अब्बल प्रदर्शन गर्दै आएको गुजरात र उपाधिको माया मारिसकेको राजस्थानबिच दोस्रो भिडन्त

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा सोमबार गुजरात टाइटन्सले राजस्थान रोयल्सको सामना गर्दैछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी आईपीएलमा खेल्न लागिएको यो ४७औँ खेल हो । गुजरातले आफ्नो नवौँ र राजस्थानले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् ।
जारी आईपीएलमा यी दुवै टोली फरक परिस्थितिमा रहेका छन् । अब्बल प्रदर्शन गरिरहेको गुजरातको प्ले–अफ चरणमा पुग्ने सम्भावना निकै बलियो छ ।
निरन्तरको निराशाजनक प्रदर्शनपछि राजस्थान भने उपाधि होडबाट बाहिरिइसकेको छ । आईपीएलको १८औँ संस्करणमा यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघिको भिडन्तमा गुजरात विजयी भएको थियो ।
गुजरात टाइटन्सले हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई नै सात विकेटले हराएको थियो ।
राजस्थान रोयल्सले पनि हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । राजस्थानले सन् २००८ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो । त्यतिबेला राजस्थानले फाइनलमा चेन्नई सुपर किङ्सलाई तीन विकेटले हराएको थियो ।
त्यसयता, राजस्थान रोयल्स एकपटकमात्र आईपीएलको फाइनलमा पुग्न सकेको छ । राजस्थान रोयल्स सन् २०२२ को फाइनलमा पुगेको थियो । उक्त संस्करणको फाइनलमा राजस्थानको टोली गुजरात टाइटन्ससँग सात विकेटले पराजित भएको थियो ।
- फरक परिस्थितमा रहेका दुई टोली
जारी प्रतियोगितामा गुजरात टाइटन्स र राजस्थान रोयल्स फरक परिस्थितमा रहेका छन् । गुजरात प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने अभियानमा छ । राजस्थान रोयल्स भने एकपछि अर्को खराब प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरिइसकेको छ ।
हालसम्म गुजरातले आठ र राजस्थानले नौ खेल खेलिसकेका छन् । गुजरातले आठमध्ये ६ खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । गुजरात १२ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । फराकिलो अन्तरले सोमबारको खेल जित्दै गुजरात तालिकाको पहिलो स्थानमा फर्कने धुनमा छ ।
यसैगरी, राजस्थानले यसअघि खेलेको नौमध्ये केवल दुई खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । त्यसैले राजस्थान सोमबारको खेलमा गुजरातलाई हराउँदै अघिल्लो पराजयको बदला लिने योजनामा रहनेछ । राजस्थान चार अंकसहित तालिकाको नवौँ स्थानमा छ ।
- अघिल्लो खेलमा गुरजातसामु निरीह राजस्थान
जारी प्रतियोगितामा गुजरात टाइटन्स र राजस्थान रोयल्स दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि अप्रिल ९ तारिखमा यी दुई टोलीबिच खेल भएको थियो । उक्त खेलमा राजस्थानको टोली गुजरातसामु निरीह देखिएको थियो ।
त्यो खेलमा गुजरातले राजस्थानलाई ५८ रनले हराएको थियो । घरेलु मैदानमा खेलिएको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको राजस्थानले भने १९.२ ओभरमा अलआउट हुनुअघि एक सय ५९ रनमात्र बनाउन सकेको थियो । पहिले ब्याटिङ गरेको गुजरातका लागि ओपनर साई सुदर्शनले ८२ रनको योगदान गरेका थिए । उनले केवल ५३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे ।
जस बटलर र साहरुख खानले पनि ३६–३६ रन बनाए । राहुल तेवातिया २४ रनमा अविजित रहे । राजस्थानका बलर तुसार देशपाण्डे र महिस थिक्सनाले दुई–दुई विकेट लिएका थिए । जोफ्रा आर्चर र सन्दीप शर्माले पनि एक–एक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको राजस्थानका लागि सिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाएका थिए । उनले केवल ३२ बलमा तीन छक्का र चार चौका पनि हिर्काए । कप्तानसमेत रहेका ओपनर सन्जु सामसनले पनि ४१ रन बनाएका थिए । उनले २८ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।
रियान परागले पनि टोलीको खातामा २६ रन थपेका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । गुजरातका बलर प्रसिद्ध कृष्णाले तीन तथा रासिद खान र साई किशोरले दुई–दुई विकेट लिएका थिए ।
- हेड टु हेडमा गुजरात अगाडि
आईपीएलमा हालसम्म गुजरात टाइटन्स र राजस्थान रोयल्सबिच कुल सात खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा गुजरातले राजस्थानलाई हराएको छ । राजस्थानले भने एक खेलमा मात्र गुजरातलाई हराउन सकेको छ । जयपुरमा यी दुई टोलीबिच हालसम्म दुई खेल खेलिएको छ । दुवै खेलमा गुजरात विजयी भएको छ ।
- राजस्थानको सर्वाधिक विकेट हसरंगाको नाममा
जारी सिजनको आईपीएलमा राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान यशस्वी जैसवाल हुन् । उनले नौ खेलमा तीन सयभन्दा बढी रन बनाइसकेका छन् । यो सूचिमा ध्रुव जुरेल दोस्रो स्थानमा छन् । उनले नौ खेलमा कुल दुई सय ३८ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर भने वानिन्दु हसरंगा हुन् । उनले सात खेलमा १० विकेट लिएका छन् ।
- गुरजातको सर्वाधिक रन साई सुदर्शनको नाममा
आईपीएलको जारी संस्करणमा गुजरात टाइटन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान साई सुदर्शन हुन् । उनी लयमा रहेका छन् । उनले आठ खेलमा कुल चार सय १७ रन बनाइसकेका छन् । गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने प्रसिद्ध कृष्णा हुन् । उनले हालसम्म आठ खेलमा कुल १६ विकेट लिइसकेका छन् ।
- ब्याट्सम्यान र बलर दुबैका लागि सन्तुलित पिच
राजस्थान रोयल्स र गुजरात टाइटन्सबिच सोमबारको खेल हुने जयपुरस्थित सवाई मानसिंह स्टेडियमको पिच सन्तुलित प्रकृतिको छ । यो पिचले अवस्था अनुसार ब्याट्सम्यान र बलर दुबैलाई सहयोग पुर्याउने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ५९ रन खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले २१ खेल जितेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले ३८ खेलमा सफलता हात पारेका छन् ।
यो स्टेडियममा बनेको उच्च स्कोर ६ विकेट गुमाएर दुई सय १७ रन हो । यो स्कोर सन् २०२३ को आईपीएलमा सनराइजर्स हैदराबादले राजस्थानविरुद्ध बनाएको थियो ।
- जयपुरमा मौसम सफा रहने
गुजरात टाइटन्स र राजस्थान रोयल्सबिच खेल हुने दिन सोमबारको जयपुरको मौसम सफा रहने छ । वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम भने २७ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
- सम्भावित टोली
राजस्थान रोयल्स : रियान पराग (कप्तान), यशस्वी जैसवाल, शुभम दुबे, नितिश राणा, ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, वानिन्दु हसरंगा, जोफ्रा आर्चर, फजलहक फारुकी, तुषार देशपाण्डे, सन्दीप शर्मा र बैभव सूर्यवंशी ।
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सुदर्शन, जस बटलर (विकेटकिपर), शेरफन रदरफोर्ड, शाहरुख खान, राहुल तेवातिया, राशिद खान, वासिङ्टन सुन्दर, साई किशोर, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र ईशान्त शर्मा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता