सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
सगरमाथा संवाद

सगरमाथा संवादका लागि प्रधानमन्त्रीले बढाए सक्रियता

सोमबार, १५ वैशाख २०८२, १३ : ००
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना हुने सगरमाथा संवाद कार्यक्रम सफल बनाउन सरकार लागिपरेको छ ।

प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालयले सगरमाथा संवाद कार्यक्रम सफल बनाउन आ–आफ्नो तर्फबाट गर्नुपर्ने तयारीलाई तीव्र तुल्याएका छन् ।

यो खालको कार्यक्रम नेपालमा पहिलो पटक हुन गइरहेकाले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सक्रियता देखाएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

पाँच वर्षअघि ओली नै प्रधानमन्त्री रहेको बेला यो कार्यक्रमको घोषणा गरिएको थियो । यद्यपि कोभिड महामारीका कारण कार्यक्रम आयोजना हुन सकेको थिएन ।

प्रधानमन्त्री ओली कार्यक्रमको निर्देशक समितिका अध्यक्ष पनि हुन् । सरकारले आफ्ना महत्त्वपूर्ण मुद्दाबारे विश्वमा बहस चलाउन सन् २०१९ मा सगरमाथा संवाद स्थापना गरेको थियो । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघद्वारा घोषित अन्तर्राष्ट्रिय हिउँ दिवसको अवसर पारेर गत माघ ८ गते विभिन्न देशका राजदूत, अन्तर्राष्ट्रिय नियोगका दूत, जलवायु परिवर्तन विज्ञको उपस्थितिमा सगरमाथा संवादको घोषणा गरेका थिए ।

चीन र भारतबाट पनि शीर्ष तहबाट प्रतिनिधि आउने सचिवालय सदस्य क्षेत्रीले बताए । उनले भने, ‘चीन र भारतबाट राष्ट्रप्रमुख वा सरकारप्रमुखकै तहबाट सहभागिता होस् भनेर पहल भइरहेको छ ।’

सगरमाथा संवादको बारेमा प्रधानमन्त्री ओली र उनको सचिवालयले दैनिकजसो ब्रिफिङ लिने गरेको स्रोत बताउँछ । संवाद कार्यक्रमका लागि छिमेकी राष्ट्रहरू भारत, चीन तथा दक्षिण एसियाली मुलुकसहित विभिन्न ५० देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई निमन्त्रणा पठाइसकेको परराष्ट्र मन्त्रालयका सहसचिव समेत रहेका सगरमाथा संवाद कार्यक्रम सचिवालयका सदस्य लोकबहादुर पौडेल क्षेत्रीले बताए । कार्यक्रममा विषय विज्ञ, अनुसन्धानकर्मी लगायत ३०० लाई समेत निमन्त्रणा गरेको उनको भनाइ छ ।

संवाद कार्यक्रममा जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संघ–संगठनका प्रमुख तथा प्रतिनिधि, अनुसन्धान गरिरहेका संघ–संस्था तथा विश्वविद्यालयका प्रतिनिधि, विश्व बैंक, एसियाली विकास बैंक लगायत बहुपक्षीय विकास बैंक तथा त्यसका प्रतिनिधि सहभागी हुनेछन् । यस्तै, स्थानीय तह, प्रदेश तथा संघका विभिन्न प्रतिनिधिदेखि सांसद मन्त्री, पत्रकार, सेलिब्रिटीहरू, खेलाडीहरू, नेपालमा कार्यरत गैर–सरकारी संघ संस्थाका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी हुने बताइएको छ ।

चीन र भारतबाट पनि शीर्ष तहबाट प्रतिनिधि आउने सचिवालय सदस्य क्षेत्रीले बताए । उनले भने, ‘चीन र भारतबाट राष्ट्रप्रमुख वा सरकारप्रमुखकै तहबाट सहभागिता होस् भनेर पहल भइरहेको छ ।’

नेपालको लागि गौरव गर्ने खालको कार्यक्रम भएकाले यसलाई सफल बनाउन सबैको दायित्व रहने उनको भनाइ छ ।

क्षेत्रीले भने, ‘जलवायु परिवर्तनको क्षेत्रमा विश्वमै सन्देश दिने गरी यो कार्यक्रम हुन लागेको छ । यो कार्यक्रम जलवायु कूटनीतिको क्षेत्रमा कोसे ढुङ्गा साबित हुने विश्वास हामीले लिएका छौँ ।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले यो संवाद कार्यक्रमले विश्वको ध्यान नेपालतिर तानेको बताए ।

कार्यक्रममा सहभागी हुने अतिथिको बास लगायत अन्य व्यवस्थाका लागि सचिवालयले काम गरिरहेको क्षेत्रीले जानकारी दिए । प्रतिनिधि तथा अन्य सहभागीको टुङ्गो लागिसकेपछि सोही अनुसार व्यवस्थापनका अन्य काम टुङ्गो लगाइने उनको भनाइ छ ।

विज्ञ तथा विभिन्न देशका प्रतिनिधिका रूपमा आउने अतिथिहरू निश्चित हुने बित्तिकै वक्ता र एजेण्डा टुङ्ग्याउने काम पनि सकिने क्षेत्रीले जानकारी दिए । उनले भने, ‘कार्यक्रम आउन १७ दिनमात्र बाँकी छ । तयारीका लागि हामी दिनरात खटिरहेका छौँ ।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले यो संवाद कार्यक्रमले विश्वको ध्यान नेपालतिर तानेको बताए । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग थाइल्याण्ड गएको बेला त्यहाँ आएका विभिन्न देशका प्रतिनिधिसँग पनि यस विषयमा कुराकानी भएको उनले जानकारी दिए ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले समेत कार्यक्रमको तयारीबारे दैनिकजसो ब्रिफिङ लिने गरेकी छन् । संवाद कार्यक्रम सफल बनाउनका लागि बनाइएका विभिन्न कमिटीसँग उनले तयारीबारे जानकारी लिने गरेकी हुन् । आइतबार पनि मन्त्रालयमा सगरमाथा संवाद कार्यक्रमबारे मन्त्री आरजुले ब्रिफिङ लिएको स्रोतले जानकारी दियो ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको यो कार्यक्रम आफैँमा निकै महत्त्वपूर्ण रहेको भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव क्षेत्रीले कार्यक्रमको पहिलो संस्करणलाई भव्य रूपले सम्पन्न गर्न जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरबारे बहस चलाउने तयारी भइरहेको बताए ।

यो संवाद कार्यक्रमले पर्वतीय क्षेत्रको मुद्दाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गराउन सफल हुने विश्वास आफूहरूले लिएको मन्त्रालयका प्रवक्ता ढकालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप