सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

बालुवाटारमा २ घण्टाको मन्थनपछि सहमतिमा पुगे ओली र देउवा

आइतबार, १४ वैशाख २०८२, १४ : ३२
आइतबार, १४ वैशाख २०८२

काठमाडौँ । सरकार र सत्ता गठबन्धनलाई लिएर बाहिर भइरहेका आशङ्का र गलत प्रचारलाई कामबाटै जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भएका छन् ।

दुवै दलका नेताहरूका अनुसार गठबन्धन र सरकारबारे फैलाइएको भ्रम निस्तेज पार्ने, गभर्नर नियुक्ति जतिसक्दो चाँडो गर्ने, सङ्क्रमणकालीन न्याय (टीआरसी) प्रक्रिया समयमै टुङ्ग्याउने र शिक्षक आन्दोलन लगायतमा भइरहेका प्रगति तथा अवरोधबारे छलफल भएको थियो ।

सत्ता समीकरण फेरबदल हुने र सरकार परिवर्तन हुने भनेर सत्तापक्षदेखि प्रतिपक्षी दलका नेतासम्मले दिएको अभिव्यक्तिले राजनीतिक तरङ्ग उत्पन्न भइरहेका बेला प्रधानमन्त्री ओली र सभापति देउवाबिच शनिबार राति बालुवाटारमा करिब २ घण्टाभन्दा बढी छलफल भएको हो । छलफलमा मुख्यगरी चार विषयमा चर्चा भएको बताइएको छ ।

भेटवार्तामा ओली र देउवाका अलावा कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलसमेत सहभागी थिए । त्यसक्रममा सरकारबारे बढ्दो आशङ्का कम गर्न दुवै पक्षले उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरू सहमत भएका हुन् ।

शीर्ष नेताबिच विशेषगरी राजनीतिक वृत्तमा फैलाइएका हल्लाका सम्बन्धमा छलफल हुनका साथै तत्काल सरकारले गर्नुपर्ने कामबारे कुराकानी भएको मन्त्री पौडेल र लेखकले बताएका छन् ।

‘खासगरी समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित थियो । पछिल्लो पटक सरकार ढल्छ कि ढल्छ भनेर भएका प्रचार र छरिएका भ्रममा सत्यता छैन र यसलाई चिर्नेगरी दुई नेताबिच छलफल भएको हो’, पौडेलले भने, ‘गठबन्धनमा कुनै समस्या छैन ।’

त्यस्तै गृहमन्त्री लेखकले सरकारबारे कन्फ्युजन क्रियट गरिएकाले त्यसलाई चिर्दै अघि बढ्न र सहमतिहरू कार्यान्वयन तथा समस्या सम्बोधन गर्न दुवै नेता सहमत रहेको बताए ।

लेखकले फैलाइएका भ्रमलाई सरकारले काममार्फत नै जवाफ दिनुपर्नेमा दुवै नेता सहमत भएको प्रस्ट पारे ।

‘समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल बढी केन्द्रित भयो’, लेखकले आइतबार रातोपाटीसँग भने, ‘हामीबिच खेल्ने प्रयासहरू भइरहेका छन् तर तिनको कुनै अर्थ छैन भन्ने निचोडमा दुवै नेता पुग्नुभएको छ ।’

कांग्रेस नेतासमेत रहेका गृहमन्त्री लेखकले गभर्नरको सेलेक्सन कमिटीका सदस्य पूर्वगभर्नरले राजीनामा दिएको अवस्थामा त्यो कमिटीलाई पूर्णता दिएर प्रक्रिया अघि बढाउन दुवै नेता सहमत भएको प्रस्ठ पारे । शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सिफारिस कमिटीको सिफारिसका आधारमा अघि बढ्न र शिक्षकको आन्दोलनबारे गम्भीरतापूर्वक छलफल भइरहेकाले यो समस्या अब धेरै लम्ब्याउन नहुने पक्षमा प्रधानमन्त्री र सभापति देउवा एकमत रहेको समेत बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा वैशाख ७ मा उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएसँगै सरकार ढल्ने चर्चा व्यापक भएको थियो ।

यही चर्चाका बिच देउवा वैशाख १२ गते बैंककबाट फर्किएका थिए । देउवा फर्किएको भोलिपल्ट ओली र देउवाबिच भेटवार्ता भएको हो । त्यसअघि प्रधानमन्त्री ओलीले देउवालाई बैंककमै रहेका बेला फोन गरेर बजारमा चलेका हल्लाबारे चासो राखेका थिए ।

शनिबार देउवासँगको भेटपछि आइतबार दिउँसो मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढल्यो–ढल्यो भन्नेहरूलाई देउवाले चिसो पानी टाउकाबाट खन्याइदिएको बताएका थिए । ‘नामका वामपन्थी, कामका दक्षिणपन्थी अहिले पनि छन्’, ओलीले भने, उनीहरूका दुई उद्देश्य छन् । एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न हाम्राविरुद्ध विभिन्न प्रकारका लाञ्छना र आरोप लगाउने । अर्को ढल्यो ढल्यो–ढल्यो, सरकार ढल्यो.. । अहिले ढल्यो, भरे ढल्यो ।’

ती सबैलाई शेरबहादुर देउवाले चिसो पानी टाउकाबाट खन्याइदिएको ओलीको भनाइ थियो ।

त्यसअघि ओलीले शनिबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकमा सरकार ढल्छ भनेर प्रचार गर्नेहरू देउवा स्वदेश फर्केलगत्तै लत्र्याकलुत्रुक भएको टिप्पणी गर्दै गठबन्धन ढुक्कसँग अघि बढ्नेमा विश्वस्त हुन आग्रह गरेका थिए ।

बैंककबाट फकर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले देउवालाई सत्ता गठबन्धनबारे प्रश्न सोधेका थिए । जवाफमा देउवाले गठबन्धनमा कुनै समस्या नरहेको प्रतिक्रिया दिएका थिए ।

समीकरण फेरबदल हुने कुरा छ नि भनेर सोधिएको प्रश्नमा उनले ‘कसले भन्यो ? मलाई थाहा छैन’ भनेर अनभिज्ञता प्रकट गरेका थिए ।

‘सत्ता गठबन्धन र सरकारबारे विपक्षी र विरोधीहरूले कम्फ्युजन सिर्जना गर्ने काम भइरहेको छ तर त्यस्तो कन्फ्युजनको कुनै अर्थ छैन । कन्फ्युजन क्रियट गर्ने कोसिस भइरहेको छ तर हाम्रोबिच कुनै कन्फ्युजन पनि छैन र त्यो गर्नुपर्ने कारण पनि छैन’, ओली र देउवाबिचको संवादलाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘कन्फ्युजन क्रियट हुनुमा सत्तापक्षकै नेताहरूको अभिव्यक्तिले पनि काम गरेको बुझाइमा समानता छ ।’

स्रोतका अनुसार गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ, अर्थमन्त्री नेतृत्वको गभर्नर सिफारिस समितिका सदस्य विजय भट्टराईले दिएको राजीनामा, शिक्षकहरूको आन्दोलन लम्बिनु र विपक्षी दलका नेता प्रचण्डले बारम्बार सरकार टिक्दैन भनेर दिएको अभिव्यक्तिले सर्वसाधारणमा आशंका उब्जिएकोमा सत्ता गठबन्धनका दुई प्रमुख नेता एकमत देखिएका छन् ।

‘सत्तारुढ दल कांग्रेसका केही नेताहरूले विपक्षीभन्दा एक कदम अघि बढेर अभिव्यक्ति दिएपछि थप आशङ्का बढ्न पुगेको, गभर्नर नियुक्तिमा भएको ढिलाइ र राजीनामा अनि शिक्षक आन्दोलनलाई सम्बोधन गर्न नसक्दा समस्या छ कि भन्ने बुझाइ हो । अब ती विषयलाई सकेसम्म चाँडो सम्बोधन गर्न दुवै नेता तयार हुनुहुन्छ’, बालुवाटार स्रोतले भन्यो ।

सत्तापक्षका साथीहरूले बोल्दा पनि ध्यान दिन जरुरी देखिएकाले सोही अनुसार पार्टीले ब्रिफिङ गर्ने कुरा भएको स्रोतले जानकारी दियो ।

यसअघि कांग्रेस महामन्त्री गगन थापा, शेखर कोइराला लगायतले सरकारको कार्यशैलीलाई लिएर प्रश्न गर्दै आएका थिए । उनीहरूले आफ्नै पार्टीको सहयोगमा बनेको सरकारको चर्को आलोचना गर्दै आएका थिए । थापा दुई दलीय सरकार सञ्चालन सहजीकरण संयन्त्रका सदस्य समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप