सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
तीनकुने घटना

धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’

आइतबार, १४ वैशाख २०८२, १७ : ००
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महमन्त्री तथा प्रतिनिधिसभा सदस्य धवलशमशेर राणा अराजकता मच्चाएर राज्यविरुद्धको अपराध गरेको मुद्दामा अनुसन्धानको दायरामा छन् । काठमाडौँको तीनकुनेमा चैत १५ मा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आयोजित प्रदर्शनमा दुई जनाको मृत्यु र भौतिक सम्पत्ति तोडफोड गरिएको थियो । राणामाथि प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को ब्यानरमा आयोजित प्रदर्शन स्थलमा राणा अग्रपंतिमा थिए ।

 चैत १५ मा पक्राउ परेका राणा वैशाख ७ मा हाजिर जमानीमा रिहा भएका थिए । उनलाई क्यान्सर रोगको उपचार गर्ने प्रयोजनको लागि रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । 

उनले भने, ‘चिकित्सकहरूको सिफारिसको आधारमा भारतमा उपचार गर्न जानुपर्ने भएको हुनाले उहाँलाई बयान लिएर छाडेका हौँ ।’

अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीहरूसँगको बयानमा उनले राज्य विरुद्धको कसुरमा आफू संलग्न भएको जिकिर गरेका छन् । बयानमा उनले भने, ‘मैले राज्यविरुद्धको अपराध गरेको छैन ।’

तीनकुनेको प्रदर्शनमा आफू उपस्थित भएको तर, अवाञ्छित गतिविधिमा संलग्न नभएको राणाले बताएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले बयानमा भनेका छन्, ‘प्रदर्शनमा गएको थिएँ तर, हिंसा भड्काउने गरी गतिविधि गरेको छैन ।’

भारतमा उपचारपछि उनी स्वदेश फर्किँदै छन् । उनको क्यान्सरको रिपोर्ट ‘अल क्लियर’ रहेको परिवारका सदस्यहरू बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप