सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
युरोपेली लिग

बिट मार्ने तयारीमा युरोपका पाँच चर्चित लिग

सिरिए र ला लिगाको उपाधि यात्रा रोचक मोडमा, फ्रेन्च लिग र बुन्डेस लिगा एकपक्षीय
सोमबार, १५ वैशाख २०८२, १४ : ३०
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । विश्वभरका फुटबल पारखीहरूको आँखा सधैँ युरोपका पाँच सर्वाधिक चर्चित लिगमा केन्द्रित हुने गरेको छ । विश्वका नामुद खेलाडीहरू यही पाँचवटा लिगकै सेरोफेरोमा घुम्ने गर्छन् । त्यसैले पनि फुटबलप्रेमीका रोजाइमा पर्ने गरेका छन्, युरोपका यी पाँच लिग ।

यद्यपि, पछिल्लो केही समययता समकालीन विश्व फुटबलका दुई महान् खेलाडी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो युरोपेली फुटबलभन्दा बाहिर छन् । यी दुई फुटबल हस्ती पनि लामो समय युरोपेली लिगमा बिताएरै अन्यत्र मोडिएका हुन् ।

अर्जेन्टिनी स्टार मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् । पोर्चुगिज स्टार रोनाल्डो भने अहिले अल–नासरबाट साउदी अरेबियाको व्यावसायिक लिग खेल्छन् । पछिल्लो समय साउदी लिग र मेजर लिग सकर पनि आफ्नो पहिचानलाई विश्वस्तरको बनाउने अभियानमा सक्रिय छन् । 

फेरि फर्कौँ पुरानै प्रसङ्गमा । यो सिजन युरोपका पाँचवटै चर्चित लिग अन्तिम चरणमा पुगिसकेका छन् । त्यसमध्ये इङ्लिस प्रिमियर लिगमा त उपाधिको छिनोफानो नै भइसकेको छ । यो सिजनको चार खेल खेल्न बाँकी रहँदै लिभरपुलले प्रिमियर लिगको उपाधि चुमिसकेको छ । 

liverpool

३४ खेल खेलेको लिभरपुल ८२ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । दोस्रो स्थानमा आसीन आर्सनलले ३४ खेलबाट ६७ अंक बटुलेको छ । अब बाँकी चारवटै खेलमा लिभरपुल पराजित र आर्सनल विजयी भए पनि आर्सनलको अंक लिभरपुलको जति पुग्ने छैन ।

यसैगरी, स्पेनिस ला लिगामा अब सबै टोलीले पाँच–पाँच खेल खेल्न बाँकी छ । अहिलेको स्थितिमा ला लिगाको उपाधि होड रोचक देखिन्छ । तर, लिग लिडर बार्सिलोनाले तालिकाको दोस्रो स्थानमा आसीन रियल म्याड्रिडसँग चार अंकको अग्रता लिएको छ । 

2212145111.0

३३ खेल खेलेको बार्सिलोनाको ७६ र समान खेल खेलेको रियल म्याड्रिडको ७२ अंक छ । यस्तो स्थितिमा बार्सिलोनाले दुई खेलमा निराशाजनक नतिजा निकालेमात्र रियल म्याड्रिड अगाडि आउने सम्भावना देखिन्छ । समग्रमा अहिले रियलभन्दा बार्साले उपाधि जित्ने सम्भावना बढी देखिन्छ ।

यसैगरी, युरोपकै अर्को चर्चित लिग (फ्रेन्च लिग) को उपाधि यात्रा भने एकतर्फी बन्न पुगेको छ । फ्रेन्च लिगमा सहभागी १८ क्लबले हालसम्म ३१–३१ खेल खेलिसकेका छन् । अब सबै टोलीले तीन–तीन खेलमात्र खेल्न बाँकी छ । 

psg

यस्तो स्थितिमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले उपाधि जित्ने पक्का भइसकेको छ । पीएसजी ७८ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । तालिकाको दोस्रो स्थानमा आसीन मार्सेको ५८ अंकमात्र छ । त्यसैले, बाँकी तीनवटै खेलमा पीएसजी पराजित र मार्से विजयी भए पनि मार्सेले पीएसजीलाई उछिन्न सक्ने अवस्था छैन । 

यसैगरी, जर्मनी बुन्डेस लिगाको अवस्था पनि एकपक्षीय नै देखिन्छ । बुन्डेस लिगामा सहभागी १८ वटै टोलीले ३१–३१ खेल खेलिसकेका छन् । अब सहभागी सबै टोलीले तीन–तीन खेलमात्र खेल्न बाँकी छ । हाल ७५ अंकसहित बायर्न म्युनिख पहिलो र ६७ अंकसहित बायर लेभरकुजेन दोस्रो स्थानमा छन् । 

2212091557.0

बायर्न म्युनिखले आफ्नो निकट्तम प्रतिद्वन्द्वी लेभरकुजेनसँग आठ अंकको अग्रता हासिल गरेको छ । हालको स्थितिमा बायर्न म्युनिखले बाँकी तीनवटै खेलमा हार र लेभरकुजेनले बाँकी तीनवटै खेलमा जित हासिल गरेमात्र लेभरकुजेनले उपाधि जित्न सक्ने अवस्था देखिन्छ ।

सबै खेल हारेमा बायर्न म्युनिखको अंक ७५ नै रहने छ । सबै खेल जितेमा लेभरकुजेनको अंक भने ७६ पुग्नेछ । तर, यो सम्भावना भने अत्यन्तै कम देखिन्छ । त्यसैले फ्रेन्च लिगमा पीएसजीजस्तै बुन्डेस लिगामा बायर्न म्युनिख पनि उपाधि कुम्ल्याउनेमा ढुक्क देखिन्छ ।

अब कुरा गरौँ, युरोपको अर्को चर्चित लिग ‘इटालियन सिरिए’ को । यो सिजनको लिगमा युरोपका पाँचमध्यै सबैभन्दा रोचक स्थितिमा इटालियन सिरिए नै रहेको छ । इटालियन सिरिएमा सहभागी २० मध्ये अधिकांश टोलीले ३४–३४ खेल खेलिसकेका छन् । 

अब सहभागी टोलीहरुले चार–चार खेलमात्र खेल्न बाँकी छ । यस्तो स्थितिमा नापोली ७४ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । दोस्रो स्थानमा आसीन इन्टर मिलानले पनि ७१ अंक बटुलिसकेको छ । यस्तो स्थितिमा नापोली र इन्टर मिलानबिच केवल तीन अंकको अन्तर छ ।

753f9f3d18cbce845090422cdfcafd9cd0fe6dc2

केवल एक खेलमा नापोलीको हार र इन्टर मिलानको जितले इन्टर मिलानलाई तालिकाको पहिलो स्थानमा पुर्‍याउने छ । गोल अन्तरमा नापोलीभन्दा इन्टर मिलान निकै अगाडि देखिन्छ । त्यसैले यो सिजन इटालियन सिरिएको उपाधि यात्रा निकै रोमाञ्चक मोडमा पुगेको छ । 

तालिकाको तेस्रो स्थानमा आसीन एटलान्टा र चौथो स्थानमा आसीन युभेन्ट्स भने निकै पछाडि परेका छन् । एटलान्टाको ६५ र युभेन्ट्सको ६२ अंक छ । यी दुई टोली भने सिधै च्याम्पियन्स लिगमा स्थान पक्का गर्ने दौडमा छन् । 

च्याम्पियन्स लिगमा सिधै स्थान पक्का गर्ने होडमा बोलोग्ना (६० अंक), रोमा (६० अंक), लाजियो (५९ अंक), फियोरेन्टिना (५९ अंक) र मिलान (५४ अंक) पनि रहेका छन् । त्यसैले पनि अन्त्यतिर आइपुग्दा इटालियन सिरिए झनै प्रतिस्पर्धात्मक बन्न पुगेको देखिन्छ । 

उपाधि र च्याम्पियन्स लिग छनोट यात्रामात्र होइन, यो सिजन इटालियन सिरिएको रेलिगेसन होड पनि उत्तिकै रोचक बनेको छ । हालसम्म कुनै पनि टोली रेलिगेसनमा परिसकेका छैनन् । यद्यपि, ३४ खेलबाट १५ अंकमात्र बटुल्न सकेको मिन्च रेलिगेसनमा पर्ने सम्भावना निकै बढी देखिन्छ । 

मिन्ज तालिकामा सबैभन्दा तल छ । इटालियन सिरिएमा तालिकाको सबैभन्दा तल्लो स्थानमा रहने तीन टोली रेलिगेसनमा पर्ने प्रावधान छ । २५ अंकसहित एम्पोली १९औँ र समान अंक बटुलेको भेनेजिया १८औँ स्थानमा आसीन छन् । २७ अंकसहित लिस १७औँ र ३० अंकसहित काग्लियारी १६औँ स्थानमा आसीन छन् । 

युभेन्ट्स इटालियन सिरिएको सबैभन्दा सफल क्लब हो । युभेन्ट्सले हालसम्म ३६ पटक सिरिएको उपाधि चुमिसकेको छ भने २१ पटक उपविजेता पनि बनेको छ । तर, यो सिजन युभेन्ट्सको अवस्था निराशाजनक देखिन्छ । युभेन्ट्स च्याम्पियन्स लिगमा छनोट हुनै पनि सँघर्षरत देखिन्छ ।

यसैगरी, इन्टर मिलानले हालसम्म २० पटक इटालियन सिरिएको उपाधि जितिसकेको छ भने १६ पटक उपविजेता बनेको छ । त्यसैले यो सिजन इन्टर मिलानले उपाधि सँख्या २१ पुर्‍याउने सम्भावना बलियो देखिन्छ । 

यो सिजन इन्टरले हालसम्म ३४ मध्ये २१ खेलमा जित हात पारेको छ भने आठ खेलमा बराबरीको नतिजा निकालेको छ । पाँच खेलमा भने इन्टर पराजित भएको छ । इन्टरले विपक्षीको पोस्टमा ७२ गोल गरेको छ भने ३३ गोल खाएको छ । 

यसैगरी, लिग लिगर नापोलीले यो सिजन ३४ मध्ये २२ खेलमा जित हात पारेको छ भने आठ खेलमा बराबरीको नतिजा निकालेको छ । चार खेलमा भने नापोली पराजित भएको छ । नापोलीले विपक्षीको पोस्टमा ५४ गोल गरेको छ भने २५ गोल खाएको छ । नापोलीले हालसम्म तीन पटक सिरिएको उपाधि जितेको छ भने आठपटक उपविजेता बनेको छ । 

नापोलीले पछिल्लो पटक सन् २०२२–२३ सिजनमा सिरिएको उपाधि कुम्ल्याएको थियो । इन्टर मिलान भने सिरिएको साबिक विजेता पनि हो । अघिल्लो सिजन इन्टर मिलानले बलियो प्रतिद्वन्द्वी युभेन्ट्सलाई पछि पार्दै उपाधि चुमेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप