सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

वर्ल्डलिंकले एकैपटक गर्‍यो राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर नियुक्त

आइतबार, १४ वैशाख २०८२, १६ : ४०
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । 

नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन् । कम्पनीले १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा उनीहरुलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । 

नयाँ ब्राण्ड एम्बेसडर बनेका खेलाडीहरूले वल्र्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा संगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा एक भव्य समारोहबीच सम्झौता कार्यक्रम सम्पन्न भएको हो । सम्झौतामा वल्र्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक श्री मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए । 

वर्ल्डलिंकले एकै साथ ६ जना ब्राण्ड एम्बेसडरहरू अनुबन्धन गर्ने ऐतिहासिक कार्य गरेको छ । कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको कम्पनीले जनाएको छ ।

समारोहमा बोल्दै मनोज अग्रवालले यी ६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टीमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक भएकउो बताए । खेलाडीहरुमा भएको गुण वर्ल्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्ण रूपमा मेल खाएको समेत उनले बताए । 

उनले भने,‘उनीहरूले लाखौं नेपालीहरूको सपना र आकांक्षाको प्रतिनिधित्व गर्छन्, र उनीहरूलाई वल्र्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौं । हामी यो सहकार्यले हाम्रो ब्राण्डलाई थप ऊर्जावान बनाउने र देशका विभिन्न भागमा रहेका समुदायहरूसँग हाम्रो सम्बन्ध अझ गाढा बनाउने विश्वास गर्छौं। हामी सँगै नयाँ पुस्तालाई प्रेरित गर्नेछौं, नेपालको उपलब्धिहरूलाई मनाउनेछौं र डिजिटल युगमा अझ मजबुत र समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्नेछौं।’ 

केशव नेपालले भने,‘नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो छ । वर्ल्डलिंक सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभाहरूलाई अघि ल्याउन समर्पित रहँदै आएको छ। गत वर्ष हामीले ‘बीट द स्पीड’ अभियान सुरु गर्‍यौं जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्‍यो, र हामी गर्वका साथ घोषणा गर्छौं कि यसको दोस्रो सिजन चाँडै नै आउनेछ ।’ 

सहकार्य केवल ब्राण्ड प्रवद्र्धन मात्रै नभई नेपाली जनताको भावना र गौरवसँग जोडिएको हाम्रो आत्मीय प्रतिबद्धता भएको उनले बताए । 

क्रिकेटले हाम्रो मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको छ, र हामी वर्ल्डलिंकका रूपमा यस राष्ट्रिय खेललाई अझ सशक्त बनाउन र नेपाली जनताको मायालाई सम्मान गर्न प्रतिबद्ध छौं,उनले भने । 

छ जना खेलाडीहरूले पनि आफ्नो खुशी र उत्साह व्यक्त गर्दै नेपालकै सबैभन्दा ठूलो आईएसपी वल्र्डलिंकले आफूहरूलाई विश्वास गरेर अनुबन्ध गरेकोमा गर्व महसुस भएको बताए ।

उनीहरूले वर्ल्डलिंकको नवीनता, विश्वसनीयता र सामाजिक प्रतिबद्धतामा विश्वास गर्दै सहकार्यमार्फत दुवै पक्षका लक्ष्यहरू पूरा गर्न सँगै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

यो साझेदारी वल्र्डलिंक र नेपाली क्रिकेट नायकहरू बीचको सपनाको उत्सव भएको बताउँदै  आकांक्षा, संघर्ष र सफलताको यात्राले सम्पूर्ण देशलाई गर्वित बनाउनले उनीहरुले बताए । 

वर्ल्डलिंक १९९५ मा स्थापना भएको नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो । देशभरी १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पुर्‍याउँदै आएको वर्ल्डलिंकले उच्च गतिको ब्रॉडब्यान्ड र व्यावसायिक सेवा ७७ वटै जिल्लामा प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप