पलेँटी साँझमा एकल सुनिइन् संगीता प्रधान

काठमाडौँ । सन् २००७ मा पलेँटीमा पहिलोखेप गीत सुनाएकी सङ्गीताले शुक्रबार र शनिबार साँझ फेरि आफ्नो एकल गायन प्रस्तुत गरेकी छिन् । झन्डै २ घण्टासम्म चलेको पलेँटीमा सङ्गीताले दर्जनभन्दा बढी सृजना प्रस्तुत गरिन् ।
कार्यक्रमको सुरुवात खयाल गायनबाट भएको थियो । राग ‘रागेश्री’को विलम्वित लयमा सङ्गीता आफैँले सृजना गरेको बन्दिस (गीत) ’सब सुख दियौ’ प्रस्तुत भएको थियो ।
एकतालबाट सुरु भएको रागले मध्य लय प्रवेश गर्दा दर्शक, श्रोता रोमाञ्चक बनेको अनुभूति हुन्थ्यो । तीनतालमा रहेको मध्यलयको बन्दिस ’उनी उनी रहिछौ किन हो सङ्गिनी’ कविवर माधव घिमिरेको शब्द सृजना थियो ।
कार्यक्रमको दोस्रो चरणमा ठुमरी र दादरा प्रस्तुत भएका थिए । पहिलो ठुमरी राग ‘माझ–खमाज’ मा आधारित थियो ।
यसपालिको पलेँटीको मुख्य आकर्षण ठुमरीलाई नेपाली भाषामा प्रस्तुत गरिनु थियो । लामो समयदेखि शास्त्रीय गायनमा क्रियाशील सङ्गीता प्रधानलाई ‘ब्रजभाषा’ र हिन्दीमा मात्र होइन आफ्नै भाषामा पनि ठुमरी गाउन पाए हुने भन्ने सोच निक्कै वर्ष अघिदेखि लागेको रहेछ ।
त्यो इच्छालाई आंशिक रूपमा भए पनि यसपालि पूरा गरेकी छिन् । यस काममा उनलाई पलेँटी संयोजक आभासले सहयोग गरेका छन् । आभासले माझ खमाजमा रहेको ठुमरीको बोल– ‘झर्झर बर्खा ऋतु आयो’ र राग पहाडीमा आधारित दादराका निम्ति ’मौन बसी बित्यो रात’ लेखेका हुन् ।
त्यस्तै पुष्प चन्द्रिकामा प्रयोग भएको साहित्य ’कठिन समयमा, एक मेरो घनश्याम’ गोपाल योञ्जनले हिन्दीबाट गरेको भावानुवाद रहेको थियो ।
पलेँटी कार्यक्रमको तेस्रो चरणमा भने सङ्गीताले आफ्ना नयाँ पुराना नेपाली आधुनिक गीत प्रस्तुत गरेकी थिइन् । गीति चरणको सुरुवातमा गीतकार कालीप्रसाद रिजालका दुई वटा गीत प्रस्तुत भएका थिए । पहिलो प्रस्तुतिमा ’कुन पापीले कुन निष्ठुरीले’ रहेको थियो ।
जसलाई सङ्गीतकार गुरुदेव कामतले धुन भरेका थिए । गुरुदेवले भरेको धुन नेपाली आधुनिकमा बिरलै सुनिने शैलीको गीत थियो । ‘राग माण्ड’मा आधारित यो गीत ठुमरी शैलीकै गीत थियो ।
कालीप्रसादको दोस्रो रचना– ‘जाऊ फेरि मन यो मेरो दुखाएर जाऊ’लाई सङ्गीतकार आभासले धुन भरेका थिए । यो गीत पलेँटीबाटै प्रथम पटक सार्वजनिक भएको थियो ।
त्यस्तै अर्को गीत– ‘जीवन चुपचाप गुजारेँ त के भो ? तिमीले जित्यौ म हारेँ त के भो ?’ शान्ति ठटालको नयाँ धुन सङ्गीताको स्वरमा गुञ्जिएको थियो । शान्ति ठटालको धुनमा रत्नशम्शेर थापाको सृजना ’तिर्सना छल्किन्छ’ र मन्जित तामाङको ’मैले प्रीत लाएँ लाएँ, लाजै नमानी लाएँ’ गाउँदा सङ्गीता प्रधानको मुहारमा आनन्दको लहर फैलिएको अनुभूत हुन्थ्यो ।
कार्यक्रममा नेपथ्यका अगुवा अमृत गुरुङले धुन भरेको कवि मञ्जुलको रचना ‘एकान्तमा फूल फुल्छ कि म फुल्छु’ लाई अत्यधिक रुचाइएको थियो । फर्माइसमा दोहोरिएको यो गीत अमृतले आजभन्दा १८ वर्ष पहिले सङ्गीता प्रधानकै पलेँटीका निम्ति धुन भरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?
-
कस्तो रहनेछ तपाईंको आजको राशिफल ?
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव