मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनविनै सञ्चालन

काठमाडौँ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्ज (बारा)सम्मको पेट्रोलियम पाइपलाइन औपचारिक उदघाटनविना नै सञ्चालनमा आएको छ ।
२०७६ भदौ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द मोदीले भर्चुअल माध्यमबाट संयुक्त रूपमा पाइपलाइन उद्घाटन गरी डिजेल आयात सुरु गरिएको थियो । पेट्रोल र मटितेलसमेत आयात हुन थालेपछि दुवै देशका प्रधानमन्त्रीले भौतिक रूपमै पाइपलाइन उद्घाटन गर्ने योजना थियो ।
हाल पाइपलाइनबाट पेट्रोल र मटितेलसमेत आयात हुन थालिसकेको छ । यद्यपि, पाइपलाइन उद्घाटन गर्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन ।
२०२५ जनवरीको पहिलो साता औपचारिक रूपमा उद्घाटन गर्ने योजना रहे पनि दुवै देशका सरकारबिच सुमधुर सम्बन्ध हुन नसकेका कारण उदघाटनमा ढिलाइ हुन पुगेको सरोकारवाला बताउँछन् ।
नेपाल आयल निगम, प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले औपचारिक रूपमा उद्घाटन नभए पनि पेट्रोलियम पदार्थ आयात भइरहेको बताए । उद्घाटन किन भएन भन्नेबारे आफू जानकार नरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओली गत मंसिर १७ गते चीन भ्रमणमा गएपछि भारतले पेट्रोलियम पाइपलाइनको उद्घाटनलाई महत्त्व नदिएको हुन सक्ने मन्त्रालय स्रोत बताउँछ ।
‘उच्चस्तरीय तहबाट उद्घाटन गर्ने भनिएको थियो । उच्चस्तरीय तहको व्यस्तताका कारण उद्घाटन हुन नसकेको भन्ने गरिएको छ,’ एक सहसचिवले भने, ‘तत्कालै उद्घाटन गर्नुपर्छ भन्ने त छैन, उच्च नेतृत्वको समय नमिलेको र उद्घाटन गर्ने नै हो भने पनि मन्त्रीस्तरबाट गर्न सकिन्छ । यसतर्फ पहल गर्ने हो भने फेरि त्यही हिसाबले छलफल अघि बढाउनु पर्छ ।’
नेपाल पेट्रोलियम डिलर्स एसोशिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले नेपालमा खपत हुने पेट्रोलियम पदार्थको ६० प्रतिशत हिस्सा अहिले पाइपलाइनबाट आयात भइरहेको जानकारी दिए । बाँकी ४० प्रतिशत भैरहवा, विराटनगर, झापा, नेपालगञ्ज, धनगढी लगायतका नाकाबाट आयात भइरहेको उनको भनाइ छ ।
२०८१ साउन यता पाइपलाइनबाट ८ लाख ५१ हजार ३३८ किलोलिटर डिजेल आयात भएको छ । डिजेल आयात हुन थालेको ६ वर्षपछि मात्रै पेट्रोल र मटितेल पनि पाइपलाइनबाट आयात हुन थालेको हो ।
निगमको प्रादेशिक कार्यालय अमलेखगञ्जका अनुसार पाइपलाइनबाट सन् २०२४ को अक्टोबर ४ तारिख अर्थात् २०८१ असोज १८ गते पहिलो पटक १० हजार किलोलिटर पेट्रोल आयात भएको थियो । चैत मसान्तसम्म पाइपलाइनबाट ५९ हजार ५०० किलोलिटर पेट्रोल आयात भएको छ ।
सन् २०२४ डिसेम्बर ११ मा अर्थात् २०८१ मंसिर २६ गते पहिलो पटक पाइपलाइनबाट मटितेल आयात भएको थियो । उक्त दिन एक हजार किलोलिटर मटितेल आयात भएको थियो । त्यस यता मटितेल आयात नभएको जनाइएको छ । अमलेखगञ्ज कार्यालय प्रमुख आचार्यले मटितेल धेरै खपत नहुने भएकाले आयात नभएको बताए । डिजेल र पेट्रोल भने आयात भइरहेको उनको भनाइ छ ।
- वार्षिक १० लाख किलोलिटर आयात
पाइपलाइनबाट वार्षिक सरदर १० किलोलिटरसम्म डिजेल आयात हुने गरेको तथ्याङ्कले देखाएको छ ।
कुन वर्ष कति आयो डिजेल
स्रोतः नेपाल आयल निगम अमलेखगञ्ज
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले पाइपलाइनबाट आयात हुँदा पेट्रोलियम पदार्थ ढुवानी खर्च प्रतिलिटर करिब ३ रुपैयाँको दरले घटेको बताए । भारतको बरौनीबाट सोझै आयात गर्दा करिब ६ रुपैयाँ ढुवानी खर्च लाग्ने गरेकोमा अमलेखगन्जबाट ३ रुपैयाँमात्रै लाग्न थालेको उनको भनाइ छ ।
‘यसअघि बरौनीबाट काठमाडौँसम्म पेट्रोल आयात गर्दा प्रतिलिटर करिब ६ रुपैयाँ ढुवानी खर्च लाग्दै आएको थियो,’ उनले भने, ‘अहिले अमलेखगञ्जबाट काठमाडौँसम्म ट्याङ्करबाट आयात हुन थालेपछि ढुवानी खर्च प्रतिलिटर ३ रुपैयाँ घटेको हो ।’
अमलेखगञ्ज डिपोमा १७ हजार ४ सय ९० किलोलिटर पेट्रोल भण्डारण क्षमता छ । यस्तै २५ हजार ५९० किलोलिटर डिजेल र २ हजार २७० किलोलिटर क्षमताको मटितेल भण्डार गर्ने ट्याङ्की छ ।
यसमध्ये १७ हजार ४९० किलोलिटर क्षमताको पेट्रोल ट्याङ्कीमा ८ देखि १० हजार किलोलिटर पेट्रोल खपत हुनासाथ पाइपलाइनबाट आयात गरिन्छ । प्रतिघण्टा २५० देखि ३ सय किलोलिटर गतिमा पेट्रोलियम पदार्थ आयात हुने गरेको छ ।
यो पाइपलाइनबाट आयात गरिएको पेट्रोलियम पदार्थ जनकपुर, वीरगञ्ज, थानकोट, पोखरा गरी निगमका चार डिपोमा शतप्रतिशत मागअनुसार ढुवानी हुँदै आएको छ । विराटनगर डिपोका लागि पनि कहिलेकाहीँ थोरै परिमाणमा पेट्रोल पठाउने गरिएको प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता