् आयात गर्नु परेको भन्दै त्यो पनि मागअनुसार नपाएकाले समस्या भएको जानकारी दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना