सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले

आइतबार, १४ वैशाख २०८२, २२ : ००
आइतबार, १४ वैशाख २०८२

आज २०८२ वैशाख १४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा देउवाको दह्रो साथ पाएपछि गर्जिए ओली, शिक्षक आन्दोलनमा झडप, माओवादीले हानेपछि राजावादी बेलुनको हावा खुस्कियो :  प्रचण्ड, गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्ता, पर्सा सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझायो रविविरुद्धको प्रतिवेदन, सांसद माया राई पक्राउबारे कांग्रेसको धारणा के ?, रक्सी चोरीबारे संसदमा चर्चा, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले लगायत छन् ।

१. देउवाको दह्रो साथ पाएपछि गर्जिए ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ पाएपछि विपक्षीमाथि आक्रामक अभिव्यक्ति दिएका छन् । उनले ‘नावाकाद’हरूलाई देउवाले चिसो पानी खन्याइदिएको टिप्पणीसमेत गरे । त्यसअघि शनिबार बालुवाटारमा भएको छलफलमा ओलीले देउवाको दह्रो साथ पाएका थिए । 

२. शिक्षक आन्दोलनमा झडप
आइतबार प्रहरी र आन्दोलनरत शिक्षकबिच झडप भएको छ । यस क्रममा केही शिक्षक घाइते भएका छन् । रिपोर्टिङका क्रममा पत्रकार पनि घाइते भएका छन् ।

३. माओवादीले हानेपछि राजावादी बेलुनको हावा खुस्कियो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनको बलमा प्राप्त उपलब्धि उल्टाउन खोज्नेहरूलाई आफूहरूले तह लगाइदिएको बताएका छन् । माओवादीले हानेर राजावादी बेलुनको हावा खुस्काइदिएको उनको भनाइ थियो ।

४. गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्ता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन् ।

५. पर्सा सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझायो रविविरुद्धको प्रतिवेदन
रवि लामिछानेविरुद्ध पर्सा प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ । बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

६. सांसद माया राई पक्राउबारे कांग्रेसको धारणा के ?
प्रतिनिधि सभा सदस्य माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । उनको पक्राउका बारेमा नेपाली कांग्रेसले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

७. देउवाको थाइल्याण्ड भ्रमणबाट सार्वभौकिता प्रस्ट :  विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको सार्वभौमिकता कस्तो छ भन्ने कुरा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट प्रस्ट भएको बताएका छन् । शासकले कुर्सीसँग सार्वभौमिकता साट्दा नेपाल सुगौली सन्धिदेखि एमसीसी सम्झौतासम्म पराधीन हुन पुगेको उनको आरोप छ ।

८. रक्सी चोरीबारे संसदमा चर्चा
नेपाली कांग्रेसले गत चैत १५ गते तीनकुनेमा भएको घटनाका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो, त्यो प्रमाणित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई चेतावनी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन्, त्यो प्रमाणित गर्नुपर्ने बताए ।

९. सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको ‘सर्ट लिस्ट’ तयार
संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटी) ले सर्ट लिस्ट सार्वजनिक गरेको छ । आइतबार बसेको समितिको बैठकले सर्ट लिस्ट छनोट गरेको हो । 

१०. आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
प्रहरीको हिरासतमा रहेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले आमाको मुख हेर्ने दिन आमाकै कसम खाएर आफू निर्दोष रहेको जिकिर गरेका छन् । आइतबार अदालतमा प्रस्तुत भएका उनले न्यायाधीश समक्ष आमाको कसम खाँदै आफूले राज्यविरुद्ध अपराध हुने र संगठित अपराध हुने गरी कुनै काम नगरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप