सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईपीएलमा आज

अब्बल प्रदर्शन गर्दै आएका दिल्ली र बेंगलुरु एकअर्कालाई हराउँदै पहिलो स्थानमा उक्लने धुनमा

आइतबार, १४ वैशाख २०८२, १६ : १४
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार दुई वटा खेल हुँदैछ । पहिलो खेल मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिच खेलिने छ । उक्त खेल वानखेड स्टेडियममा नेपाली समय अनुसार, १५ः४५ बजे सुरु हुनेछ ।  

दोस्रो खेल भने दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिने छ । जारी प्रतियोगिताको दुई बलिया टोली दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिचको खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

आईपीएलको जारी संस्करणमा दिल्लीले आफ्नो नवौँ र बेंगलुरुले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । यो सिजन यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । जारी सिजनको आईपीएलमा यी दुबै टोलीको प्रदर्शन अब्बल देखिएको छ ।

दिल्ली र बेंगलुरु दुबै टोलीले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् । दिल्ली सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । 

दिल्लीको यो १८औँ सहभागिता हो । तर, दिल्लीले हालसम्म उपाधिको जित्न सकेको छैन । सुरुवाती संस्करणमा दिल्लीको टोली दिल्ली डेयरडेभिल्सको नामबाट सहभागी भएको थियो । 

दिल्ली हालसम्म एक पटक फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली फाइनलमा पुगेको थियो । फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो । 

रोयल च्यालेन्जर्स बेंगलुरुले भने आईपीएलमा सधैँ उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, बेंगलुरुले हालसम्म एक पटक पनि उपाधि जित्न सकेको छैन । बेंगलुरु आईपीएलमा तीन पटक फाइनलमा पुगेर पराजित भएको छ । 

बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । 

सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट हारेको थियो । त्यसैले यो सिजन दिल्ली र बेंगलुरु दुबै टोली पहिलो उपाधिको खाजिमा छन् ।

००

दुवैको अब्बल प्रदर्शन 

आईपीएलको जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु र दिल्ली क्यापिटल्स दुबैले हालसम्म अब्बल प्रदर्शन गर्दै आएका छन् । हालसम्म दिल्ली क्यापिटल्सले आठ र रोयल च्यालेन्जर्स बेंगलुरुले नौ खेल खेलिसकेका छन् । 

दिल्लीले हालसम्म खेलिएको आठमध्ये ६ खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । दिल्ली १२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । बेंगलुरुले नौमध्ये ६ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

बेंगलुरु १२ अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । आइतबारको खेलमा विजयी हुने टोली अङ्क तालिकाको पहिलो स्थानमा उक्लने छ । हाल आठ खेलबाट १२ अङ्क बटुलेको गुजरात टाइटन्स तालिकाको पहिलो स्थानमा आसिन छ । 

००

यस्तो थियो सिजनको पहिलो भिडन्त

जारी सिजनको आईपीएलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरु दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि अप्रिल १० तारिखमा यी दुई टोली आपसमा भिडेका थिए । उक्त खेलमा दिल्लीले बेंगलुरुलाई ६ विकेटले हराएको थियो । 

उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दिल्लीले १७.५ ओभरमै केवल चार विकेट गुमाएर एक सय ६९ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । 

घरेलु मैदानमा पहिले ब्याटिङ गरेको बेंगलुरुका लागि ओपनर फिल साल्ट र तल्लो क्रमका ब्याट्सम्यान टिम डेभिडले ३७–३७ रन बनाएका थिए । कप्तान रजत पाटिदारले २५ र ओपनर विराट कोहलीले २२ रन जोडेका थिए । दिल्लीका बलर विपराज निगम र कुलदीप यादवले दुई–दुई विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गरेको दिल्लीका लागि केएल राहुलले उत्कृष्ट पाली खेल्दै अविजित ९३ रन बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान केएल राहुलले केवल ५३ बलको सामना गरी ६ छक्का र सात चौका हिर्काएका थिए ।

ट्रिस्टन स्टब्सले पनि अविजित ३८ रन बनाएका थिए । उनले २३ बलमा एक छक्का र चार चौका प्रहार गरेका थिए । बेंगलुरुका बलर भुवनेश्वर कुमारले दुई विकेट हात पारेका थिए । यश दयाल र सुयष शर्माले पनि एक–एक विकेट लिएका थिए ।

००

हेड टु हेडमा बेंगलुरु अगाडि

रोयल च्यालेन्जर्स बेंगलुरु र दिल्ली क्यापिटल्सबिच आईपीएलमा हालसम्म कुल ३३ खेल खेलिएको छ ।त्यसमा दिल्लीभन्दा बेंगलुरु बलियो देखिन्छ । २० खेलमा बेंगलुरुले दिल्लीलाई हराएको छ । दिल्लीले भने १२ खेलमा मात्र बेंगलुरुलाई पराजित गरेको छ । 

दिल्ली र बेंगलुरुबिचको एक खेल भने अनिर्णित रूपमा सकिएको छ । अरुण जेटली स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच कुल १० खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा बेंगलुरु र चार खेलमा दिल्लीले जित हात पारेका छन् । 

००

लयमा छन् दिल्लीको केएल राहुल

आईपीएलको जारी संस्करणमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । उनले सात खेलमा १५३.९९ को स्ट्राइक रेटमा कुल तीन सय २३ रन बनाइसकेका छन् । 

यो सूचिमा दोस्रो स्थानमा अभिषेक पोरेल छन् । उनले १० खेलमा १५० को स्ट्राइक रेटले कुल दुई सय २५ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर कुलदीप यादव हुन् । उनले आठ खेलमा कुल १२ विकेट लिइसकेका छन् । 

००

बेंगलुरुको बढी रन विराटको ब्याटबाट

जारी सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । पूर्व कप्तान विराटले हालसम्म नौ खेलमा कुल तीन सय ९२ रन बनाएका छन् । यस क्रममा उनले पाँच वटा अर्धशतक प्रहार गरिसकेका छन् ।

बेंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा फिल साल्ट दोस्रो स्थानमा छन् । उनले हालसम्म नौ खेलमा कुल दुई सय ३९ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर भने जस हेजलउड हुन् । उनले नौ खेलमा १६ विकेट लिइसकेका छन् । 

००

ब्याट्सम्यानलाई माया गर्ने पिच

दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच आइतबारको खेल हुने अरुण जेटली स्टेडियमको पिच ब्याट्सम्यानहरुलाई सहयोग पुर्‍याउने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा बढी नै रन बन्ने गरेको छ ।

हालसम्म यो स्टेडियममा आईपीएलको कुल ९१ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ४४ खेल जितेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने ४६ खेलमा सफलता हात पारेका छन् । 

यसैगरी, यो स्टेडियममा खेलिएको एक खेल भने अनिर्णित रूपमा सकिएको छ । यो स्टेडियममा खेलिएको आईपीएलको खेलमा बनेको उच्च स्कोर सात विकेट गुमाएर दुई सय ६६ रन हो । 

यो स्कोर अघिल्लो सिजनको आईपीएलमा सनराइजर्स हैदराबादले दिल्लीविरुद्ध बनाएको थियो । 

००

छैन वर्षाको सम्भावना 

रोयल च्यालेन्जर्स बेंगलुरु र दिल्ली क्यापिटल्सबिच खेल हुने दिन आइतबार दिल्लीको मौसम सफा रहने त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाको कुनै सम्भावना छैन । आइतबार दिल्लीको तापक्रम २६ देखि ४२ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ । 

००

सम्भावित टोली

दिल्ली क्यापिटल्स : अक्षर पटेल (कप्तान), अभिषेक पोरेल, करुण नायर, केएल राहुल, ट्रिस्टन स्टब्स, आशुतोष शर्मा, विपराज निगम, मिचेल स्टार्क, कलदीप यादव, मुकेश कुमार र दुसमन्था चामिरा ।

रोयल च्यालेन्जर्स बेंगलुरु : रजत पाटिदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पाडिकल, जितेश शर्मा, क्रुणाल पाण्ड्या, रोमारियो शेफर्ड, टिम डेभिड, भुवनेश्वर कुमार, जस हेजलउड र यश दयाल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप