सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...

आइतबार, १४ वैशाख २०८२, १८ : ०५
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरे । उक्त प्रस्तावमाथि सभामुख देवराज घिमिरेले सांसदहरूलाई धारणा राख्ने समय छुट्टयाए । 

त्यससमा धारणा राख्नेमा थिए, एमालेका सांसद सराज अहमद फारुकी । समानुपातिकतर्फ कपिलवस्तुबाट निर्वाचित हुन् फारुकी । सभामुख घिमिरेले धारणा राख्न उनलाई बोलाए ।

फारुकी रोस्टममा पुगे । तर धारणा राख्न सुरु गर्न लागेका उनले भन्नुपर्ने एउटा विधेयक थियो, भने अर्कै । भन्नुपर्ने विधेयकको नाम थियो, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ । तर उनले भने, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१’ । 

फारुकीले संशोधनमा धारणाको सुरुवात गर्दै भने, ‘अहिले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि छलफल भइरहेको छ । यो विधेयक प्रतिनिधिसभाले पारित गरी राष्ट्रियसभामा पठाइसकेको थियो । फेरि त्यहाँबाट फर्किएर आएको छ ।’ 

त्यसपछि बिचैमा सभामुख घिमिरे बोले, ‘बोलिरहनुभएको मान्य सदस्य तपाईंको विधेयकको शीर्षक मिलेन हेर्नुस् त । वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक भनेको सुनेँ मैले ।’

घिमिरेले अहिले बैंकिङ कसुरसम्बन्धी विधेयकमाथि छलफल भइरहेको सम्झाए । त्यसपछि फारुकीले आफूले गरेको टिपोट हेर्दै भने, ‘बैँकिङ कसुरसम्बन्धी विधेयक नै हो ।’ उनले 'सरी' भन्दै सच्याएर आफ्नो संशोधनको धारणा राख्न सुरु गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप